म्यानपावर व्यवसायीमाथि ठगीको आरोप «

म्यानपावर व्यवसायीमाथि ठगीको आरोप

मलेसिया जाने कामदारसँग अवैधरुपमा रकम उठाउने ४८ जना पक्राउ परेका छन् ।
प्रहरीले काठमाडौंबाट ४४ र ललितपुरबाट ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बायोमेट्रिक प्रणाली नेपालमा भिœयाएर मलेसिया जाने नेपाली युवासँग अर्बौं रुपैयाँ असुल गर्ने वान स्टप सेन्टरका सञ्चालक राम श्रेष्ठ र स्वास्थ्य परीक्षणमा सिन्डिकेट कायम गरेका विभिन्न ३९ स्वास्थ्य संस्थाका सञ्चालक तथा कर्मचारी छन् । पक्राउ पर्नेमा कसमस मेडिकल सेन्टर गौशाला, एभरेस्ट हेल्थ होम सर्भिस प्रालि मध्यबानेश्वर, केआर मेडिकल सेन्टर वसुन्धरा, लालुपाते मेडिकल सेन्टर गौशाला, मन्जुश्री मेडिकल सेन्टर, भ्याली पोलिक्लिनिक गोंगबु, प्रशान्ति हेल्थ केयर सेन्टर जावलाखेल, सुब्बा प्याथोलोजी कुपण्डोल, सुधा पोलिक्निक र सनराइज पोलिक्लिनिक महाराजगन्जका सञ्चालक छन् । अनमोल मेडिकल सेन्टर सिनामंगल, स्वर्णीम मेडिकल सेन्टर सुन्धारा, वेलकेयर हस्पिटल रातोपुल, कुलेश्वर पोलिक्लिनिक कुलेश्वर, पिंगलास्थानको लालुपाते पोलिक्लिनिकलगायत मेडिकल सेन्टरका सञ्चालक पनि समातिएका छन् ।
पक्राउ परेका संस्थाका सञ्चालकहरूले कामदारसँग अनधिकृत रूपमा बर्सेनि ३ अर्बभन्दा बढी शुल्क लिने गरेका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गएको बिहीबार कामदारसँग अनधिकृत रूपमा शुल्क उठाउँदै आएका संस्था खारेज गर्ने तथा शुल्क उठाउन रोक लगाउने निर्णय गरेका थिए । गृह मन्त्रालयले मन्त्री विष्टको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले अवैध असुलीमा संलग्न ४८ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूविरुद्ध ठगीको मुद्दा चलाइने प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका व्यवसायीमाथि थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएको छ ।

प्रतिक्रिया दिनुहोस्