सडक ढाकेर सभा, कांग्रेसप्रति आक्रामक ओली «

सडक ढाकेर सभा, कांग्रेसप्रति आक्रामक ओली

बाम गठबन्धनका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी ओली नेपाली कांग्रेसप्रति आक्रामक देखिएका छन् । बाम गठबन्धनले मुख्य प्रतिस्पर्धीका रूपमा हेरेको कांग्रेसमाथि मंगलबार आयोजित आफ्नो चुनावी सभामा पनि ओली कडा रूपमा प्रस्तुत भए ।
ललितपुरको लगनखेल र काठमाडौंको नयाँ बानेश्वरमा आयोजित सभालाई ओलीले मंगलबार कांग्रेसप्रति कटाक्षपूर्ण सम्बोधन गरे । लगनखेलको सभामा ओलीले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन ‘दक्षिणपन्थी’ भएको आरोप लगाए । उनले कांग्रेसका लागि बहुमत ‘बाँदरको हातमा नरिवल’ भएको भन्दै पटक पटक बहुमत पाउँदा पनि केही गर्न नसकेको बताए । “०४८ मा बहुमत ल्यायो, ३८ ठूला उद्योग कौडीको भाउमा बेचेर खायो,” ओलीले भने, “०५६ सालमा फेरि बहुमत ल्यायो, दरबारमा लगेर प्रजातन्त्र बुझायो । जनताले बहुमत दिँदा पनि कांग्रेसले के गर्यो ?”
लगनखेलमा सम्बोधन गरेर बानेश्वर आइपुगेका ओली बानेश्वरको सभामा थप आक्रामक देखिए । उनले कांग्रेस कुनै योजनाबिना नै देश दौडाहामा लागेको आरोप लगाउँदै बाम गठबन्धनको दुई तिहाई आउने दाबी गरे । “कांग्रेस देश दौडाहामा लागेको छ । तर, न योजना छ न कार्ययोजना छ,” उनले भने, “कम्युनिष्टले जिते लोकतन्त्र समाप्त हुन्छ भन्छन् । त्यसपछि बोल्ने केही कुरा हुँदैन, जयनेपाल भनेर टुंग्याउँछन् ।”
काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका रविन्द्र मिश्रलाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ । ओलीले सभामा सिंह र मिश्र दुवैतर्फ कटाक्ष गर्दै बाम गठबन्धनका अनिल शर्माको पक्षमा मत मागे । शर्मालाई ‘कलिलो’ नभन्न सिंहलाई चेतावनी दिएका ओलीले मिश्रलाई राजनीति समाचार पढ्नुजस्तो सजिलो विषय नभएको बताए । बानेश्वरको सभामा माओवादीका नेता एवं बाम उम्मेदवार शर्माका दाइ एवं मन्त्री जनार्दन शर्मा, एमाले नेता माधवकुमार नेपालले विकास र समृद्धिका लागि बाम गठबन्धनका पक्षमा मत दिन आग्रह गरे ।

सडकमै सभा
निर्वाचन आचारसंहितामा ‘सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, सभा, ¥याली, भेला, बैठक वा प्रचारप्रसार गर्न वा गराउन नहुने’ उल्लेख छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको दफा ४(ण)मा यस्तो व्यवस्था भएपनि दलहरूले उल्लंघन गर्न थालेका छन् ।
मंगलबार काठमाडौंको बानेश्वर र ललितपुरको लगनखेलमा बाम गठबन्धनले आचारसंहिता उल्लंघन गर्दै सडक ढाकेरै सभा गरेको छ । बानेश्वरबाट पुरानो बानेश्वरतर्फ जाँदा थापागाउँतर्फ मोडिने स्थानमा स्टेज बनाएर कार्यक्रम गरिएको थियो । जसकारण चाबहिल र अनामनगर जाने सवारीसाधन चल्न सकेनन् । बाम गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका अनिल शर्मा उम्मेदवार छन् । उनले भने आफूहरूले धेरै सहभागी हुने सभाका लागि स्थान अभाव भएकाले प्रशासनको अनुमति लिएर आमसभा राखिएको बताए ।
त्यस्तै, ललितपुरमा लगनखेल बसपार्क नजिक बाम गठबन्धनले सभा आयोजना गरेको थियो । बाम गठबन्धनको बानेश्वर र लगनखेलमा आयोजित चुनावी सभाका कारण मंगलबार दिनभर सो क्षेत्रमा ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो ।

ललितपुरमा बम विष्फोट
ललितपुरको लगनखेलमा वाम गठबन्धनको चुनावी सभालाई लक्षित गरी बम विस्फोट भएको छ । प्रमुख वक्ताका रूपमा वाम गठबन्धनका नेता एमाले अध्यक्ष केपी ओली सो सभामा पुगेका थिए । विस्फोटबाट नमूना मछिन्द्र आवासीय माध्यमिक विद्यालयका झ्यालको सिसा फुटेको छ । विस्फोटपछि केहीबेर कार्यक्रम रोकिएको थियो । ओलीले बम विष्फोट गराउनेतर्फ लक्षित गर्दै सानातिना घटनाले निर्वाचन नरोकिने भन्दै निर्वाचनको विरोध गरेर विनाशको बाटोमा नलाग्न चेतावनी दिए ।

एमालेविरुद्ध उजुरी
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सन्दर्भमा नेकपा एमालेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । काठमाडौं महानगरपालिका वडा नं ३२ निवासी अमृत कार्कीले निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै अविलम्ब कारवाहीको माग गरेका छन् । उजुरीमा निर्वाचन आचार संहिता (तेस्रो संशोधन) २०७४ बमोजिम राजनीतिक दलले पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ इन्च र ७ इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सकिने उल्लेख भएकोमा मंसिर १२ गते मंगलबार राष्ट्रिय दैनिकहरूमा छापिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फोटोसहित ‘सुखी जनता, समृद्ध नेपाल,सुशासन र स्थिरताको लागि बामपन्थी सरकार’ भन्ने सन्देशसहित छापिएको विज्ञापनको आकार आचारसंहितामा उल्लेख गरिएको भन्दा ठूलो भएकोे उजुरीमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्