प्राधिकरणका तीन आयोजना एकद्वार प्रणालीबाट «

प्राधिकरणका तीन आयोजना एकद्वार प्रणालीबाट

नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय गौरवका विभिन्न तीन आयोजना एकद्वार प्रणालीमार्फत कार्यान्वयन गर्ने भएको छ । प्राधिकरणले गौतम बुद्ध विमानस्थल सुदृढीकरण, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना एकद्वार प्रणालीमार्फत कार्यान्वयन गर्ने भएको हो ।
तीनवटै आयोजनाको काम योजनाअनुसार अगाडि नबढेपछि प्राधिकरणले एकद्वार प्रणालीमार्फत कार्यान्वयन गर्ने निर्णय गरेको हो । प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले तीन आयोजनाको काम द्रुत गतिमा अगाडि बढाउन एउटा अलग्गै संयन्त्र विकास गरिने जानकारी दिए । उनले गौतम बुद्ध विमानस्थल सुदृढीकरण आयोजना तोकिएकै समयमा सम्पन्न गर्न संयन्त्रमार्फत कामलाई तिब्रता दिइने बताए । आयोजनामा चिनियाँ ठेकेदार कम्पनी नर्थ इस्ट सिभिल एभिएसनसँगको सम्झौताको अवधि सकिन ६ महिनामात्र बाँकी छ । तर, हालसम्म आयोजनाको भौतिक तथा वित्तीय प्रगति ४० प्रतिशत पनि नाघेको छैन । राष्ट्रिय गौरवका तीनवटै आयोजनाको काम सुस्त हुँदा प्राधिकरणले गत आर्थिक वर्ष ३० अर्ब ८२ करोड ९४ लाख बजेटमध्ये जम्मा ४ अर्ब ३८ करोड ४० लाख रुपैयाँ मात्र खर्च गरेको थियो । प्राधिकरणले चालू आर्थिक वर्ष ३६ अर्ब १८ करोड २८ लाख बजेट प्रस्ताव गरेको छ । पुँजिगततर्फ ३२ अर्ब ६५ करोड १४ लाख तथा कार्य सञ्चालनतर्फ ३ अर्ब ५३ करोड १५ लाख बजेट प्रस्ताव गरेको हो ।
प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयमा सम्पन्न गर्नेगरी कामलाई निरन्तरता दिइने र निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएका जग्गा तथा घरटहराको मुआब्जा चालू आर्थिक वर्षभित्र वितरण गरिसक्ने बताएको छ । विमानस्थल निर्माणका लागि कोल्हवी नगरपालिकाको वडा नम्बर ५ र ८ को ८४ विगाहा जग्गा तथा ती जग्गामा निर्मित १ सय ३४ वटा घर अधिग्रहण गर्नुपर्छ । बारा जिल्ला प्रशासन कार्यालयले अधिग्रहण गरिने जग्गालाई तीन भागमा वर्गीकरण गरी प्रतिकठ्ठा २ लाख ४१ हजार ५ सयदेखि ४ लाख ६० हजार रुपैयाँका दरले मुआब्जाका लागि आह्वान गरेपनि निकै नगन्य जग्गाधनीले मात्र निवेदन दिएका छन् । प्राधिकरणले निजगढ दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने पनि बताएको छ । विमानस्थलको डीपीआर कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइड (एलएमडब्लु)ले ६ वर्षपहिले नै तयार पारे पनि हालसम्म सार्वजनिक भने गरिएको छैन । एलएमडब्लुले डीपीआरमा विमानस्थल निर्माणमा ३ खर्ब ५५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्