हराउँदै रोपाइँको संस्कृति «

हराउँदै रोपाइँको संस्कृति

जेठ महिना सुरु भएसँगै अछामका बेसीक्षेत्रका फाँटमा रोपाइँ गर्ने क्रम सुरु भएको छ । चाँडो रोपाइँ हुने अछामका कैलाश किनार, बुढीगंगा किनार, चाइराखोलाको किनारका उर्बर फाँटमा रोपाइँ सुरु भएको हो ।
रोपाइँ सुरु भएसँगै किसानलाई कामको चटारो पनि बढेको छ । रोपाइँ सुरु भएसँगै रोपाइँ गीत र प्रदर्शन गरिने सांस्कृतिक झलकको चर्चा हुने गरेको भए पनि अछाममा पछिल्लो समय रोपाइँ गीत र रोपाइँमा झल्किने संस्कृति लोप हुन थालेको छ ।
विगतका वर्षमा खेतमा पञ्चेबाजासहितको नाच, भुरेली नाच र रोपाहारहरूका लोक संस्कृति झल्किने पहिरन तथा रोपाइँ गीतहरू अहिले करिब हराइसकेका छन् ।
रामारोशन गाउँपालिकाको कैलाश किनारका फाँटमा पनि धमाधम रोपाई भइरहेको स्थानीय चन्द्र भण्डारीले बताए । विगतका दिनमा रोपाइँ गर्दा देखिने सांस्कृतिक कार्यहरू अछामका सबैजसो ठाउँमा हराउँदै गइरहेको उनको भनाइ छ । केही वर्षअघि रोपाइँ गर्दा खेतमा देखाइने भुरेली नाच, रोपाइँ गीतलगायतका अन्य कला संस्कृति लोप हुँदै गइरहेको सुतारका स्थानीय नृप विकले बताए ।
बदलिँदो परिस्थिति र बढ्दो आधुनिकताका कारण रोपाइँमा देखाइने पुराना संस्कार र संस्कृति लोप भइरहेकोमा सरोकारवालाहरूले भने चिन्ता व्यक्त गरेका छन् ।
-होम साउद

प्रतिक्रिया दिनुहोस्