रेमिट्यान्समा प्रदेश एक अगाडी «

रेमिट्यान्समा प्रदेश एक अगाडी

प्रदेश एक वैदेशिक रोजगारीबाट सबैभन्दा बढी रेमिट्यान्स आम्दानी गर्ने प्रदेश भएको छ । देश संघीय संरचनामा गएपछि रोजगारीका लागि विदेश जाने युवाको संख्यालाई हेर्दा प्रदेश नम्बर एक अगाडि देखिएपछि रेमिट्यान्स पनि सोही प्रदेशमा बढी आउने देखिएको हो ।
समाजशास्त्री एवम् वैदेशिक रोजगारविज्ञ गणेश गुरुङ प्रदेश १ का धेरै युवा कोरिया, इजरायल तथा बु्रनाईजस्ता धेरै तलब आउने देशमा जाने गरेका कारण अन्य प्रदेशको तुलनामा धेरै रेमिट्यान्स भित्रने बताउँछन् । “प्रदेश २ को तुलनामा प्रदेश १ बाट १ प्रतिशत बढी युवामात्र विदेश गएको देखिए पनि आउने रेमिट्यान्स हिस्सा बढी हुन्छ,” उनले कारोबारसँग भने, “प्रदेश २ का धेरैजसो युवा कम तलबसुविधा भएका मुलुकमा गएका कारण पनि कम रेमिट्यान्स आउने देखिन्छ ।”
विगत ९ वर्षको तथ्यांक हेर्दा रोजगारीका लागि विदेश जाने अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी प्रदेश १ का युवा विदेश गएको देखिन्छ । वैदेशिक रोजगार विभागले हालै सार्वजनिक गरेको रोजगारीका लागि श्रम आप्रवास प्रतिवेदन २०१६÷२०१७ मा उल्लेख गरिएअनुसार प्रदेश १ बाटमात्र २५.५१ प्रतिशत युवा विदेश जाने गरेको देखिएको छ ।
प्रतिवेदनमा विगत ९ आर्थिक वर्षमा प्रदेश १ बाट २५.५१, प्रदेश २ बाट २४.१०, प्रदेश ५ बाट १६.२६, प्रदेश ३ बाट १६.०७, प्रदेश ४ बाट १३.१, प्रदेश ६ बाट ३.४१ र सबै भन्दा कम प्रदेश ७ बाट १.६४ प्रतिशत युवा रोजगारीका लागि विदेश गएको देखिन्छ । सो प्रतिवेदनमा प्रदेशअनुसार प्राप्त रेमिट्यान्स अंक उल्लेख नगरिए पनि विदेश गएका कामदारको अनुपातमा रेमिट्यान्स पनि आउने गरेको उल्लेख छ । वैदेशिक रोजगारीमा धेरै युवा विदेश जाने ८ जिल्लामध्ये ४ वटा प्रदेश १ बाट रहेका छन् । बाँकी ४ जिल्ला प्रदेश ३ का रहेको देखिन्छ ।
विगत ९ वर्षको अवधिमा १० प्रमुख कामदार स्रोत जिल्लामध्ये पनि मानव विकास सूचकांकका दृष्टिकोणले सबैभन्दा कम महोत्तरी ०.३८८ र सबै भन्दा बढी झापा ०.५१८ मा रहेका छन् । सो समीक्षा अवधिमा नेपालको औसत मानव विकास सूचकांक ०.४९० हुँदा काठमाडौं उपत्यकाको सबैभन्दा बढी ०.६२२ रहेको थियो ।
९ वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका नेपालीको संख्यालाई हेर्ने हो भने कामदारको आकर्षक रोजगार गन्तव्यको रुपमा मलेसिया र जिसिसि (गल्फ कोअपसरेसन काउन्सिल) मात्र ८६.४२ प्रतिशत कामदार रोजगारीका लागि जाने गरेको देखिएको छ । यो अवधिमा वैधानिक रूपमा ३५ लाख ५४ हजार ६८३ कामदार श्रमस्वीकृति लिएर गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्