वर्ष दिनमा १ हजार विद्यार्थी गायब «

वर्ष दिनमा १ हजार विद्यार्थी गायब

जिल्लामा एक शैक्षिक सत्रको अवधिमा एक हजार बढी बालबालिकाले बीचमा नै विद्यालय छोडेका छन् ।
भर्खरै सकिएको शैक्षिक सत्रमा जिल्लामा १ हजार १ बालबालिकाले बीचमा नै विद्यालय छाडेको शिक्षा विकास तथा समन्यव इकाई कार्यालयले जनाएको छ । शिक्षा विकास तथा समन्यव इकाइका प्रमुख रमेशप्रसाद मैनालीका अनुसार गएको शैक्षिक सत्रमा जिल्लामा १ हजार १ जना बालबालिकाले विभिन्न कारणले विद्यालय छाडेका हुन् । बालबालिकाहरूले बीचमा नै विद्यालय नछाडुन् भनेर विद्यार्थीलाई खाजा कार्यक्रम तथा अन्य क्रियाकलापसमेत गराइँदै आएको छ । तर पनि बीचमा नै विद्यालय छाडने बालबालिकाको संख्यामा कमी आउन सकेको छैन । यो संख्या विद्यालयमा भर्ना भएर विभिन्न कारणले गर्दा पूरा शैक्षिक सत्रसम्म विद्यालय नरहेकाको संख्या हो । अहिले पनि जिल्लामा बीचमै विद्यालय छोडने बालबालिका रोक्न सकिएको छैन । यो चुनौतीको रूपमा रहेको शिक्षा विकास तथा समन्यव इकाइका प्रमुख मैनालीले बताए । उनका अनुसार जिल्लामा भर्खरै सकिएको शैक्षिक सत्रमा आधारभूत तह (१—५) मा ५.२ प्रतिशत विद्यार्थीले कक्षा छाडने गरेका छन् । त्यसैगरी (६—८) मा ५ प्रतिशतले कक्षा छोडने गरेका छन् । माध्यमिक तह ९ मा भने ४.६ प्रतिशतले कक्षा छोडने गरेका छन् ।
कक्षा गत रूपमा कक्षा १ मा ७.१ प्रतिशतले पढाइ छाडने गरेका छन् भने १३.२ प्रतिशतले कक्षा दोहोराउने गरेका छन् । कक्षा २ मा ५.३ प्रतिशतले कक्षा छाडने र ९ प्रतिशतले कक्षा दोहोराउने गरेका छन् । कक्षा ३ मा ५.३ प्रतिशतले कक्षा छाडने र ७.२ प्रतिशतले दोहोराउने गरेका छन् । कक्षा ५ मा ४.२ प्रतिशतले कक्षा छोडने र ५.३ प्रतिशतले दोहोराउने गरेका छन् । त्यसैगरी कक्षा ६ मा ४.५ प्रतिशतले छोडने र ४.१ प्रतिशतले दोहोराउने गरेका छन् । कक्षा ७ मा ५.५ प्रतिशतले कक्षा छाडने र ४.६ प्रतिशतले दोहोराउने गरेका छन् । कक्षा ८ मा ५.१ प्रतिशतले कक्षा छोडने र ९.९ प्रतिशतले दोहोराउने गरेका छन भने कक्षा ९ मा ४.६ प्रतिशतले कक्षा छोडने र ३.२ प्रतिशतले दोहोराउने गरेका छन् ।
बालबालिकाहरूले विद्यालय छाडनुको कारण गरिबी, चेतनामा कमी, विद्यालय बालमैत्री नहुनु जस्ता कारण रहेको शिक्षा विकास तथा समन्यव इकाइका प्रमुख मैनालीले बताए । गरिबीको कारण आमा बाबु कामको खोजिमा बाहिर जाँदा आफ्ना बालबालिकालाई पनि सँगै लिएर जाँदा उनीहरूले बीचमै पढाइ खोडने गरेका छन् । त्यसैगरी पैसा अभावकै कारणले पनि कतिपय विद्यार्थीले पढाइ छाडने गरेको शिक्षा विकास तथा समन्यव इकाइका प्रमुख मैनालीले बताए । “विद्यालयहरूमा निःशुल्क शिक्षा हालसम्म पनि लागू हुन सकेको छैन जसले गर्दा बालबालिकाले पढाइ छाडने गरेका छन्” प्रमुख मैनालीले भने । त्यसैगरी सबै विद्यालयमा बालमैत्री शिक्षण सिकाइ क्रियाकलाप नहुँदा पनि साना बालबालिका विद्यालय जान मन नगर्ने गरेको उनको भनाइ छ ।
अमरराज आचार्य

