विद्यालयमा अक्षयकोष स्थापना «

विद्यालयमा अक्षयकोष स्थापना

गोरखा क्षेत्र नं. २ प्रदेश ख का सांसद प्रकाशचन्द्र दवाडीले आफूले पाउने तलबबाट विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । सांसद दवाडीले सिरानचोक गाउँपालिका–७ स्थित जनकल्याण माध्यमिक विद्यालयमा ५५ हजार ५५५ रूपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । उनले भने, “मैले पहिलो महिनाको तलबले निर्वाचन क्षेत्रअन्तर्गत पर्नेे यो विद्यालयमा अक्षयकोष स्थापना गरेको हुँ ।”
विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई बर्सेनि छात्रवृत्ति वितरण गर्ने गरी स्थापना गरिएको अक्षयकोषका लागि उनले विद्यालयका प्रधानाध्यापकलाई रकम हस्तान्तरण गरेका छन् । अक्षयकोषबाट छात्रवृत्ति पाउने विद्यार्थीको छनौट संरक्षक समितिले गर्नेछ । उनले भने, “विद्यालयका प्रधानाध्यापक, वडाध्यक्ष र एक अभिभावक समेटेर संरक्षक समिति बनाएको छु । सोही समितिले कसलाई छात्रवृत्ति दिने भन्ने टुंगो लगाउँछ । म आफै पनि अनुगमन गर्छु ।” सांसद दवाडीले चुनाव जितेलगत्तै आफूले पाउने पारिश्रमिक व्यक्तिगत रूपमा खर्च नगरी निर्वाचन क्षेत्रमा नै खर्च गर्ने घोषणा गरेका थिए । पूर्वघोषित कार्यक्रम अनुसार ३ महिनाको तलब एकमुष्ट बुझेका सांसद दवाडीले बाँकी रकम पनि अन्य विद्यालयमा अक्षयकोष स्थापना गर्ने भएका छन् । सांसद दवाडीले भने, “मैले सांसदवापत पाएको पारिश्रमिक जनताकै सेवामा खर्चनेछु । मेरो निर्वाचन क्षेत्रका शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, युवा सशक्तीकरण लगायतका क्षेत्रमा सहयोग गर्नेछु ।”

 

प्रतिक्रिया दिनुहोस्