होन्डाले भारतमा सस्तो विद्युतीय कार ल्याउने

जापानी अटो निर्माता कम्पनी होन्डाले भारतीय बजारमा सस्तो विद्युतीय सवारी (ई–कार) ल्याउने भएको छ । विद्युतीय सवारी उत्पादनका लागि सहकार्य गर्ने मारुती सुजुकी र टोयोटाको घोषणापछि होन्डा पनि विद्युतीय सवारी उत्पादन गर्ने दौडमा लागेको हो ।
यस रणनीतिअनुरूप होन्डाको भारतीय सहायक कम्पनी होन्डा कार इण्डिया लिमिटेड (एचसीआईएल)ले भारतीय ट्राफिक अवस्थामा मिल्ने र सस्तो खालको ब्याट्रीबाट चल्ने विद्युतीय सवारी निर्माण गर्नेबारे योजना बनाइरहेको जनाएको छ । विद्युतबाट चल्ने सवारीका लागि धेरै पूर्वाधार विकास चाहिने र विविध रेञ्जका ब्याट्रीको उपलब्धता, सुपथ मूल्य तथा उपभोक्ताको रुचीजस्ता अन्य चुनौतीहरूलाई जित्नुपर्ने एचसीआईएलका सीईओ योइचिरो युनोले उल्लेख गरेका छन् । कम्पनीले भारतीय ग्राहक र सडकको अवस्था सुहाउँदा विद्युतीय सवारीको ब्याट्री मोडल बनाउने योजना पनि बनाएको युनोले दाबी गरे ।
पछिल्लो समय भारतको राजधानी दिल्लीलगायत स्थानमा उच्च वायु प्रदूषण नियन्त्रण गर्न भारत सरकार डिजेल तथा पेट्रोलबाट चल्ने सवारी प्रतिबन्ध लगाउने विषयमा छलफलमात्र गरि रहेको छैन, सन् २०३० सम्ममा भारतीय सडकमा शतप्रतिशत विद्युतीय सवारी गुडाउने योजना बनाइरहेको छ । विश्वका सबैजसो ठूला सवारी उत्पादक कम्पनीहरु विद्युतीय सवारी उत्पादनलाई उच्च प्राथमिकता दिइरहेका छन् । भारत पनि सवारीको ठूला बजार भएकाले भारतमा रहेका अन्तर्राष्ट्रिय सवारी उत्पादक कम्पनीहरुको प्राथमिकतामा विद्युतीय सवारी उत्पादन गरेको हो । होन्डाले भारतीय बजारमा मात्र नभई विश्व बजारमै विद्युतीय सवारीको विकासलाई बलियो बनाइरहेको जनाएको छ ।