खारामा अस्पताल निर्माण

तत्कालीन समयमा विद्रोही माओवादी र राज्य पक्षको दोहोरो भिडन्तको चपेटामा परेर पीडा बेहोरेको खारागाउँमा नेपाली सेनाले अस्पताल बनाएको छ । युद्धकै कारण चर्चामा आएको खारामा राज्यप्रति जनताको विश्वासलाई स्थापित गराउन अस्पताल निर्माण गरिएको हो । नेपाली सेनाको देवी दल गण सल्ले रुकुमले अस्पताल निर्माण गरेर एक कार्यक्रमका बीच स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।
द्वन्द्वकालमा खारा ब्यारेकमा पटकपटक आक्रमण हुँदा स्थानीय निकै प्रभावित बनेका थिए ।
सेनाले अस्पताल बनाएर हस्तान्तरण गरेपछि स्थानीय जनतामा खुसी मात्रै छाएको छैन, उनीहरूमा नेपाली सेनाप्रतिको बुझाइमा समेत सुधार आएको छ । अहिलेसम्म सामान्य उपचारका लागि गाउँभन्दा धेरै टाढा सदरमुकाम जानुपरेको र अब आफ्नै गाउँमा अस्पताल बनेपछि स्थानीयलाई धेरै राहत भएको स्थानीय प्रेमा ओली बताउँछिन् ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३, खारानेटामा बनेको यो अस्पताल ५ शैयाको छ । जसका लागि नेपाली सेनाको देवी दल गणले नगद ११ लाख र स्थानीयको ९ लाख बराबरको श्रमदानसमेत गरी जम्मा २० लाखको लगानीमा अस्पताल निर्माण भएको देवी दल गणका गणपति प्रमुख सेनानी पंकज रावलले बताए । “द्वन्द्वकालमा चिढिएको सेवा र नागरिकताको सम्बन्ध निकट बनाउने र जनतालाई गाउँघर नजिकमै स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल निर्माण गरिएको हो,” उनले भने । त्रिवेणी गाउँपालिका र स्थानीयले भवन निर्माणका लागि जग्गा उपलब्ध गराएपछि फागुणदेखि निर्माण थालेर चार महिनामा निर्माण सम्पन्न गरिएको हो । यस ठाउँमा गाउँपालिकाले अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण खरिद गर्ने निर्णय गरिसकेको छ ।
–मेगराज खड्का