सुन्दर चित्रबाट मनग्ये कमाई «

सुन्दर चित्रबाट मनग्ये कमाई

हुम्लामा काठको सामग्रीमा पेन्टिङ तालिम गर्दै सहभागीले मनग्ये आम्दानी गर्न थालेका छन् । एक टेबल, झ्याल र ढोकामा विभिन्न चित्र बनाउने तालिमको आधारभूत तालिम पछि यस्तो आम्दानी गर्न थालेका हुन् । सामुदायिक विकास कार्यक्रम हुम्लाले २५ दिनसम्म तालिम दिएपछि हाल हुम्लाका ११ जना युवाले यस्तो सीपमूलक तालिमप्राप्त गरी आम्दानी गर्न थालेका हुन् ।
हुम्लामा काठको सामग्रीमा सुन्दर चित्र बनाएर घरमा सजाउने चलनको मागलाई ध्यानमा राखी यस्तो तालिम दिइएको हो । लामा समुदायको भान्साकोठामा २ देखि ५ सम्म साना टेबुलमा यस्ता सुन्दर चित्र कुँदिएको टेबलमा भोजन गर्ने चलन छ । घरको शोभा बढाउने र घरको सम्पन्नता देखाउने यस्ता खालका बुट्टाको स्थिति र आकार अनुसारको पेन्टिङको मूल्य निर्धारण हुने गरेको छ । स्थानीय स्तरमा १६ इन्च लम्बाइ र ११ इन्च चौडाइ भएको काठमा चित्र बनाउँदा २ हजार ५ सयदेखि ३ हजार ५ सय रुपैयाँसम्म कमाई हुने, चित्र बनाउनका लागि एकै दिनमा बनाउन सकिने हुनाले १ दिनमा औसतमा ३ हजारदेखि माथि नै कमाई हुने गरेको प्रशिक्षक पेमाताम्छु लामाले बताए । घरमा सजाउनका लागि प्रतिस्पर्धा नै गरी यस्ता खालका सामानलाई सजाउने होडबाजी नै हुने गरेको छ ।
जिल्लामा रहेका गुम्बाका झ्याल, ढोका र दिवारमा सुन्दर आकृति बनाएर हरेक वर्ष १० देखि १५ लाख रुपैयाँसम्म कमाई हुने गरेको यस्तो चित्र चीनको तिब्बत क्षेत्रबाट बढी प्रभावित हुने गरेको छ । चित्र बनाउनका लागि पहिले–पहिले भारतका विभिन्न सहरमा बौद्ध गुम्बामा गई सिक्नुपरेको भए तापनि हाल हुम्लामा नै यस्तो खालको तालिम लिन पाउँदा सहज भएको र आयआर्जनमा टेवा पु¥याएको प्रशिक्षक अंदुई लामाले बताए । आफूले यो कलासिक्नका लागि २ वर्ष भारतमा गएर सिकेको भए तापनि हाल स्थानीय संघ–संस्थाले हुम्लामा नै प्रशिक्षण दिँदा तालिमको प्रभावकारिता भएको लामाले बताए । जिल्लाका सिमिकोट र नाम्खा गाउँपालिकाबाट प्रशिक्षार्थी सहभागी भएका थिए ।
तालिमबाट सिकेको सीपलाई जीवन उपयोगी र आयआर्जनमा सहयोग होस् भन्ने हेतुले यस्ता खालका तालिम समय सापेक्ष हुने र भूगोल र मागअनुसारको तालिम दिँदा उपयोगी हुने सामुदायिक विकास कार्यक्रम हुम्लाका संयोजक राजबहादुर रोकायाले भने । तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै जिल्ला समन्वय समितिका संयोजक दानबहादुर रावतले तालिमलाई व्यावसायिक बनाउन सकिएमा तालिमको औचित्यताहुने बताए ।
त्यसैगरी अदानचुली, चंखेली, खार्पुनाथ, सिमिकोट र नाम्खा गाउँपालिकाका महिलालाई स्वीटर बुन्नको लागि समेत तालिम प्रदान गरिएको छ । महिलाले घरमा आफूलाई चाहिने सामान खरिद गर्न र गर्जो टार्नका लागि सहजहोस् भन्नका लागि तालिम दिइएको हो । जम्मा २० जना सहभागीलाई दिइएको तालिम माप्रति स्वीटर २ हजारदेखि ३ हजार ५ सयको दरमा बिक्री गरी महिलाले आम्दानी गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । घरमा चाहिने नुन, तेलको समस्या स्वीटर, टोपी, मोजा बुनेर निकाल्न सकिनेमा तालिमका सहभागी ज्योति भण्डारीले बताए । घरकोे समस्यालाई पुरुषले मात्रै होइन महिलाले सहयोग गर्ने यस्तो तालिम लिन पाएकोमा जसकला बोहरा मख्खै देखिइन् ।

 

प्रतिक्रिया दिनुहोस्