४२ सामुदायिक विद्यालय अंगे्रजी माध्यममा पढाइ
हरिश चन्द
गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधि आएपछि यहाँका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ । स्थानीय सरकारले गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने निर्णय गरेसँगै जिल्लामा रहेका २४८ सामुदायिक विद्यालयमध्ये यस शैक्षिक सत्रमा ४२ वटा विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउन सुरु गरिएको हो । यो शैक्षिक सत्रबाट नै अजयमेरु गाउँपालिकामा रहेका ३२ वटा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सुरु भएको छ भने भागेश्वर गाउँपालिकामा रहेका ३० मध्ये नमुनाका रूपमा आठ विद्यालयका साथै परशुराम नगरपालिकाका ६४ विद्यालयमध्ये दुई वटामा अंग्रेजी भाषामा पढाइ भइरहेको जिल्ला शिक्षा अधिकारी वसन्तकुमार खत्रीले बताए । गाउँपालिकामा निजी विद्यालयले अंग्रेजी माध्यमबाट पढाउन थालेपछि बालबालिकालाई अभिभावकले सामुदायिक विद्यालयमा भर्ना गर्न छाडेका थिए । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्न थालेपछि स्थानीय सरकारले त्यहाँ अंगे्रजी माध्यमबाट पढाउन सुरु गरेको अजयमेरु गाउँपालिकाका शिक्षा संयोजक तथा वडा नं २ का वडाध्यक्ष शिवराज भट्टले जानकारी दिए । अजयमेरुका सबै विद्यालयका शिक्षकलाई अंगे्रजी माध्यमबाट पढाउनका लागि तालिमको व्यवस्था गरिएको र कमजोर रहेको विद्यालयमा शिक्षकको व्यवस्था गर्ने गरी अंग्रेजी माध्यमबाट पढाइ सुरु गरिएको गाउँपालिका अध्यक्ष उमेश भट्टले बताए ।
पछिल्लो समयमा सरकारी तथा सामुदायिक विद्यालयमा पढाइको गुणस्तरमा सुधार ल्याउनका लागि स्थानीय सरकारले प्रयास गरेको छ । विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ, शिक्षकलाई तालिम, इलोक्ट्रोनिक्स हाजिरी, नियमित अनुगमनजस्ता कार्यले पढाइको स्तर उकास्ने प्रयास भइरहेको भागेश्वर गाउँपालिका अध्यक्ष कौशिलाकुमारी भट्टले जानकारी दिइन् । उक्त गाउँपालिकाको बैठकले शिक्षामा सुधार ल्याउन र यो शैक्षिक सत्रमा नमुनाका लागि आठवटा विद्यालयलाई छनोट गरी हरेक विद्यालयलाई एक लाखसम्मको आर्थिक सहयोगसमेत उपलब्ध गराएको छ । सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सुरु भएपछि बालबालिकाको संख्यामा वृद्धि भएको सम्बद्ध विद्यालयका शिक्षकको भनाइ छ । अभिभावकले निजी विद्यालयबाट सामुदायिक विद्यालयमा भर्ना गराउन थालेकाले निजी विद्यालयका बालबालिकाको संख्या घटिरहेको भागेश्वर–४ बगरकोटका बासिन्दाले बताए । शिक्षकले मिहिनेत र अनुशासित भई बालबालिकालाई पढाउने हो भने पहिलो शैक्षिक सत्रमा नै राम्रो सुधार आउने अभिभावकको भनाइ छ । अंग्रेजी माध्यमबाट पढाइ सुरु गरिएका विद्यालयमा केही पुराना शिक्षक भए पनि उनीहरूको अनुभव र क्षमताले बालबालिकामा सुधार आउने र निजी विद्यालयको गुणस्तर सामुदायिक विद्यालयबाट नै पाउने निर्वाचित जनप्रतिनिधि बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्