विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन तयारी «

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन तयारी

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विस्तार गरिने भएको छ । विमानस्थलले दुई वर्षअघि नै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरिसकेको छ । हाल भइरहेको १५ सय मिटर लम्बाई र ३० मिटर चौडाइको विमानस्थललाई २४ सय मिटर लम्बाइ ४५ मिटर चौडाइको क्षेत्रफलमा विस्तार गर्ने प्रक्रिया अघि बढिसकेको छ ।
विमानस्थलको अवस्था बुभ्mन शनिबार विराटनगर आएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विराटनगर विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न सक्ने गरी विस्तार गर्न सरकार लागि परेको बताए । उनले अन्तर्राष्ट्रियस्तरको बनाउन जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशनसमेत दिए । पर्यटनमन्त्री अधिकारीले समयसीमा तोकेर आगामी असार १ गतेबाट मुआब्जा वितरण गर्न निर्देशन दिए । ट्याक्सी वे र पार्किङ क्षेत्र निर्माण पनि एक वर्षभित्रमा सकाउने गरी काम गर्नुपर्नेमा उनको जोड थियो । “अब यो भएन त्यो भएन भनेर बहानाबाजी नगरी परिणाम निस्कने गरी काम गर्नुपर्छ,” अधिकारीले थपे, “विमानस्थलको स्तरोन्नतिका लागि बजेटको चिन्ता लिनुपर्दैन ।”
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतमले विराटनगर विमानस्थल हाल ७८ हेक्टर क्षेत्रफलमा रहेको र १ सय ५० हेक्टरमा विस्तार गर्ने योजना रहेको बताए । अहिले विमानस्थल पूर्व ठूलाठूला घर र पश्चिमतर्फ सानो बस्ती रहेकाले त्यसको व्यवस्थापनका लागि प्राधिकरण जुटिसकेको उनले प्रस्ट्याए ।
नहर पश्चिम विमानस्थलको पूर्वदेखि साढे ४ बिघा जमिनको मुआब्जा वितरणका लागि ६९ करोड रकम छुट्याइएको छ । जसमा ३९ करोड विनियोजन भएको छ भने आवश्यक परेमा थप ४० करोड पनि विनियोजन गर्न प्राधिकरण तयार रहेको गौतमले उल्लेख गरे । अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार भएपछि बर्सनि ८ देखि ९ अर्ब पुँजी वृद्धि हुनेछ । हाल प्रदेश नम्बर १ मा १३ वटा विमानस्थल सञ्चालनमा छन् भने बाँकी २ वटा निर्माणाधीन अवस्थामा छन् । विराटनगर विमानस्थलबाट विगतमा पूर्वका सोलु, खोटाङ, ताप्जेलुङ, ओखलढुंगा, भोजपुर, संखुवासभाका ८ विमानस्थलमा सिधा उडान हुँदै आएको थियो । तर, हाल तुम्लिङटार विमानस्थलमा मात्रै उडान हुँदै आएको छ ।
अन्तरक्रियामा प्रदेश–१ सामाजिक विकासमन्त्री जीवन घिमिरे, सांसद भानुभक्त ढकाल, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायलगायतले विमानस्थलको विस्तार गरी अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्नेमा जोड दिए । विराटनगरबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सकिए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक समस्या समाधान हुने उनीहरूको धारणा थियो ।

 

प्रतिक्रिया दिनुहोस्