रमण एफक्यान एक्सिलेन्स अवार्ड शुक्रबार «

रमण एफक्यान एक्सिलेन्स अवार्ड शुक्रबार

नेपाल निर्माण व्यवसायी महासंघको रमण एफक्यान एक्सिलेन्स अवार्ड तथा विशेष सधारण सभा शुक्रबार राजधानीमा आयोजना हुने भएको छ ।
पहिलो सत्रमा बिहान विशेष साधारणसभा हुनेछ भने दोस्रो सत्रमा दिउँसो एफक्यान एक्सिलेन्स अवार्ड आयोजना हुने महासंघले जनाएको छ । महासंघको विशेष साधारणसभाको उद्घाटन महासंघका पूर्वअध्यक्षहरू गणेशलाल श्रेष्ठ, जिपछिरिङ लामा शेर्पा, रमेश शर्मा, सुकुन्तलाल हिराचन, यक्षध्वज कार्की र जयराम लामिछानेले संयुक्त रूपमा गर्ने महासंघका प्रवक्ता विष्णु बुढाथोकीले जानकारी दिए ।
विशेष साधारणसभाले केही बाझिएका विधानका विषयहरूलाई संशोधन गर्ने महासंघले जनाएको छ । त्यस्तै भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठकोे प्रमुख आतिथ्यमा मुलुकको निर्माण क्षेत्रमा योगदान गर्ने विभिन्न विशिष्ट व्यक्ति, फर्म तथा संस्थाहरूको सम्मानमा विभिन्न २७ विधामा अवार्ड वितरण गरिने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निर्माण जगतलाई टेवा पुग्ने गरी समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यमहरूलाई पनि अवार्ड वितरण गरिनेछ ।
त्यस्तै निर्माण क्षेत्रमा लामो समयदेखि योगदान दिने एक विशिष्ट व्यक्तिलाई ‘महासंघ गौरव सम्मान’ प्रदान गरिने पनि विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा संस्कृतिमन्त्री रविन्द्र अधिकारी, खानेपानी तथा सरसफाइमन्त्री बिना मगरलगायतको उपस्थिति रहने महासंघले जनाएको छ ।
अवार्डलाई विगतमा झै निष्पक्ष तथा पारदर्शी बनाउन सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरूको एउटा स्वतन्त्र जुरी कमिटी गठन गरिएको छ । सोही कमिटीको निर्णयअनुसार विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ भन्दै महासंघले अवार्डलाई रमण जनरल कन्स्ट्रक्सन मार्टले प्रायोजन गरेको जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहकार्यमा कार्यक्रम हुन लागेको पनि महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्