निर्माण व्यवसायीहरूको भूमिका महत्वपूर्ण: मन्त्री महासेठ «

 निर्माण व्यवसायीहरूको भूमिका महत्वपूर्ण: मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारको नीति तथा कार्यक्रमलाई सफल बनाउन निर्माण व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
शुक्रबार राजधानीमा महासंघले गरेको रमन एफक्यान एक्सिलेन्स अवार्डलाई सम्बोधन गर्दै मन्त्री महासेठले नीति तथा कार्यक्रम भौतिक पूर्वाधारको क्षेत्रमा बढी केन्द्रित रहेकाले त्यसलाई सफल पार्न निर्माण व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताएका हुन् । निर्माण व्यवसायीका समस्या आफूले राम्ररी बुझेको बताउँदै मन्त्री महासेठले सरकारसँग सहकार्य गरी अघि बढ्न व्यवसायीहरूलाई आग्रह गरे । विगतमा सरकार र व्यवसायीबाट जे–जे कमजोरी भए पनि त्यसलाई त्याग्दै राष्ट्रवादी सोचसहित सबै विकासमा होमिनुको विकल्प नभएको मन्त्री महासेठको भनाइ थियो । नेपाल बनाउने नेपालीले नै हो भन्दै मन्त्री महासेठले गुणस्तर र समयसीमालाई उच्च प्राथमिकता दिँदै काम गर्न व्यवसायीहरूलाई निर्देशन पनि दिए । निर्माण परियोजनाको कमी कमजोरीमा निर्माण व्यवसायीलाई मात्र दोष लगाउने प्रवृत्ति गलत भएको मन्त्री महासेठले बताए ।
कार्यक्रममा मन्त्री महासेठले उत्कृष्ट कार्य गर्ने विभिन्न श्रेणीका निर्माण व्यवसायीहरूलाई रमन एफक्यान एक्सिलेन्स अवार्ड पनि वितरण गरे । जसअन्तर्गत ए क्लासतर्फ हिमडुङ एण्ड थोकर कन्स्ट्रक्सनले गोल्ड अवार्ड जित्यो भने सूर्य कन्स्ट्रक्सनले सिल्भर र ए एन्ड के कन्स्ट्रक्सनले ब्रोन्ज अवार्ड हात पा¥यो ।
यस्तै, बी क्लासतर्फ आश्रय निर्माण सेवाले गोल्ड अवार्ड जित्दा शिव शक्ति कम्पनीले सिल्भर तथा केएम इन्जिनियर्स बिल्डर्सले ब्रोन्ज अवार्ड जित्यो ।
डि क्लासतर्फ उमा एण्ड कम्पनी, आरती कम्पनी र आर आर कम्पनीले क्रमशः गोल्ड, सिल्भर तथा ब्रोन्ज अवार्ड जितेका थिए । त्यस्तै क्षेत्रीय निर्माण व्यवसायी संघमा पूर्वाञ्चलले गोल्ड अवार्ड हात पारेको छ । हिमाली, पहाडी तथा तराईका उत्कृष्ट जिल्ला निर्माण व्यवसायी संघतर्फ क्रमशः जुम्ला, तनहुँ र चितवनले गोल्ड अवार्ड जितेका छन् । विदेशमा उत्कृष्ट काम गर्ने कम्पनीतर्फ कालिका कन्स्ट्रक्सनले अवार्ड जितेको छ । नेपालको निर्माण जगतमा विशिष्ट योगदान दिने वरिष्ठ निर्माण व्यवसायी राधाकृष्ण शर्मालाई ग्लोरी अवार्ड प्रदान गरियो । यसैगरी, पायनियर इन्जिनियर अवार्ड प्राध्यापक डाक्टर जीवराज पोख्रेललाई दिइयो भने उत्कृष्ट महिला निर्माण व्यवसायीको उपाधि मोहनकुमारी कालिकोटेले जितिन् । बेस्ट कन्सल्टिङ कम्पनी अफ द इयरको उपाधि मल्टि डिसिप्लिन्यारी ललितपुरले हात पारेको छ ।
कार्यक्रममा महासंघ सचिवालयकी उत्कृष्ट कर्मचारीको रूपमा पार्वती कोइरालालाई सम्मान गरिएको थियो भने निर्माण व्यवसायीका सन्ततिहरू मध्येबाट इन्जिनियरिङ विषयमा उत्कृष्ट अंक ल्याउने निकिता ओझालाई सम्मान गरियो । निर्माण व्यवसायलाई प्रवद्र्धन गर्ने गरी समाचार सम्प्रेषण गर्ने विभिन्न सञ्चार माध्यमहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
साथै संसदीय तथा प्रदेशसभा निर्वाचनमा विजयी सांसदहरूलाई समेत कार्यक्रममा सम्मान प्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले मुलुक निर्माणमा इमान्दारीपूर्वक लागेका व्यवसायीहरू माथि विभिन्न खाले आक्षेप लगाउनु गलत भएको बताए । विभिन्न समस्याका बाबजुद निर्माण व्यवसायीहरूले उत्कृष्ट काम गरिरहेको श्रेष्ठले बताए ।
यसअघि शुक्रबारै सम्पन्न महासंघको विशेष साधारणसभामा भेला भएका देशभरका निर्माण व्यवसायीहरूबीच व्यावसायिक एकता तथा समस्याका विषयमा छलफल भएको थियो । महासंघका पूर्वअध्यक्षहरूले संयुक्त रूपमा उद्घाटन गरेको साधारणसभाका क्रममा व्यवसायीहरूमाथि भइरहेको धरपकडको विरोध गरिएको थियो भने मूल्यवृद्धि तथा निर्माण सामग्रीको अभाव अन्त्य गर्न, भूकम्प तथा नाकाबन्दीका कारण पूरा हुन नसकेका योजनाको म्याद थप गर्न सहभागीहरूले जोडदार माग गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्