कांग्रेस संघीय संरचनामा गएन :गुरुङ «

कांग्रेस संघीय संरचनामा गएन :गुरुङ

नेपाली कांग्रेसका नेता धनराज गुरुङले मुलुक संघीय संरचनामा गए पनि आफ्नै पार्टी नेपाली कांग्रेस अझै पुरानै संरचनाअनुसार चलेकोमा दुखेसोे पोखेका छन् । उनले तत्काल पार्टीको विधान संशोधन गरी संघीय संरचनामा रुपान्तरण गर्नुपर्ने बताए ।
कांग्रेस केन्द्रीय सदस्य गुरुङले सरकारले गर्ने राम्रो काममा सहयोग गर्दै कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उल्लेख गरे । बिहीबार नेपाल प्रेस युनियनले विजुवारमा गरेको पत्रकार सम्मेलनमा नेता गुरुङले प्रधानमन्त्री ओली नेतृत्वको सरकार भारतसँग लम्पसार परेको आरोप लगाए । उनले नेपालको राजनीति बदल्न नेताहरु बदलिनु पर्ने धारणा राखे । “राजनीति रुपान्तरण गर्न राजनीतिक नेतृत्व रुपान्तरण हुनुपपर्छ,” उनले भने । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको पार्टी एकता सत्ता सञ्चालनको जोड घटाउ भएको उनको आरोप छ । हालै भएको पार्टी एकीकरणले मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउने नेकपाका नेताहरुको भनाइप्रति टिप्पणी गर्दै उनले सत्ता स्वार्थको खेल भएको जीकिर गरे ।
नेपाली राजनीतिमा नैतिकता, सुशासन हराएको बताउँदै उनले राज्यसत्ता परिवर्तन भए पनि नेताहरु परिवर्तन नभएको टिप्पणी गरेका छन् । नेताहरुको स्वार्थी बन्दा जनताले सुशासनको अनुभूति गर्न नपाएको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्