टेलिकमका डाटा ग्राहक १ करोड बढी «

टेलिकमका डाटा ग्राहक १ करोड बढी

नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता १ करोडभन्दा बढी पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो अर्थात् ०७४ चैत महिनाको एमआईएस रिपोर्टअनुसार डाटा सेवाका प्रयोगकर्ता १ करोड १ लाख ५४ हजार छन् ।
टेलिकमका अनुसार जीएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १ सय, सीडीएमए डाटा सेवाका प्रयोगकर्ता १ लाख ३६ हजार ५ सय, वाइम्याक्स सेवाका १७ हजार र एडीएसएलका १ लाख ९९ हजार ७ सय प्रयोगकर्ता छन् ।
०७४ असार मसान्तसम्ममा कम्पनीको डाटा सेवाका ग्राहक आधार ८४ लाख २५ हजार ८ सय ९४ रहेकोमा ०७४ चैत अन्त्य सम्ममा यो संख्या १ करोड १ लाख ५४ हजार पुगेको छ ।
यस अनुसार २०७४ असारसम्मको ग्राहक आधारको तुलनामा चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा कम्पनीको डाटा सेवाका ग्राहक आधार २०.५१ प्रतिशतले वृद्धि भएको देखिएको छ । रिपोर्टअनुसार ०७४ चैत मसान्त सम्म नेपाल टेलिकमका फोरजी डाटा प्रयोगकर्ता ५ लाख ५९ हजार १ सय ७२ छन् । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको पछिल्लो ०७४ फागुनको एमआईएस रिपोर्टअनुसार नेपाल टेलिकमको फोरजी डाटा प्रयोगकर्ता ५ लाख ४७ हजार ५ सय ८ छन् । यसअनुसार समग्र फोरजी डाटा प्रयोगकर्तामध्ये ३८.५८ प्रतिशत नेपाल टेलिकमका फोरजी डाटा प्रयोगकर्ता छन् ।
गत ०७४ चैत महिनाको अन्त्यसम्ममा नेपाल टेलिकमको टेलिफोन सेवाका ग्राहक आधार १ करोड ९३ लाख २२ हजार ८ सय ५५ रहेको छ । यसअनुसार जीएसएम मोबाइल सेवाका ग्राहक १ करोड ६९ लाख ४४ हजार ५ सय ३९, सीडीएमए सेवाका ग्राहक १६ लाख ८८ हजार ३ सय ५१ तथा पीएसटीएन टेलिफोन सेवाका ग्राहक ६ लाख ८९ हजार ३ सय ७३ छन् ।
कम्पनीले सेवाग्राहीहरूको सुविधाका लागि हाल सस्तो दरका विभिन्न प्रकारका प्याकेज र अफरहरू उपलब्ध गराइरहेको छ । यस्ता प्याकेज र अफरहरूका कारण पनि कम्पनीका डाटा प्रयोगकर्ताको संख्या बढिरहेको छ । डाटा सेवाका लागि कम्पनीले हाल ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा मासिक न्यूनतम ५ सय ८३ रुपैयाँसम्मको मूल्यमा उपलब्ध गराइरहेको छ । विभिन्न प्याकेज खरिद गर्न तथा जानकारी लिनका लागि स्ट्रिक १४१५ह्याज डायल गर्न सकिने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्