‘गोरे’ पूर्पक्षका लागि जेल चलान «

‘गोरे’ पूर्पक्षका लागि जेल चलान

विराटनगर-३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरे पूर्पक्षका लागि जेल चलान भएका छन् ।
मोरङ जिल्ला अदालत विराटनगरमा आइतबार भएको थुनछेक बहसपछि गोरेलाई पूर्पक्षका लागि कारागार चलान गरिएको हो । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले तत्काल भेटिएको प्रमाणको आधारमा गोरेलाई पूर्पक्षका लागि मोरङ कारागारमा राख्ने आदेश दिएको जिल्ला अदालतका तहसिलदार एवं निमित्त श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए ।
जिल्ला अदालतमा गोरेले दिएको बयानमा सनम हत्या प्रकरणमा आफ्नो संलग्नतालाई अस्वीकार गरेका छन् । उनले सुन तस्करीमा आफ्नो भूमिकालाई सेटिङ मिलाउने काममात्र भएको दाबी गरेका छन् । भारतीय व्यापारीको रकमबाट दुबईबाट सुन तस्करी गरी ल्याइने गरेको बयान दिंदै उनले पछिल्लोपटक आएको साढे ३३ किलो सुन लुटिएपछि खोजी गर्ने क्रममा आफूले सनमसँग सोधपुछ र केरकार मात्र गरेको दाबी गरेका छन् । सनमको मृत्यु भवितव्य मात्र रहेको उनले दिएको बयानमा उल्लेख छ ।
जाहेरवालाको तर्फबाट जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठक, जिल्ला सहायक न्यायाधिवक्ता रोहित पोखरेल, अधिवक्ताहरू विनोद यादव, डम्बर मगर र नगेन्द्रबहादुर थापाले बहस गरेका थिए । गोरेका तर्फबाट भने अधिवक्ता यामबहादुर मगरले बहस गरे ।

प्रतिक्रिया दिनुहोस्