ओझेलमा सिद्धगुफा «

ओझेलमा सिद्धगुफा

नेपालमा अहिले पनि थुप्रै सम्पदा प्रचार–प्रसारको अभावमा ओझेल परिरहेका छन् । स्थानीय तथा सकारोकारवालाहरूको ध्यान पुग्न नसक्दा ती सम्पदाको समुचित विकास तथा प्रवद्र्धन हुन सकेको छैन । समयमै त्यस्ता सम्पदाको खोजी गर्न सकेमा नेपालको पर्यटनमा अवश्य नै योगदान पुग्न सक्छ । कतिपय भौगोलिक विकटताका कारण पनि जनमानसको चासोमा परेको पाइँदैन भने कतिपयमा आवश्यक योजना, नीति–नियम नहुँदा पनि संरक्षण तथा संवद्र्धन हुन सकेको छैन ।
दक्षिण एसियाकै ठूलो दाबी गरिएको तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफा पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । २०४४ सालमा पत्ता लागेको सिद्धगुफाको उचित प्रचारप्रसार नहँुदा अझै पनि ओझेलमा नै छ ।
गुफाको प्रचारप्रसारका लागि भन्दै पाँच जनाको समूहले आइतबार गुफाभित्रै रात बिताएको छ । बंगलादेशी पर्वतारोही अनवर हुसेन चौधरीसहित ५ जनाले आइतबार गुफाभित्र रात बिताएका हुन् । तेस्रो पटक नेपाल भ्रमणमा आएका चौधरीले भर्खरै मात्र मेरापिक हिमाल आरोहण गरेका थिए ।
साहसिक काम गर्न रुचाउने चौधरीलाई गुफाभित्र रात बिताउने इच्छा जागेपछि उनका साथी एवं बन्दीपुर युनेस्को क्लबका उपाध्यक्ष विष्णुकान्त घिमिरेले गुफाभित्र बस्ने व्यवस्था मिलाएका थिए । “दक्षिण एसियाकै ठूलो दाबी गरिएको गुफाको प्रचारका लागि एक रात गुफाभित्रै बितायौं,” घिमिरेले भने, “यो एड्भेन्चर लभरका लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ ।”
गुफाभित्रै एक रात बिताएपछिको अनुभव सुनाउँदै पर्वतारोही चौधरीले भने, “कुनै स्वर्गमा गएजस्तो अनुभूति भयो, साँच्चै भन्नुपर्दा प्रकृतिसँगको सुहागरातजस्तो अनुभव भयो ।” गुफाभित्र पर्याप्त अक्सिजन भएकाले गर्मी याममा समेत शीतलताको अनुभूति हुने उनले बताए ।
गुफाभित्र रात बिताउने व्यवस्था मिलाउन सकिए यो पर्यटनको गन्तव्यका रूपमा विकास हुन सक्ने घिमिरेले सुझाव दिए, “यस विषयमा सिद्धगुफा विकास समितिसँग बसेर समेत कुराकानी गर्नेछौं, यसलाई व्यावसायिक रूपमा अगाडि लैजान सकिनेछ ।” चौधरी र घिमिरेबाहेक तीन जना सञ्चारकर्मीले समेत गुफाभित्रै रात बिताएका थिए ।
पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्व विमलनगरमा अवस्थित सिद्ध गुफा समुन्द्री सतहबाट ६ सय मिटरमाथि विमलनगरको ठीक दक्षिण भागमा पर्छ । वि.सं. २०४४ चैत १३ गते शनिबार अर्थात् सन् १९८८ मार्च २६ मा स्थानीय चन्द्रबहादुर सम्लिङ थापामगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तात्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रससमेत पाँच जनाको समूहद्वारा पहिलो पटक यो गुफा पत्ता लागेको थियो ।
पुरातŒवविद्का अनुसार प्राकृतिक बनावट, भौगोलिक उथलपुथल र जीवन सुरक्षाका लागि प्राग्ऐतिहासिक कालीन मानवद्वारा निर्मित, धार्मिक एवं ऐतिहासिक पुरातात्विक महŒवको यो गुफा अन्दाजी ३५ सय वर्ष पुरानो मानिएको छ ।
सुरुमै गुफाभित्र फेला पारिएका पुरातात्विक प्राचीन वस्तुहरू, अक्षर मेटिएको तामाको पैसा, माटोबाट बनेको टुक्रीको पानीको घैंटो, सुराहीको आधा भाग, पाला, धुपाउरो, पानस, जनावरको दारा र टेराकोटाको शुल्पा तथा सानो थालजस्तो आदि इ.सं. १६ र १७ औ शताब्दीअघिको अनुमान गरिएको छ ।
—कृष्ण न्यौपाने

प्रतिक्रिया दिनुहोस्