‘अरुण तेस्रो आयोजनामा कुनै विवाद छैन, बूढीगण्डकी अब अगाडि बढ्छ’ «

‘अरुण तेस्रो आयोजनामा कुनै विवाद छैन, बूढीगण्डकी अब अगाडि बढ्छ’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रको आधुनिक विकास नै समृद्धिको पहिलो आधार भएको स्पष्ट पारेका छन् । सरकारले अघि सारेको नीति तथा कार्यक्रमले ऊर्जा क्रान्तिको ढोका खुलेको उनले बताए ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पुनले यस्तो बताएका हुन् । उनले भने, “सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा ऊर्जा क्षेत्र उच्च प्राथकितामा परेको छ, आगामी १० वर्षभित्र १५ हजार मेघावट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकारले बृहत् योजना यसै वर्षभित्र सुरु गर्ने भएको छ, तीन वर्षमा तीन हजार, ५ वर्षभित्र १० हजार र १० वर्षभित्र १५ हजार मेघावट विद्युत् निर्माण गर्ने लक्ष्य हामीले लिएका छौं ।”
मन्त्री पुनले आधुनिक ऊर्जाको विकासले आर्थिक समृद्धि मात्रै नभएर रोजगारीको समेत सिर्जना हुने विश्वास दिलाए । उनले भने, “श्वेतपत्र र नीति तथा कार्यक्रममा भनिएका सबै कुरा अक्षरशः कार्यान्वयन हुन्छन्, पहिलेको जस्तो अस्थिर राजनीतिक अवस्था अहिले छैन्, काम गर्ने समय मिलेन भन्ने अवस्था पनि छैन्, २०७५ सालबाट आर्थिक समृद्धि र विकासको वर्ष सुरु भएको छ, यसलाई नै समृद्धिको आधार वर्षको रूपमा गणना गर्न अनुरोध गर्दछु ।”
ऊर्जामा आधुनिकीकरण गरेर आगामी ३ वर्षभित्र भारतसँगको १८ अर्बको विद्युत् आयातलाई प्रतिस्थापन गर्नेतर्फ उर्जा मन्त्रालय जुटिसकेको पनि उनले बताए । उनले थपे, “विद्युतीय चुलो, विद्युतीय सवारीहरूको खरिदजस्ता काम गर्ने र ब्यापार घाटालाई प्रतिस्थापन गर्नेमा सरकारको तयारी रहेको छ, हामी त्यही अनुसार अघि बढिरहेका छौं ।”
सडक, कृषि र ऊर्जा लगायतका क्षेत्रलाई सरकारले विषेश प्राथमिकताको रूपमा अघि सारेको जनाए । उनले भने, “अझै पनि दुई तिहाइ जनता कृषिमा निर्भर छन्, आधुनिक ऊर्जाको विकास, आधुनिक सिँचाइ र आधुनिक कृषि प्राणालीको विकासले मात्रै कृषकहरूको जीवनमा परिर्वतन आउँछ, यसै वर्षमा तमोर, सुनकोसी, कालिगण्डकी, नौमुरेजस्ता बहुउद्देश्यीय जलविद्युत् आयोजना सुरु हुँदैछन्, त्यस्तै भेरी डाईभर्सन निर्माणको काम अन्तिमतिर पुगेको छ, ऊर्जा क्षेत्रको विकासमा जनताको लगानी आवश्यक छ, समृद्धिको मालिक जनता आँफै हो ।”
खोला झोलामा बोक्ने प्रवृत्ति अन्त्य हुन्छ त ? भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा मन्त्री पुनले भने, “हरेक योजनाको प्रगति विवरणका आधार लाइसेन्स दिने र सरकारको निगरानीमा राखेर आयोजनाहरु सञ्चालन गर्ने मन्त्रालयको रणनीति हो, खोला झोलामा बोकेर हिँड्ने दिन गइसके, त्यस्ता बिचौलियालाई समाजबाटै विस्थापित् गर्नुपर्छ, सरकारले काम गर्नेलाई सम्मान गर्ने र काम नगर्ने, लाइसेन्सको धम्की दिने, योजनाहरू होल्ड गर्ने प्रवृत्तिका मानिसलाई छोड्दैनौं, यस्ता महत्वपूर्ण आयोजनामा बिचौलीयाहरूको चलखेल पूर्णरूपमा बन्द हुनेछ ।”
ऊर्जामन्त्री पुनले विद्युत् चुहावट रोक्नका लागि सरकार लागिरहेको पनि जनाए । उनले भने, “विशेषगरी सिँचाइको समयमा ‘हुक’ गरेर बोरिङ गर्ने, विद्युत् चोरी गर्ने काम हुन्छ, त्यसको अन्त्य गर्न सरकारले ऊर्जा मन्त्रालयअन्तर्गत सोलार वितरण गर्ने र चोरी गर्नेलाई कारबाही गर्ने गरिरहेको छ, समूहमा सोलार वितरण गरेर सिँचाइ गर्ने वातावरण निर्माण गर्ने र यस्ता गलत प्रवृत्तिको अन्त्य गर्नेमा सरकार लागि रहेको छ ।”
मन्त्री पुनले लामो समयदेखि विवादित बन्दै आएको बुढिगण्डकी आयोजनाको मुआब्जा तत्काल वितरण गरिने आश्वासन दिएका छन् । अरुण तेस्रो निर्माणमा केही समस्या आएको छ अरे नि भनेर पत्रकारले सोधेको अर्को प्रश्नको जवाफमा मन्त्री पुनले भने, “कुनै पनि समस्या वा विवाद छैन्, मन्त्रालयसमक्ष अहिलेसम्म कुनै पनि समस्या आइपुगेको छैन, केही आयो भने पनि हामी समाधान गर्न तयार छौं ।” उनले अरुण तेस्रो परियोजना लगानी बोर्डले अघि बढाएको पहिलो आयोजना भएकोले समयमै निर्माणको काम सम्पन्न हुने पनि ठोकुवा गरे ।

प्रतिक्रिया दिनुहोस्