कोरियाली सांस्कृतिक सप्ताह हुने «

कोरियाली सांस्कृतिक सप्ताह हुने

 काठमाडौंस्थित गणतन्त्र कोरियाको दूतावासले जेठ ११ देखि १५ सम्म कोरियाली सांस्कृतिक सप्ताह आयोजना गर्ने भएको छ । निःशुल्क प्रवेशको व्यवस्था भएको उक्त कार्यक्रम दिउँसो १ बजेबाट ६ बजेसम्म विविध बहुसांस्कृतिक कार्यक्रमहरूका साथ आयोजना हुने बताइएको छ ।
कार्यक्रमको पहिलो दिन शुक्रबार दिउँसो १ बजेबाट ३ बजेसम्म खानाका परिकार, कोरियन भाषालगायत कोरियाली संस्कृतिका विविध आयामको प्रत्यक्ष अनुभव गर्ने अवसर मिल्ने जनाइएको छ । कोरियाली खानाको परिकार सम्बन्धमा विगतमा अनुभव गर्न नपाइएको परम्परागत चामलबाट तयार गरिएको परिकार (हानग्वा), फोटो प्रदर्शनीको माध्यमबाट सुन्दर कोरियाली परिकारहरु अवलोकन तथा केही अवलोकनकर्ताहरुलाई स्वाद चखाउने योजना रहेको दूतावासले जनाएको छ ।
त्यसैगरी कोरियाली खानाको प्रशिक्षण सञ्चालन गरेर किम्भी बनाउने तरिका र छाव्छे (सखरखण्डको नुडल) बनाउने अवसर प्रदान गरिने भन्दै दूतावासले कोरियाली खाना बनाउने तरिका सिक्न चाहने नेपालीहरुका लागि राम्रो अवसर मिल्ने पनि जनाएको छ । यसका लागि पहिला नाम दर्ता गर्ने व्यक्तिलाई आधार मानेर ३० जना निःशुल्क भाग लिन पाउने दूतावासले जनायो ।
उक्त अवसरमा कोरियाली भाषा वतृत्वकला प्रतियोगिता छनोट प्रक्रियाबाट १० जना व्यक्तिहरु जुनियर÷ सिनियर २ समूहमा विभाजन गरेर कार्यक्रम सञ्चालन गरिने पनि जनाइएको छ । प्रत्येक समूह विजेतालाई उपहारको रुपमा एउटा सामसङ मोबाइल फोन प्रदान गरिने दूतावसले बताएको छ ।
त्यसबाहेक कोरियाली बजार र कोरियाली परम्परागत पोशाक हानबोख लगाउने, तेक्वान्दो प्रदर्शन आदि विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु रहेका छन् ।
पहिलो दिनको विभिन्न सांस्कृतिक कार्यक्रमपश्चात दोश्रो दिनदेखि मंगलबारसम्म क्यूएफएक्स लबिम मलमा चलचित्र प्रदर्शन गर्ने कार्यक्रम रहेको भन्दै दूतावासले प्रत्येक चलचित्र शुरुवात हुनु २ घण्टा अगाडि टिकट बक्सबाट १ जनाले अधिकतम २ वटा सम्म निःशुल्क टिकट लिन सक्ने जनाएको छ । यसपटकको चलचित्र प्रदर्शनमा ५ वटा उत्कृष्ठ व्यवसायिक चलचित्रहरु प्रदर्शन गरिनेछ, जस मध्ये उद्घाटनको अवसरमा प्रदर्शन गरिने चलचित्र शुरुमा प्रदर्शनमा आउँदा १ करोड २० लाख टिकट बिक्रि गर्न सफल चलचित्र चोरहरुलगायत रोमाण्टिक कमेडी मेरो श्रीमतिको सबै चिज, मानवअधिकारवादी एक्सन संदिग्ध, मेरो शानदार जीवन, त्यसैगरी विकास चलचित्रसम्म विभिन्न मनोरन्जनात्मक चलचित्र हेर्न सकिने दूतावसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्