पाँचथरमा १६२ वटा झोलुंगे पुल «

पाँचथरमा १६२ वटा झोलुंगे पुल

जिल्लाका विभिन्न खोलामा १६२ वटा झोलुंगे पुल सञ्चालनमा आएका छन् । हालसम्म यतिको संख्यामा पुल निर्माण भएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार विभिन्न दातृ निकायको साझेदारीमा यतिको संख्यामा पुल बनेका हुन् । सडक निर्माण भए पनि स्थानीय ओहोरदोहोर गर्न यी पुल अझै महत्वपूर्ण रहेको बताइएको छ । प्राविधिक कार्यालयका इन्जिनियर प्रेम काफ्लेका अनुसार विगत दुई दशक यता पुल बनाउने काम भएका हुन् । चालू आवमा १२ वटा झोलुंगे पुल निर्माण भइरहेको उनले जानकारी दिए । ठूला, मझौला तथा सना पुल बनिरहेका छन् । आवतजावत, खेतीपाती ओसारप्रसार, घाँसदाउरा संकलनमा यस्ता पुलले सहज बनाएको उत्तरी फालेलुङ सिदिनका उपभोक्ता अविनाश राई बताउँछन् । १६२ वटामध्ये ४० वटा झोलुंगे पुल विभिन्न व्यक्ति,संघसंस्था, कादुरी, मेचीपहाडी कार्यक्रमलगायत संस्थाले निर्माण गरेका हुन् । बाँकी १२२ वटा पुल नेपाल सरकार झोलुंगे पुल क्षेत्रगत कार्यक्रमबाट निर्माण भएका हुन् । टीबीएसयू नामक विदेशी संस्थाले प्राविधिक सहयोग गर्दै आएको छ । शृजंगा ग्रामीण विकास केन्द्रले पुल निर्माणको काममा साझेदारी गरिरहेको छ । केन्द्रका इन्जिनियर रामकुमार आङदेम्बेका अनुसार चालू आवमा १२ मध्ये ७ वटाको काम सम्पन्न भइसकेको छ । बाँकी अन्तिम चरणमा पुगेका छन् । चालू आवमा झोलुंगे पुलका लागि ३ करोड बजेट आएको थियो ।

प्रतिक्रिया दिनुहोस्