सेनाले हस्तान्तरण गर्यो मैलुङ–स्याफ्रुबेंसी सडक «

सेनाले हस्तान्तरण गर्यो मैलुङ–स्याफ्रुबेंसी सडक

नेपाली सेनाले मैलुङ–स्याफ्रुबेंसी सडक सरकारलाई हस्तान्तरण गरेको छ । जिम्मेवारी पाएको ४ वर्षमा काम सम्पन्न गरी सेनाले सरकारलाई उक्त सडक हस्तान्तरण गरेको हो । रक्षामन्त्री इश्वर पोखरेलले सोमबार सडकको उद्घाटन गरेका हुन् । २०७१ माघ ९ गते सरकारले उक्त सडक निर्माणको जिम्मा सेनालाई दिएको थियो । २०७२ वैशाख ०१ गतेबाट सेनाले उक्त सडकको निर्माणकार्य थालेको थियो । सुरुवातमा ७ किलोमिटर ‘सिंगल लेन’को सडक निर्माणको जिम्मेवारी पाएकोमा सेनाले विनासकारी भूकम्पपछि १० किमि थप गरी कुल १७ किमि डबल लेन सडक निर्माण गरेको छ । सेनाले गल्छी—त्रिशुली—मैलुङ—स्याफ्रुबेंसी—रसुवागढी सडक योजनाका प्रमुख सुबोधकुमार देवकोटालाई सडक हस्तान्तरण गरेको छ । बेत्रावती—धुन्चे—स्याफ्रुबेंसी सडक खण्डभन्दा हाल निर्माण सम्पन्न गरिएको मैलुङ—स्याफ्रुबेंसी सडक खण्डको दूरी करिब २५ किमि कम भएकाले यस सडक खण्डले गल्छीलाई रसुवागढी नाकासँग नजिक बनाउन थप सहज हुने सेनाले जनाएको छ । रसुवागढी नाका र दक्षिणमा रहेको ठोरी नाकालाई जोड्ने महत्वपूर्ण सडकको रूपमा यसलाई लिइएको सेनाले जनाएको छ । यो सडक खण्डमा घुम्ती नहुनुका साथै ग्रेडिएन्टसमेत मिलेकाले तुलानात्मक रूपमा बेत्रावती—धुन्चे—स्याफ्रुबेंसी सडक खण्डभन्दा सजिलो र सुरक्षितसमेत रहेको सेनाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्