लामीडाँडा विमानस्थल कालोपत्रेको काम सुस्त «

लामीडाँडा विमानस्थल कालोपत्रेको काम सुस्त

निर्माण कम्पनीको ढिलासुस्तिका कारण खोटाङको लामीडाँडा विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने काम सुस्त रहेको पाइएको छ । ०७४ माघ महिनाभित्र निर्माण पूरा गर्ने गरी सम्झौता भएको उक्त विमानस्थलको काम पुनः सुस्त रहेको पाइएको हो ।
सम्झौताको म्याद गुज्रिँदा पनि विमानस्थल कालोपत्रेको काम करिब हाल ६० प्रतिशत मात्र सकिएको छ । म्याद गुज्रेको तीन महिना बित्दा ठेकेदार कम्पनी वाइएएन–एसएपी–सूर्य कन्स्ट्रक्सन जेभीले विमानस्थलको सब–बेस राख्ने, कटिङ र फिलिङ गर्ने, ग्याभिङ वाल हाल्ने, ड्रेन बनाउनेलगायत काम मात्र पूरा गरेको छ ।
०७३ मंसिर १७ गते सम्झौता गरिएको रावाबेंसी गाउँपालिका–३ लामीडाँडास्थित विमानस्थल कालोपत्रेको जिम्मा लिएकोे उक्त कम्पनीले यही तरिकाले काम गर्ने हो भने अझै एक वर्ष लाग्ने स्थानीयवासीको भनाइ छ ।
पहिलो म्याद ०७४ माघ १६ गते गुज्रेपछि सात महिना म्याद थप गरेको निर्माण कम्पनीले आगामी तीन महिनाभित्र कालोपत्रेको काम पूरा गर्ने दाबी गरेको छ । कालोपत्रे भइसक्नुपर्ने धावनमार्गमा सब–बेस मात्र राखिएको छ । कुनै बाधा अवरोध नआए आगामी तीन महिनाभित्र विमानस्थल कालोपत्रेको काम पूरा हुने निर्माण कम्पनी सूर्य कन्स्ट्रक्सनका इन्जिनियर शम्भु चौधरीले जानकारी दिए ।
०७३ मंसिरमा सम्झौता गरे पनि ठेकेदार कम्पनीले ढिलागरी ०७४ वैशाखबाट मात्र कालोपत्रेको विभिन्न चरणका काम थालेको थियो । सञ्चालनमा आएको ४६ वर्षपछि कालोपत्रे गर्न थालिएको लामीडाँडा विमानस्थलमा कालोपत्रेकै लागि वर्ष दिनदेखि उडान अवरुद्ध बनाइएको छ ।
०२८ देखि सञ्चालनमा आएको विमानस्थल खोटाङका तीनवटा विमानस्थलमध्ये सबैभन्दा पुरानो विमानस्थल हो ।
नेपाल नागरिक उडड्यन प्राधिकरणको ६ करोड ७६ लाख ९३ हजार लगानीमा विमानस्थल कालोपत्रेका लागि अपग्रेडको काम थालेको थियो । कुल ५ सय ८० मिटर लम्बाइको विमानस्थलको धावनमार्गमा ५ सय २० मिटर लम्बाइ र २० मिटर चौडाइमा कालोपत्रे गर्ने सम्झौतामा उल्लेख छ ।
इन्जिनियर चौधरीका अनुसार विमानस्थलको धावनमार्गमा केही समयपछि बेस ओछ्याउने र कालोपत्रे गर्ने तयारी गरिएको छ । गाउँपालिकाले दूधकोसीको गिटी–ढुंगा निकाल्न रोक लगाएको र प्रक्रिया पूरा गरेर निकाल्दा विमानस्थलको काममा ढिलाइ भएको चौधरीले बताए ।
लामीडाँडा विमानस्थल खोटाङबाहेक त्रि–धार्मिकस्थल हलेसी आउने–जाने दर्शनार्थी तथा पर्यटकले उपयोग गर्ने गरेका छन् । रूपाकोट मझुवागढी नगरपालिकामा निर्माण गरिएको खानीडाँडा विमानस्थल सञ्चालनमा आउनुअघि व्यस्त रहने लामीडाँडामा हाल यात्रुको चाप घटेको छ ।
लामीडाँडा विमानस्थल कालोपत्रे भएपछि लामीडाँडा गाउँपालिका, ऐसेलुखर्क गाउँपालिकाका तथा छिमेकी जिल्ला ओखलढुंगाका स्थानीय समेत लाभान्वित हुने छन् । जिल्लामा तीन विमानस्थलमध्य सदरमुकामबाट सवैभन्दा नजिक रहेको खानीडाँडा विमानस्थल कालोपत्रे भएको छ । दक्षिणी क्षेत्रस्थित खोटेहाङ गाउँपालिकास्थित बडकादियालेमा रहेको थामखर्क विमानस्थल पनि कालोपत्रेको काम धमाधम भइरहेको छ ।
उत्तम चौलागाईं

प्रतिक्रिया दिनुहोस्