प्रत्येक घरमा शौचालय र धारा

हिउँले सेताम्ते हाँसिरहेको पातारासी हिमालको फेदमा स्वच्छ बस्ती, चारैतिर हरियाली, सफासुग्घर बाटो, स्वच्छ हिमालको कञ्चन हावापानी, विश्वकै उच्च स्थान धान फल्ने छुमचौरको काखमा अनि मन लोभ्याउने परम्परागत शैलीमा बनाइएका घर । चिटिक्क रातो सेतो माटोले पोतेका घर । बारीमा सागपात, खेतमा लटरम्म मकै, आलु ।
सफा धारा, ‘एक घर एक धारा’ अनि सफा तथा मैत्रीपूर्ण शौचालय । सानादेखि ठूलासम्म शौचालयकै प्रयोग गर्ने बानी । नियमित रूपमा सातामा सामूहिक सरसफाइ गर्ने देखि सार्वजनिक शौचालय निर्माण भएको गाउँ । अर्गानिक उत्पादन आलु, मकै, ढिँडो खाएका पोषिला अनुहार ।
लाग्छ नमुना मान्छे अनि बस्ती नै त्यही हो जुम्लाको । यो यथार्थ उदाहरणीय दृष्य जुम्ला पातारासी गाउँपालिका–३ चौर गाउँको हो । शिक्षाका हिसाबले निकै पछाडि मानिएका चौर गाउँवासी कुनै शिक्षित बस्ती तथा व्यक्तिभन्दा कमजोर छैनन् । खानपानदेखि सरसफाइमा अबल छन् ।
खुल्ला दिसामुक्त घोषणापछि पूर्ण सरसफाइ अभियान चलिरहँदा भेटिएको एक नमुना बस्ती चौर गाउँ हो । खुल्ला दिसामुक्त घोषणा भएको वर्षौ बितेर पूर्ण सरसफाइ अभियान चलिसक्दा पनि शौचालय नै नभएका जुम्लाकै डुंग्रीलगायत अन्य गाउँका लागि चौर गाउँ एक नमुना तथा उदाहरणीय गाउँ बनेको छ ।
पूर्ण सरसफाइ र विभिन्न सूचकहरू अन्तिम चरणमा पुगेका छन् । झण्डै २ सय बढी घरधुरी रहेको त्यस चौर गाउँमा शौचालयविहीन घर छैनन् भने, सफा अनि चिटिक्क परेका धारा पनि घरघरमा छन् ।
आफै धारा निर्माण
कुनै पनि गाउँमा समृद्धि आउन एकआपसी मेलमिलाप नै हो भन्ने सन्देश पनि चौर गाउँले दिएको छ । कसैले सिकाएका कुरालाई व्यवहारमा कार्यान्वयन गरे ढिलो चाँडो समृद्धि आउनेमा चौर गाउँ निवासी स्थानीय विश्वस्त छन् । वर्षौं पहिले रिड्स नेपाल संस्थाले चौर गाउँमा शौचालय बनाउने अवधारणा तथा विभिन्न सामग्री तथा ज्ञानमात्रैै दिएको थियो ।
स्थानीय कृष्ण बोहोराले भने, “सबै घरमा शौचालय भएपछि पानीको स्रोत नजिकै थियो । गाउँकै सामूहिक निर्णयबाट सबैले प्रत्येक घरमा धारा निर्माण गर्ने निर्णय गरेपछि आफ्नै खर्चमा धारा निर्माण ग¥यौं ।”
केही प्राविधिक तथा सैद्धान्तिक सहयोग मिले पनि आर्थिक सहयोग कसैबाट मिलेन बोहोराले थपे, सबै गाउँले सक्रिय भई धारा निर्माणदेखि गाउँमा विभिन्न सरसफाइका काम गरेको बताए । फोहर व्यवस्थापनका बारेमा पनि बेलाबेलामा गाउँमा सूचित गर्ने गरिएको छ । स्थानीय महिला गोरीकला बोहोराले भनिन्, “विभिन्न महिला सञ्जाल क्लबबाट जनचेतना फैलाएकै कारण पनि चौर गाउँ सरसफाइमा नमुना बनेको छ ।” पूर्ण सरसफाइ गाउँ घोषणाका लागि तयार छौं । चौर गाउँका स्थानीय भन्छन्, गाउँपालिकाले यस विषयमा चासो दिए केही भौतिक पूर्वाधार व्यवस्थापन गरी पूर्ण सरसफाइ गाउँ घोषणा गर्ने तयारी छ ।
स्थानीय तहद्वारा गाउँको प्रशंसा
चौर गाउँले सरसफाइ क्षेत्रमा गरेको प्रगतिको पातारासी गाउँपालिकाले प्रशंसा गरेको छ । गाउँ चिनाउन नमुना काम गर्नु स्वागत योग्य छ । गाउँपालिका अध्यक्ष लछिमन बोहोराले भने, “चौर गाउँको विकास र समृद्धिका लागि विशेष योजना बनाउँछौं ।”
यस्ता उदाहरणीय कामले पातारासी गाउँपालिकाको समृद्धिमा इँट्टा थपिने अध्यक्ष बोहोराको भनाइ छ । अब राम्रो गर्नेलाई प्रोत्साहान गर्ने संस्कारको विकास गर्छौं । उनले भने, “अझै चौर गाउँको आवश्यकता पहिचान गरी चाँडै पूर्ण सरसफाइयुक्त गाउँ घोषणा गरिने छ ।”
३ नम्बरका वडाध्यक्ष विर्खराम बोहोराले गाउँको सफलता नै एकता भएको बताए । चौर गाउँमा थोरै शिक्षित भए पनि बुभ्mने धेरै छन् । पातारासीकै समृद्ध तथा नमुना गाउँ चौरलाई बनाउने उनको योजना छ । चौर गाउँका स्थानीय पनि समृद्ध गाउँ बनाउन लागिपरेका छन् ।