Logo

पनौती जलविद्युत् अब अनुसन्धान केन्द्र

जीर्ण अवस्थामा पुगेको काभ्रेको पनौतीस्थित खोपासीमा रहेको नेपालकै तेस्रो जलविद्युत् आयोजना अब अनुसन्धान केन्द्र बनेको छ । पुराना उपकरण तथा उचित मर्मतसम्भार गर्न नसक्दा जीर्ण अवस्थामा पुगेको फर्पिङ र सुन्दरीजलपछिको तेस्रो २.४ मेगावाटको पनौती जलविद्युत् केन्द्रलाई अनुसन्धान केन्द्र बनेको हो ।
२०१७ सालदेखि निर्माण सुरु भएर २०२२ सालदेखि सञ्चालनमा आएको केन्द्र तत्कालीन सोभियत संघको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको हो भने २०२२ सालमा स्व. राजा महेन्द्रले उक्त आयोजनाको उद्घाटन गरेका थिए । नेपाल विद्युत् प्राधिकरणले निर्माण र सञ्चालन गर्दै आएको सो केन्द्रलाई अनुसन्धान केन्द्रको रूपमा प्रयोग तथा विकास गर्ने गरी काठमाडौं विश्वविद्यालयसँग समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएर बिहीबारदेखि कार्यान्वयनमा आएको छ ।
धुलिखेलमा बिहीबार आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. रामकण्ठ मकाजू श्रेष्ठले एमओयूमा हस्ताक्षर गरे । विद्युत् गृहको सञ्चालन भने प्राधिकरणले नै गर्ने छ । बेलाबेलामा उत्पादन समेत बन्द भएर जलविद्युत्को एउटा इतिहास अन्त्य हुने चिन्ता भइरहेको बेला अनुसन्धान केन्द्र र यसको मर्मतसम्भारसहित संरक्षणको समझदारीले स्थानीयवासीसमेत खुसी भएका छन् ।
१० वर्षसम्म कायम रहने समझदारीअनुसार प्राधिकरणलाई वित्तीय भार नपर्ने गरी विद्युत्गृहको सदृढीकरण, नयाँ संरचना निर्माण लगायतका सम्पूर्ण काम विश्वविद्यालयले गर्ने छ । विद्युत्गृहबाट अहिले उत्पादन भइरहेको ऊर्जा नघट्ने गरी विश्वविद्यालयले त्यस्ता संरचनाको प्रयोग गर्ने समझदारीमा उल्लेख छ । हाल जलविद्युत् केन्द्रमा रहेका अधिकांश उपकरणहरू ५० बर्षभन्दा बढी पुराना छन् भने उत्पादन पनि ८ सय किलोवाटभन्दा कम हुँदै आएको छ ।
विश्वविद्यालयले सिभिल, मेकानिकल, इलेक्ट्रिकल, वातावरण, जलविद्युत्लगायतका इन्जिनियरिङ विषयमा स्नातक, स्नातकोत्तर, विद्यावारिधि अध्ययन गरिरहेका विद्यार्थीहरूलाई जलविद्युत् केन्द्रमै कक्षाहरू निर्माण गरेर अनुसन्धान अघि बढाउने विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङका डीन डा. डम्बरबहादुर नेपालीले जानकारी दिए । “पनौती जलविद्युत् केन्द्रको संरचना र जग्गामा आवश्यकताअनुसार थप संरचनाहरू बनाएर जेनेरेट र टर्वाइन परीक्षण, विभिन्न प्रर्दशन, वातावरण पक्षको अध्ययन, संरचनाहरूको पुर्ननिर्माण लगायतका व्यवहारिक कक्षाहरू सञ्चालन गर्ने गरी अनुसन्धान केन्द्रको रूपमा विकसित गर्ने समझदारी भएको छ,” उनले भने, “जलविद्युत् उत्पादनको काम प्राधिकरणले गर्छ भने अनुसन्धानका काम विश्वविद्यालयका विद्यार्थीहरू लगेर गर्छौ ।”
