Logo

खानेपानीको हाहाकार

डडेल्धुरा-लामो समयदेखि वर्षा नहुदा परेको खडेरीका कारण गर्मी बढेसँगै. खानेपानीका मुहान सुक्न थालेका छन् । 
पानीका मुहान सुक्न थालेपछि चुरे क्षेत्रका साथै डडेल्धुरा सदरमुकाम र दर्जनौ पहाडी गाउँका बस्तीमा खानेपानीको हाहाकार भएको छ । सदरमुकाममा नै पानीको हाहाकार भएपछि अमरगढी नगरपालिकाले प्रत्येक व्यक्तिलाई ५० लिटरका दरले दमकलमा खोलाको पानी ल्याई वितरण गरिरहेको छ । करीब एक हप्तादेखि खानेपानीको चरम अभाव भएपछि नगरपालिकाले जिल्ला सदरमुकामका बासिन्दालाई पानी वितरण गर्न थालेको छ । खानेपानी समस्या देखिएपछि नजीकका खोलाबाट पानी ल्याई वितरण गरिएको अमरगढी नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी गराए । 
फागुन–चैतदेखि नै खानेपानीका मुहान सुक्न थालेपछि जिल्लाभर पानीको समस्या देखिएको छ । परशुराम नगरपालिका–७ स्थित बड्डीमलासको खानेपानीको मुहानमा दुई दिनसम्म पानी सङ्कलन गर्दा पनि दुई गाग्रो पानी भर्न समस्या भएको स्थानीयवासीको दुखेसो छ । बड्डीमलासमा मात्र नभई जिल्लाका विभिन्न ग्रामीण बस्तीमा पनि खानेपानीको समस्या छ । मलास क्षेत्रमा रहेका पिलकोट, भूमिथला, काजीगडा, कसान, बस्न्यौटा, गौरीखान, दधिगडा, खोरिया, जामिरगडा, पुरानपानी, आइडुग्रा, सुवाखान, पल्गडी, सिमलबण्डलगायत डेढ दर्जनभन्दा बढी बस्तीमा खानेपानीको हाहाकार मच्चिएको छ । जिल्लाको पहाडी भेग अजयमेरु, वेलापुर चिपुर, देवल, भागेश्वर, रुपाल, अशिग्राम, मणिलेक, कोटेलीका गाउँमा पनि खानेपानीको हाहाकार शुरु भएको स्थानीयवासी बताउँछन् । 
परशुराम नगरपालिकाको चुरै क्षेत्रसँगै आलिताल गाविसअन्तर्गत चुरे क्षेत्रमा रहेका बस्तीमा समेत खानेपानीको सङ्कट देखिएको छ । आलितालका फल्लेखर्क, दोबाटा, कुजरयानीलगायत बस्तीमा समेत खानेपानीको सङ्कट उत्पन्न भइरहेको स्थानीय अगुवा रघुवीर धामीले बताए।
गाउँमा रहेका खानेपानीका पुराा मुहानलगायत कुवा, नौलासमेत सुक्न थालेपछि घण्टौं पैदल हिँडेर खानेपानी बोक्नुपरेको आलितालका बासिन्दा नन्दसिंह विष्टले राससलाई बताउनुभयोे । मलास क्षेत्रका झण्डै दुई सय घरपरिवारका लागि खानेपानी पुग्ने गरेको मुहानमा अहिले माघ फागुनदेखि नै पानीको मुहान सुकेपछि स्थानीय बासिन्दालाई पानीको जोहो गर्न समस्या भएको हो । लामो समय पानी नपरेपछि जमीन सञ्चित हुन नपाएको र मुहान सुकेर जान थालेपछि समस्या आउन थालेको खानेपानी डिभिजन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्