सञ्चालनमा रहेका वस्तु बजार गैरकानुनी «

सञ्चालनमा रहेका वस्तु बजार गैरकानुनी

नेपाल धितोपत्र बोर्डले वस्तु बजार नियमावली लागू गरेको छ । नियमावली लागू भएपछि सञ्चालनमा रहेका वस्तु बजारले नयाँ अनुमति लिएर मात्र काम गर्न पाउने भएका छन् ।
वस्तु बजार ऐन तथा नियमावलीले सञ्चालनमा रहेका वस्तु बजारलाई सम्बोधन नगर्ने बोर्डका निर्देशक मुक्ति श्रेष्ठले बताए । “सञ्चालनमा रहेका एक्सेचन्जले गत ८ गतेसम्म गरेको कारोबार पूरा गर्न भने पाउँछन्,” उनले भने, “अब नयाँ करार गर्न भने पाउँदैनन् ।” वस्तु बजार तथा नियमावलीअनुसार नयाँ अनुमति लिएर मात्रै काम गर्न पाउने उनले बताए ।
सरकारले वस्तु विनिमयबजारको विकास तथा सञ्चालन, लगानीकर्ताको हितसंरक्षण, वस्तुको कारोबार, राफसाफ तथा फछ्र्योट र वेयर हाउस सञ्चालनसम्बन्धी व्यवसायलाई नियमन गर्न वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ भदौ ११ गतेदेखि लागू गरेको थियो । ऐन प्रमाणीकरण भएको ९१ औं दिन अर्थात् मंसिर ९ गते सरकारको स्वीकृतिमा वोर्डले वस्तु विनिमय बजारसम्बन्धी नियमावली, २०७४ लागू गरेको हो ।
वस्तु विनिमयबजार सञ्चालन गर्न कम्पनी संस्थापना गर्नुअघि सम्भाव्यता अध्ययन प्रतिवेदन, लगानीको स्रोत, सेयर स्वामित्वसम्बन्धी विवरण तथा वस्तुको विद्युतीय कारोबार प्रणालीको सुरक्षा व्यवस्थालगायतका विवरणसहित बोर्डबाट पूर्व स्वीकृतिका लागि निवेदन पेश गर्नुपर्ने व्यवस्था नियमावलीमा छ । कम्पनीले अनुमति पाएको १ सय ८० दिनभित्र न्यूनतम पूर्वाधार तयार गर्नुपर्ने व्यवस्था छ । बोर्डबाट अनुमतिपत्र लिएर मात्र वस्तु विनिमय बजारसम्बन्धी काम गर्न पाइने व्यवस्था गरेको नियमावलीमा वस्तु विनिमयबजार सञ्चालन गर्ने संगठित संस्थाको चुक्ता पुँजी ५० करोड, वेयर हाउसको १५ करोड, राफसाफ तथा फछ्र्योट व्यवसायको ७ करोड, लगानी व्यवस्थापकको ५ करोड, लगानी परामर्शदाताको १ करोड तथ वस्तु कारोबार दलालको ५० लाख रूपैयाँ हुनुपर्ने व्यवस्था छ ।
विनियमावलीअनुसार कसैले पनि वस्तु विनिमय बजारको कुल सेयर पुँजीको ५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व ग्रहण गर्न पाइनेछैन । वस्तु विनिमयबजारको अनुमति लिएको तीन वर्षसम्म सेयर बिक्री गर्न नपाईने र त्यसपछि सेयर स्वामित्व लिएको व्यक्तिले सेयर हस्तान्तरण गर्न चाहेमा बोर्डको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
नियमावलीअनुसार वस्तु बजारमा कारोबार गर्न सकिनेमध्ये कपास, अलैंची, जिरा, खुर्सानी, मरिच, काजू, सुपारी, दलहन, मकै, गहुँ, धान, आलु, मेथी, तोरी, भटमास, आलस, फापर, उखु, सूर्ति, जुट, अदुवा, बेसार, फलफूल तथा सोबाट निर्मित जुस रहेका छन् । त्यसैगरी धातुजन्य वस्तुहरू आल्मुनियम, तामा, सिसा, टिन, पित्तल, फलाम, स्टिल, जिंकको पनि कारोबार गर्न सकिनेछ । बहुमूल्य धातु सुन, चाँदी, प्लाटिनमको कारोबार हुने बोर्डले जनाएको छ । खनिज तेलजन्य वस्तुअन्तर्गत कच्चा तेल, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, हिटिङ आयल रहेका छन् । नरिवलको तेल, पाम तेल, तोरीको तेल, भटमासको तेल, सूर्यमुखी तेल, आलसको तेल तथा अन्यअन्तर्गत चिनी, सखर, चिया, कफी, अन्डा, जडीबुटीको कारोबार गर्न सकिने व्यवस्था नियमावलीमा छ । कारोबारपूर्व वस्तु करार तयार गरी बोर्डमा दर्ता गर्नुपर्ने तथा वस्तु विनिमय बजारले कारोबार सुरु गरेको वा स्थगन गरेको जानकारी लगानीकर्तालाई दिनुपर्ने व्यवस्था नियमावलीमा छ ।

प्रतिक्रिया दिनुहोस्