२६ संस्थान नाफामा «

२६ संस्थान नाफामा

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार सञ्चालनमा रहेका ३७ संस्थानमध्ये २६ वटा नाफामा छन् । ११ वटा संस्थान अझै घाटामा रहेको सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले देखाएको छ । नाफा सञ्चालित संस्थानहरूको खुद नाफा ४२ अर्ब ६८ करोड रुपैयाँ रहेको छ भने नोक्सानीमा रहेकाहरूको खुद नोक्सानी १ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २३ वटा संस्थान नाफामा थिए । उनीहरूले ३४ अर्ब ९६ करोड रुपैयाँ नाफामा थिए । सर्वेक्षणअनुसार सार्वजनिक संस्थानमा २८ हजार ४०५ जना कर्मचारी कार्यरत छन् । खुद नाफामा एक कर्मचारीको १४ लाख ५८ हजार ५४६ रुपैयाँ योगदान रहेको र ३७ मध्ये १८ वटा संस्थानको मात्र गत आर्थिक वर्षसम्मको लेखापरीक्षण भएको सर्वेक्षणमा उल्लेख छ ।
सर्वेक्षणअनुसार आव २०७३-०७४ सम्मको लेखापरीक्षण सम्पन्न गर्ने संस्थानको संख्या गत आवमा १५ बाट वृद्धि भएर १८ पुगेको छ । अधिकांश संस्थानको वित्तीय कार्यकुशलता र प्रभावकारितामा अपेक्षित सुधार आउन नसकेको र वित्तीय अनुशासनको पाटोलाई पनि उल्लेख्य रुपमा सुधार गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, आव २०७३-७४ मा सार्वजनिक संस्थानले विभिन्न शीर्षकबाट रु ५८ अर्ब ७४ करोड ४९ लाख राज्य कोषमा दाखिला गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । यसको पहिलो ठूलो अंशका रुपमा भन्सार महसुल एवं स्थानीय सडक कर तथा दस्तुरबापतको अंश ४२.५ प्रतिशत र दोस्रो ठूलो अंशको रुपमा आयकर अंश २४.२ प्रतिशत रहेको छ । यस अवधिमा सरकारको कूल राजस्व संकलनमा संस्थानको योगदान ९.७ प्रतिशत रहेको छ ।
सार्वजनिक संस्थान विभिन्न चार प्रकारका ऐनद्वारा गठन भएका छन् । विभिन्न २८ संस्थान कम्पनी ऐन, सात संस्थान संस्थानसम्बन्धी विशेष ऐन, तीन संस्थान सञ्चार ऐन र दुई संस्थान संस्थान ऐनअनुसार संस्थापना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्