कम उत्पादन हुने सिजनमै ‘मिल्क होलिडे’ «

कम उत्पादन हुने सिजनमै ‘मिल्क होलिडे’

नेपालमा वार्षिक १७ लाख टन दूध उत्पादन हुने गरेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको तथ्यांक छ । दैनिक औसत ७ लाख लिटर दूध सहकारीमार्फत बिक्री हुँदै आएको छ ।

मुलुक दुग्ध उत्पादनमा आत्मनिर्भरको नजिक पुग्दै गर्दा मिल्क होलिडे सुरु भएको छ । उद्योगले दूध किन्न कम गरेपछि कम्तिमा छ जिल्लाका किसानले मिल्क होलिडेको समस्या भोग्न थालेको केन्द्रीय दुग्ध सहकारी संघले जनाएको छ ।
दूधको खपत कम हुँदा वा अन्य कारण देखाइ उद्योगले दूध खरिद घटाइ कुनै दिन वा निश्चित कोटामा दूध खरिद नहुने अवस्था आउनु दुग्ध होलिडे (दूध बिदा) को अवस्था हो । अहिले देखिएको मिल्क होलिडे आंशिक (कोटा) मा आधारित भएको संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले बताए । “नेपालको इतिहासमै पहिलो पल्ट दूध कम उत्पादन हुने सिजनमै मिल्क होलिडेको अवस्था आएको छ,” मिल्क होलिडेको पुष्टी गर्दै उनले भने, “अहिलेको मिल्क होलिडे कोटामा आधारित हो, हरेक हप्तामा एक दिन २५ प्रतिशतदेखि शतप्रतिशतसम्म दूध खरिद नहुने अवस्था आएको छ ।” मिल्क होलिडेका कारण मुलुकभर दैनिक ५० हजार लिटर दूध बिक्न छाडेको उनले बताए ।
सरकारले दूधको बजारीकरणमा ध्यान नदिएका कारण मिल्क होलिडेको अवस्था आएको संघको आरोप छ । संघका अनुसार हाल झापा, इलाम, सुनसरी, मोरङ, चितवन र बाँके जिल्लाका केही क्षेत्रमा यो समस्या आइसकेको छ । समस्या समाधानका लागि सरकारले तत्काल विशेष कदम नचालेमा असारदेखि दैनिक एक लाख लिटर दूध नबिक्ने अवस्था आउन सक्ने बताइएको छ । नेपालमा साउनदेखि माघसम्म बढी उत्पादन हुने र फागुनदेखि असारसम्म कम उत्पादन हुने गर्दछ । बढी दूध उत्पादन हुँदा धुलो दूध कारखानामा दूधलाई पाउडर बनाएर राख्ने र कम उत्पादन हुने सिजनमा पाउडर र बटर मिलाएर दूध उत्पादन गरेर बजारको माग पूरा गर्ने गरिन्छ ।
नेपालमा वार्षिक १७ लाख टन दूध उत्पादन हुने गरेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको तथ्यांक छ । दैनिक औसत ७ लाख लिटर दूध सहकारीमार्फत बिक्री हुँदै आएको छ । मागको ८० प्रतिशत भन्दा बढी पूर्ति राष्ट्रिय उत्पादनबाटै हुँदै आएको दूधमा सरकारले आगामी दुई वर्षभित्र आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको छ । एकातिर दैनिक करिव चार लाख लिटर दूध अपुग हुने गरेको सरकारी तथ्यांक छ भने कृषकले दूध बिक्री नहुने समस्या बढ्दो रहेको गुनासो गर्न थालेका छन् । केन्द्रीय संघले मंगलबार पत्रकार सम्मेलन गरी दुग्ध क्षेत्रमा बढ्दो समस्याप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
चितवनस्थित अन्नपूर्ण दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडका अध्यक्ष भगिरथ योगी, सुनसरीस्थित कामधेनु दुगध विकास सहकारी संस्था लिमिटेडका अध्यक्ष टिका ओझा र इमालको कन्यामस्थित सहकारीका निलकुमार प्रधान लगाएतका सहकारीकर्मीहरूले दुग्ध विकास संस्थान लगायत नीजि क्षेत्रका डेरीले पनि दूध खरिद नगरेकाले आफ्नो क्षेत्रमा मिल्क होलिडे सुरु भएको बताए । सरकारले दूध उत्पादनमा प्रोत्साहन गरे पनि बजारीकरणमा सहयोग नगरको आरोप दुग्ध सहकारीकर्मीको छ । “किसानको उत्पादन खरिदको जिम्मा सरकारले नलिएसम्म दुग्ध क्षेत्रको समस्या ज्युँका त्युँ रहन्छ,” संघका महासचिव राम आचार्यले भने, “मिल्क होलिडेको समस्या समाधान गर्न अझै समय छ, भोलि समस्या बढ्दै गरेमा सडकमा दूध पोख्ने दिन आउन नदिन सरकारले ध्यान दिनुपर्छ ।” यसअघि आर्थिक वर्ष २०६६-६७ र २०५७-५८ मा किसानले दूध नबिकेपछि मिल्क होलिडेको समस्या भोग्नुपरेको थियो ।

‘अमुल डेरी चाहिँदैन’
दुग्ध उत्पादन केन्द्रीय सहकारी संघले पछिल्लो समयमा नेपाल भित्रने चर्चामा रहेको भारतस्थित अमूल डेरी नेपालमा आवश्यक नरहेको जनाएको छ । मंगलबार पत्रकार सम्मेलन गरी संघले अमूलले नेपालमा कारखाना स्थापना गर्ने कुरा आफूहरूलाई मान्य नभएको बताएका छन् । “भारत आफैंले आफ्नो देशको दूध बिक्री नहुने खतरालाई टार्न आठ महिनासम्म दुग्धजन्य उत्पादन आयात रोक लगाउने नीति लागू गरिरहेको छ,” संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले भने, “दुग्ध उत्पादनसँग सम्बन्धित प्रविधि विश्वका कुनै पनि कम्पनीबाट नेपाल भित्र्याउन सकिएला तर नेपालमा दुग्ध उत्पादनमा हामी नै सक्षम छौं, अमूल चाहिँदैन ।” अमूल भारतको दूध सिधै नेपाल ल्याएर बिक्री गर्दै नेपालको दुग्ध उत्पादन क्षेत्र धरासयी पार्ने मनसायले आउन सक्ने खतरा रहेको उनको भनाइ छ ।
डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसनलगायतका नेपालमा डेरी उत्पादकहरूको संस्थाहरू पनि अमूलको नेपाल प्रवेशले नेपालको दुग्ध क्षेत्रमा नकारात्मक असर पर्ने भन्दै सो कदम रोक्न सरकारसँग पहल गरिरहेका छन् । यसैबीच दुग्ध क्षेत्रको समस्याका विषयमा मंगलबारनै कृषि विकास मन्त्री र अर्थ सचिवको ध्यानाकर्षण गराएको संघले जनाएको छ । डेरी उपकरण र विद्युत्मा कर छुटलगायतका विषय समेटेर ज्ञापनपत्र बुझाइएको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्