मुडे–मेलुङ सडकको ठेक्का तोडियो «

मुडे–मेलुङ सडकको ठेक्का तोडियो

सिन्धुपाल्चोकको मुडे बजारबाट दोलखाको मेलुङ जोड्ने मुडे–मेलुङ सडको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोटले सोमबार एक सूचना प्रकाशित गरी निगाले बजारबाट १६ किमि सडकको स्तरोन्नतिको कामको ठेक्का तोडिएको जनाएको हो ।
गृहमन्त्रीले काम नगर्ने ठेकेदारहरूलाई पक्राऊ गरी जेलसम्म हाल्न स्थानीय प्रशासनलाई निर्देशन दिएलगत्तै डिभिजन सडक कार्यालयले काम नगर्ने उक्त सडकका ठेकेदारलाई कारबाही स्वरुप ठेक्का तोडेको हो । २०७१ साल असार ३० गते १० करोड ३१ लाख ४९ हजार ७४९ मा ०७२ असार मसान्तसम्ममा पूरा गर्ने गरी सम्झौता भए तापनि थप भएको २ वर्षसम्म २६ प्रतिशतमात्र प्रगति भएको छ । पटकपटक ताकेता गर्दा पनि समयमा काम नगरेको भन्दै डिभिजन सडक कार्यालयले ठेक्का तोडेको हो । कार्यालयसँग कुनै पनि दाबी भुक्तानी भए प्रमाणसहित उपस्थित हुन निर्माण व्यवसायीलाई सूचनामार्फत आग्रह गरेको छ ।
ठेकेदार कम्पनी द कञ्चनजंघा लामा विल्डर्स जेभी, सुकेधारा, काठमाडौंले कामको जिम्मा लिएको थियो । काम सम्पन्न गर्ने गरी ठेक्का लिएको ठेकेदार कम्पनीले समयमा काम सम्पन्न गर्न नसकेपछि २०७३ आसार मसान्तमा काम सक्ने गरी ठेक्काको म्याद थपिएको थियो । डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख डिभिजन इन्जिनियर अशोक तिवारीले एक वर्षदेखि पटकपटक ताकेता गर्दा समेत सम्पर्कमा नआएकाले ठेक्का तोड्न बाध्य भएको हो ।
पछिल्लो पटक भूकम्प तथा इन्धन अभावको कारण देखाई ठेकेदारले म्याद थपका लागि माग गर्दा सडक विभाग पछिल्लोपटक २०७४ साल असार ३० सम्म म्याद थप गरेको डिभिजन कार्यालय दोलखाले जनाएको छ । त्यसपछि उसले कुनै पनि काम नै नगरेको सडक कार्यालयले जनाएको छ ।
ठेक्का सम्झौताअनुसार ठेकेदारले सडक स्तरोन्नति अन्तर्गत १६ किमि सडकमा कल्भर्ट, कजवे, सोलिङ तथा ग्राभेल लगायतको काम गर्नुपर्ने हुन्छ । तर हालसम्म ठेकेदारले सामान्य सडक विस्तारका लागि माटो कटिङको काम र वाल लगाउने कामबाहेक अन्य काम नगरेको स्थानीय गुनासो गर्छन् ।
शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले सडकको ठेक्का तोडिएकाले अब गाउँपालिका आफैंले सडक सुधारको काम गर्ने निर्णय गरे । गाउँपालिकाले समेत उक्त सडक चाँडो काम गराउन ताकेता गर्दै आएको थियो । केही दिनअघि दुलालले सडकसमेत रद्द गरिएको सूचनासमेत प्रकाशित गरेका थिए ।
“वर्षात्को समयमा त सडकमा धान रोपे पनि हुन्छ, हिउँदमा पनि सिमसिम पानी आउना साथ मोटर चल्दैन,” शैलुङ ४ का वडाध्यक्ष ध्रुव श्रेष्ठले भने, “केही दिन यता पानी पर्न थालेकाले मेडबाट उता बस जानै छाड्यो ।” यो सडकबाट शैलुङ गाउँपालिकाका १० वटा वटा, मेलुङ गाउँपालिकाका ५ वटा वडा, रामेछापको दोरम्बा गाउँपालिकाका ३ वटा वडाले यही सडक प्रयोग गर्छन् ।
विशेषगरी शैलुङ गाउँपालिकाको लाइफलाइन यो सडक नबन्नाले शैलुङ गाउँपालिकाले प्रत्येक वडामा पुग्नका लागि खनेको १० वटा सडक पनि अर्थहीन बन्न पुगेको दुलालको भनाइ छ । “हामीले गाउँपालिकाको बजेटबाट प्रत्येक वडामा पुग्नका लागि करिब ५० किमि ७ मिटर चौडा सडक बनाएका छौं तर के गर्नु यो सडक नबनेसम्म ती सडक राम्रा बनेर मात्र के गर्नु ? सबै सडक जोडिने त त्यही सडकमा हो,” दुलालाले दुःखेसो पोखे ।
सडक नबनेकै कारण भूकम्प पुनर्निर्माण कार्य पनि महंगो बन्न पुगेको उनले बताए । “ठूला मालबाहक ट्रक चल्न सक्दैनन् सान फोरह्वील मालबाहक गाडीमा निर्माण सामग्री ल्याउँदा महंगो पर्छ ।” गिटी बालुवा, सिमेन्ट, फलामजस्ता निर्माण सामग्री महंगो पर्नाले जनता ठूलो मारमा परेका छन्,” दुलालले भने ।
साथैै शैलुङ गाउँपालिका उच्च भागहरूको मुख्य उत्पादन आलु हो । आलु ढुवानी पनि सडक नबन्नाले महँगो पर्न गएको आलु उत्पादक किसानहरूले गुनासो गरे । सडक नबन्दा प्रसिद्ध पर्यटकीयस्थल शैलुङको पर्यटन प्रवद्र्धनमा पनि समस्या भएको भैंसे बजारका होटल ब्यवसायीहरूले बताए ।
दिलबहादुर केसी

प्रतिक्रिया दिनुहोस्