विपन्न समुदाय स्वास्थ्य बिमाप्रति आकर्षित «

विपन्न समुदाय स्वास्थ्य बिमाप्रति आकर्षित

नेपालगन्जः बाँकेको ग्रामीण क्षेत्रका सर्वसाधारण स्वास्थ्य बिमाप्रति आकर्षित देखिएका छन् । वार्षिक ४ सय ९० रुपैयाँको स्वास्थ्य बिमा गर्दा ४२ हजार रुपैयाँबराबरको निःशुल्क स्वास्थ्य उपचार सेवा पाउने भएपछि सर्वसाधारण स्वास्थ्य बिमााप्रति आकर्षित भएका हुन् । 

बिमाबाट हुने फाइदाका बारेमा जानकारी पाएपछि  यसअघि कहिल्यै बीमाको नाम नसुनेका गरिब र विपन्न समुदायको प्राथामिकतामा बिमा पर्न थालेको छ ।

दुई वर्षअघि स्वास्थ्य बिमा गराएकी कोहलपुर–२ की कमला सापकोटाले ४ सय ९० रुपैयाँ तिरेर स्वास्थ्य बिमा गर्दा नयाँ जीवन पाएको बताइन् । पाठेघर र ग्याष्ट्रिकको समस्याबाट पीडित उनले अहिलेसम्म बिमाकै रकमबाट पाँचपटक स्वास्थ्य उपचार गरेको जनाइन् । 

“नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा स्वास्थ्य बिमाको रकमले पाँच पटक औषधि उपचार गराँए,” उनले भनिन्, “आफ्नो पैसाले मेडिकल कलेजमा मंहगो उपचार गर्न सम्भव थिएन, विमा रकमले त्यो अवसर पाएँ ।” 

बिमाकै रकमबाट २५ हजार रुपैयाँको उपचार गर्न पाएको उनको भनाइ छ । स्वास्थ्य बिमाको महत्व बुझ्न थालेपछि परिवारका पाँचै जनाको बिमा गरेको उनले बताइन् । 

नेपालगन्ज–७ की राधा शाहले स्वास्थ्य बिमाको रकमबाट अहिलेसम्म सातपटक उपचार गराएको बताइन् । “बिमाबाट ठूलो र महँगो अस्पतालमा निःशुल्क औषधि गर्ने मौका पाएँ,” उनले भनिन्, “गरिब र विपन्न व्यक्तिलाई बिमाबाट ठूलै फाईदा मिल्दो रहेछ ।” 

टिटिहिरिया–३ की चन्द्राणी थारुले घरका ४ जना सदस्यको स्वास्थ्य बिमा गराएकी छन् । गत वर्ष १३ वर्षीय छोरा प्रवेश थारु थला पर्दा उनले भेरी अञ्चल अस्पताल नेपालगन्जमा बिमा रकमबाट उपचार गराएकी थिइन् । 

उनले छोराको उपचारमा ५० हजार रुपैयाँबराबर खर्च भएको जनाउँदै बिमा कम्पनीले तोकेको अस्पतालमा उपचार गर्दा उपचार रकम बिमाबाट पाएको बताइन् । 

जिल्लामा पाँच वर्षअघि ०६८ सालमा ४ हजार ७६ जनाले स्वास्थ्य बिमा गराएकामा त्यो संख्या अहिले ४९ हजार ८ सय ७३ पुगेको छ । यो अवधिमा १४ हजार ३ सय ४ जनाले उपचार पाएका छन् । उनीहरूको उपचारमा १ करोड १६ लाख ८३ हजार रुपैयाँ खर्च भएको छ । 

बाँके जिल्लाका १५ गाविस, कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकामा स्वास्थ्य बिमा कार्यक्रम लागू छ । १६ हजार ५ सय ६४ घरधुरी स्वास्थ्य बिमामा आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्