कफीको तेलबाट चल्ने बस

कफीको कच्चा पदार्थबाट निकालिएको तेलबाट बस चल्छ भन्दा अचम्म लाग्न सक्छ । तर कफीको कच्चा पदार्थबाट उत्पादन गरिएको तेलबाट सफलतापूर्वक बस गुडाइएको छ । बेलायतको लण्डनमा कफीको तेलबाट सार्वजनिक बस गुडाउन थालिएको हो । कफी पसल, सुपरमार्केट तथा कफी उद्योगहरूमा खेर जाने कफीको फोहोरलाई प्रशोधन गरी निकालिएको तेललाई जैविक इन्धनको रूपमा गाडीमा प्रयोग गरिएको हो ।
अहिले यो प्रारम्भिक परीक्षणको चरणमा रहेको छ । लण्डनस्थित टेक्नोलोजी फर्म बायो बिन लिमिटेडका अनुसार एक वर्षमा एउटा बसलाई उर्जा प्रदान गर्नका लागि पर्याप्त मात्रामा कफीको तेल उत्पादन गरिएको छ । ट्रान्सपोर्ट फर लण्डन (टिएफएल) सार्वजनिक सवारी साधनबाट हुने उत्सर्जन घटाउनका लागि जैविक इन्धनको बढीभन्दा बढी प्रयोग गर्ने दिशातर्फ अघि बढिरहेको जनाएको छ । सवारीसाधनमा प्रयोग हुने इन्धनबाट ज्यादै वायू प्रदूषण भएको भन्दै संसारभर वैकल्पिक उर्जाको खोजी भइरहेको छ । विद्युतीय सवारीका साथै अन्य सवारी चलाउन सकिने उर्जाको अनुसन्धान भइरहेको छ ।
बेलायतको बायो बिनका अनुसार लण्डनबासीले एक वर्षमा २ लाख टन कफीको फोहोर निकाल्छन् । कम्पनीले कफी पसल तथा कफी उद्योगहरूबाट कफीको फोहोर जम्मा गरी आफ्नो कारखानामा पु¥याएर यसबाट तेल निकाल्छ । त्यसपछि त्यसलाई डिजेलमा मिसाएर बी ट्वान्टी जैविक इन्धनमा परिणत गरिन्छ । आफूहरूले फोहोरलाई स्रोतका रूपमा प्रयोग गर्न सकिने गतिलो उदाहरण प्रस्तुत गरेको दाबी बायो बिनले गरेको छ ।