Logo

नीति तथा कार्यक्रम निजी क्षेत्रमैत्री :महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले सरकारको आगामी आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रमलाई सकारात्मक रहेको जनाएको छ । लोकतन्त्रका आधारभूत मूल्यमान्यता, बहुदलीय प्रतिस्पर्धात्मक शासन प्रणाली, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त, सन्तुलन र नियन्त्रण, स्वतन्त्र न्यायालय, मानव अधिकार र मौलिक हकप्रतिको सरकारको प्रतिबद्धताको महासंघले प्रशंसा गरेको छ ।
निजी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंगका रूपमा सामेल र प्रोत्सान गरिने प्रत्याभूतिको महासंघले स्वागत गरेको छ । लगानीमैत्री वातावरण, अनुकूल श्रम सम्बन्ध र लगानी तथा मुनाफाको सुरक्षाको प्रत्याभूति गरिने नीतिले निजी क्षेत्र उत्साहित भएको छ । “लगानीकर्ताका लागि एकै थलोबाट सहज सेवा उपलब्ध गराइने र लगानी प्रोत्साहन गर्न कानुनी, संस्थागत र प्रक्रियागत सुधार गरी व्यवसाय लागत घटाइने कुराले निजी क्षेत्रको महत्वपूर्ण सुझावलाई सम्बोधन भएको हामीले पाएका छौं,” महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य नीति तथा कार्यक्रमले लिएको छ । नेपालको अर्थतन्त्रलाई उच्च आर्थिक वृद्धि सहितको संतुलित र सुदृढ अर्थतन्त्रको रूपमा विकास गरिने, अर्थतन्त्रलाई उत्पादनमुखी, रोजगारी प्रवद्र्धन, आत्मनिर्भर र निर्यातमूलक बनाउन अर्थतन्त्रको संरचनामा परिवर्तन गरिने, आगामी आर्थिक वर्षमा दोहोरा अंक नजिकको र पा“च वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि हासिल गरी नेपालीको हालको प्रतिव्यक्ति आय पा“च वर्षमा दोब्बर बनाइने घोषणाको महासंघ स्वागत गरेको छ ।
महासंघले नीति तथा कार्यक्रमले कृषि, ऊर्जा, उद्योग, यातायात, भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन र सहरी विकासलाई आर्थिक वृद्धिको संवाहकको रूपमा पहिचान गरेको जनाएको छ । सार्वजनिक निजी र सहकारी क्षेत्रको प्रमुख लगानी यी क्षेत्रमा केन्द्रित गरिने र वैदेशिक लगानी तथा विकासका साझेदारबाट प्राप्त स्रोतलाई पनि यी क्षेत्रमा परिचालन गरिने प्रतिबद्धताबाट महासंघले जोड दिएकै क्षेत्रलाई नीति तथा कार्यक्रमले समेटेकोमा थप उत्साहित भएको महासंघले जनाएको छ ।

क्यानद्वारा स्वागत
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले पनि नीति तथा कार्यक्रमको स्वागत गरेको छ । सूचना प्रविधिको पहँुच र प्रयोगलाई बृहत्तर बनाउने गरी सरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको गरिएको महासंघले जनाएको छ । “सरकारले सूचना प्रविधिसमेतलाई आर्थिक वृद्धिको संवाहकको रूपमा पहिचान गरी नीति तथा कार्यक्रममा समावेश गरेकोमा क्यान महासंघ आभार प्रकट गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “सूचना प्रविधिमा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने र सबै स्थानीय तहलाई सूचना सञ्जालमा जोड्ने सरकारी नीति मुलुकको तीव्र आर्थिक विकासमा सहयोगीसिद्ध हुने हाम्रो विश्वास छ ।” यस्तै, ‘नागरिक अधिकार मोबाइल एप्स’ ले सूचना प्रविधिको प्रयोगलाई बृहत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । सबै नेपालीलाई बायोमेट्रिक सूचना र पृथक नम्बरसहितको राष्ट्रिय परिचयपत्र, शिक्षा र स्वास्थ्य सेवा प्रवाहमा आधुनिक सञ्चार प्रविधिको प्रयोगका साथै सामुदायिक विद्यालय, अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा उच्च गतिको इन्टरनेट सुविधाले सरकारको ‘समृद्ध नेपाल ः सुखी नेपाली’ अभियानमा टेवा पुग्ने क्यानको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्