नेकपामा तीन कार्यदल गठन «

नेकपामा तीन कार्यदल गठन

नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पहिलो सचिवालय बैठकले तल्लो तहको एकीकरणका लागि तीनवटा छुट्टाछुट्टै कार्यदल गठन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सोमबारको बैठकले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिनुका साथै कार्यदलहरु गठन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार संगठनात्मक एकीकरणको प्रक्रिया अगाडि बढाउनलाई विधानको परिपूरक हुनेगरी नियमावली निर्माण गर्न नियमावली मस्यौदा कार्यदल गठन गरिएको छ । कार्यदलमा महासचिव विष्णु पौडेल तथा नेताहरु देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा छन् ।
त्यसैगरी संगठनात्मक एकीकरणका अरु काम अघि बढाउन तथा सातै प्रदेश र प्रवासको एकीकरणको लागि सुझाव पेश गर्न पूर्वघटकका इन्चार्ज, संयोजक र सहसंयोजक रहने गरी हरेक प्रदेश र प्रवासको लागि चार–चार सदस्यीय कार्यदल गठन गरिएको छ ।
त्यस्तै, जनवर्गीय संगठनको एकीकरणका लागि सम्बन्धित जनवर्गीय संगठनका पूर्व घटकहरुको इन्चार्ज र सम्बन्धित मोर्चाको प्रमुख रहने गरी चार सदस्यीय अर्को कार्यदल गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । तीनवटै कार्यदलको समयावधि १५ दिन तोकिएको छ ।
बैठकले केन्द्रीय कार्यालय स्थान निर्धारणका लागि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जिम्मा दिने निर्णय पनि गरेको छ । अहिले साविकको एमाले कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पेरिसडाँडा दुवैलाई नेकपाको कार्यालय बनाइएको छ ।
बैठकले पार्टीको मूल वैचारिक तथा सैद्धान्तिक लाइन छिटै निर्धारण गर्ने र राजनीतिक प्रतिवेदन तथा विधान प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्