प्राधिकरण र विश्वविद्यालयले ज्ञान तथा सीप साटासाट गर्न संयुक्तरुमा तालिम, सम्मेलन, कार्यशाला, शैक्षिक लगायतका कार्यक्रम सञ्चालनबाट नाफा प्राप्त भएमा त्यसको १० प्रतिशत प्राधिकरणले पाउने व्यवस्था गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विश्वविद्यालयले आफ्नै खर्चमा विद्युत् गृहको क्षमता स्तरोन्नति गर्ने, अहिले त्यहाँ रहेका संरचनाको सुदृढीकरण तथा नयाँ बनाउने लगायतका काम गर्ने जानकारी दिए । “यसबाट प्राधिकरणको सम्पत्तिको संरक्षण र सदुपयोग समेत हुनेछ, सुक्खायामको ऊर्जा बढाउन विद्युत् गृहभन्दा तल रहेको सोलान्दुलगायतका खोलाखोल्सीको पानी पम्प गर्ने लगायतका सम्भावना विश्वविद्यालयले आफ्नै खर्चमा खोजी गरी आवश्यक संरचना निर्माण गर्ने छ,” उनले भने । प्राधिकरणलाई आतिरिक्त वित्तीय दायित्व सिर्जना नहुने गरी विश्वविद्यालयले विद्युत् गृहलाई जलविद्युत्, वायु र सौर्य ऊर्जाको हाइब्रिड हबकोरूपमा विकास गर्नेछ ।
विश्वविद्यालयका उपकुलपति श्रेष्ठले विद्युत्गृहलाई विश्वविद्यालयले ज्ञान र सीप आर्जन गर्ने थलोको रूपमा विकास गर्ने बताए । “विद्युत्गृहलाई सुधार गर्न गर्नु पर्ने काम धेरै छन्, दुई वर्षभित्रै सबै काम सकी विद्युत्गृहलाई सिकाईका लागि उत्कृष्ट थलोको रूपमा विकास गर्ने छौं,” उनले भने, “विद्युत् गृहलाई इन्जिनियरिङ अध्ययनका लागि शैक्षिक ग्राम बनाउने छौं ।” प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विद्युत् सेवा प्रदायक र विश्वविद्यालयबीच विद्युत् गृह शैक्षिक प्रयोजनका लागि प्रयोग गर्ने गरी एमओयू हुनु सुनौलो अवसर भएको बताए । विश्वविद्यालयका उपकुलपति श्रेष्ठले विद्युत्गृहलाई विश्वविद्यालयले ज्ञान र सीप आर्जन गर्ने थलोको रूपमा विकास गर्ने बताए । “विद्युत्गृहलाई सुधार गर्न गर्नु पर्ने काम धेरै छन्, दुई वर्षभित्रै सबै काम सकी विद्युत्गृहलाई सिकाईका लागि उत्कृष्ट थलोको रूपमा विकास गर्ने छौं,” उनले भने, “विद्युत् गृहलाई इन्जिनियरिङ अध्ययनका लागि शैक्षिक ग्राम बनाउने छौं ।” प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विद्युत् सेवा प्रदायक र विश्वविद्यालयबीच विद्युत् गृह शैक्षिक प्रयोजनका लागि प्रयोग गर्ने गरी एमओयू हुनु सुनौलो अवसर भएको बताए । प्राधिकरणले फर्पिङ, सुन्दरीजल जस्ता ऐतिहासिक विद्युत्गृह विश्वविद्यालयलाई शैक्षिक प्रयोजनका लागि प्रयोग गर्न दिने तयारी गरेको छ । नेपालको पहिलो विद्युत् गृह फर्पिङलाई त्रिभुवन विश्वविद्यालयलाई दिने तयारी भइरहेको प्राधिकरणले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्