नीति तथा कार्यक्रम चुनावी घोषणापत्र जस्तो : डा. महत «

नीति तथा कार्यक्रम चुनावी घोषणापत्र जस्तो : डा. महत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रम चुनाव घोषणापत्र जस्तो मात्र भएको टिप्पणी गरेका छन् । रिपोर्टर्स् क्लबले मंगलबार गरेको कार्यक्रममा नेता डा. महतले सरकारले ल्याएको नीति तथा कार्यक्रम वार्षिक नभएर ५/१० वर्षे जस्तो भएको बताएका हुन् । उनले नीति तथा कार्यक्रम मूल चरित्रभन्दा बाहिरको भएको टिप्पणी गरे । “सरकारको नीति तथा कार्यक्रम मूल चरित्रभन्दा बाहिरको छ,” उनले भने, “५ वर्षका लक्ष्यहरू समावेश गरिएका छन्, तर लक्ष्य हाँसिल गर्ने आधार छैनन् ।”
पूर्वअर्थमन्त्रीसमेत रहेका नेता डा. महतले अहिलेको नीति तथा कार्यक्रमले ‘ड्रिमिङ टार्गेट्स’ राखेको बताए । उनले आगामी पाँच वर्षभित्र राष्ट्रिय आय दोब्बर बनाउने भनिए पनि त्यसका लागि वर्षमा १५ प्रतिशतको आर्थिक वृद्धि हुनुपर्ने बताए । “तर बढीमा ७ देखि ८ प्रतिशतमात्रै हुने सम्भावना छ,” उनले भने ।
उनले नीति तथा कार्यक्रममा व्यावहारिक धरातलका लक्ष्य समावेश नगरिएको दाबी गरे । “१० वर्षभित्र मध्यम आय भएको मुलुक बनाउँछौं भनिएको छ, तर लक्ष्य हाँसिल गर्ने आधार खोई ?” उनले भने, “हामीलाई प्रशासनिक क्षमता अभिवृद्धिको आवश्यकता छ, यति वर्षमा यो गर्छौं, उ गर्छौं भनिएको छ, यो नीति तथा कार्यक्रम स्वप्निल र महत्वाकांक्षी लक्ष्य मात्रै हो ।”
नेता डा. महतले संघीयता कार्यान्वयन गर्ने संस्थागत संरचना बनाउन र प्रशासनिक क्षमता वृद्धि गर्नेबारे सरकारको नीति तथा कार्यक्रम मौन रहेको दाबी गरे । उनले स्थानीय तथा प्रदेश दुवै तहको क्षमता बढाउनुपर्नेमा जोड दिए । नीति तथा कार्यक्रममै कार्यक्रमहरूको अभाव रहेको उनको भनाइ थियो ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रचारमुखी नभएको दाबी गरे । उनले धरातलमै टेकेर कार्यक्रमहरू ल्याइएको भन्दै सरकारले घोषणा गरेका कार्यक्रम पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
“पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि हाँसिल गरेरै छाड्छौं,” उनले भने, “चाहे हाइड्रोपावर होस् वा भौतिक पूर्वाधारकै कुरा होस्, हामी सबै आयोजना पूरा गर्छौं, पैसाको अभाव छैन, सही अर्थमा काम गर्ने हो, जनताका सपना पूरा गर्छौं ।” उनले सडकको रेखाङ्कन, सुरुङमार्ग र राजमार्गका पुल निर्माणलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको बताए । “पाँच वर्षभित्र काठमाडौं–निजगढ द्रुतमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गको सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौं,” उनले भने, “चुरे तथा भित्रि मधेसका उपत्यकालाई आर्थिक तथा औद्योगिक करिडोरका रुपमा विकास गर्न पूर्व झापाको शान्तिनगरदेखि पश्चिम डडेल्धुराको रुपालसम्म मदन भण्डारी राजमार्ग निर्माणलाई तीव्रता दिने छौं ।”

प्रतिक्रिया दिनुहोस्