वैदेशिक मुद्रा बहिर्गमनमा कवाडी सामान

पुनः प्रयोगमा आउने सक्ने वस्तु उत्पादन गर्ने उद्योगहरू हाम्रै मुलुकभित्र उल्लेख्य मात्रामा स्थापना हुन सकेका भए आज औद्योगिक कच्चापदार्थ आयात गर्नैका लागि बर्सेनि बर्हिगमन हुने ठूलो मात्राको विदेशी मुद्राको सञ्चित हुन गई नेपालका औद्योगिक प्रतिष्ठानहरूले फस्टाउने सुवर्ण मौका पाउने थिए होलान् । साथै, वैदेशिक मुदाको बहिर्गमनमा अवश्य पनि रोक लाग्ने नै थियो । यस प्रकारका कार्यहरूलाई वास्तवमा निरन्तरता दिने हो भने पनि आज मुलुकमा देखा परेको भारतीय सरकारबाट गरिएको भारुको अमौद्रीकरणको अवस्थाले नेपालमा पनि उक्त भारु सटही सुविधा प्राप्त गर्न नसकी सिर्जित समस्याहरूबाट पार पाउनुका साथै अमेरिकी डलरको सञ्चित घट्न गई विदेशबाट करिब १ करोड डलर नेपाल राष्ट्र बैंकले भित्र्याउनुपर्ने समस्यालाई केही हदसम्म भए पनि कम गर्न अवश्य पनि महत्वपूर्ण भूमिका खेल्ने नै थियो होला । तर, यसलाई विडम्बना नै भन्नुपर्ने हुन्छ, स–साना मात्रामा गरिने यस्ता कार्यहरूलाई निरुत्साहित पार्ने कार्यमा हामीले कहिल्यै चनाखो भई हेक्का राख्नेसम्म प्रयत्न गरेको भने पक्कै पनि देखिएन ।
यदि कवाडी सामानहरू मात्र अन्य मुलुकमा निर्यात गर्ने प्रवृत्तिलाई निरुत्साहित पार्दै पुनः प्रयोगमा आउन सक्ने ती सामानबाट त्यस्ता पुनः प्रयोगमा आउन सक्ने वस्तु उत्पादन गर्ने उद्योगहरूको संख्यामा वृद्धि गर्न सकेको खण्डमा करोडांैको वैदेशिक मुद्रा बाहिरिने क्रममा ¥हास आउने थियो । यसका साथै, हेर्दा सामान्य लाग्ने धेरै सरोकारवालाको प्रत्यक्ष ध्यानसमेत सहज रूपमा नपुग्ने यस्ता प्रकारका गतिविधिहरूलाई निस्तेज पार्न सकेको खण्डमा आज मुलुकको मूल समस्याका रूपमा रहेको बेरोजगारी समस्या हल गर्नुका साथै धेरैभन्दा धेरै नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्न पनि यस्ता कार्यहरू सहायक भई आउने कुरामा हामीहरू कसैले पनि अन्यथा लिन हुँदैन । किनभने यस्ता प्रकारका औद्योगिक कच्चापदार्थ उत्पादन गर्ने उत्पादनमूलक उद्योगको स्थापनाले पक्कै पनि रोजगारीको नयाँ सम्भावनाको ढोका खोल्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।
यसका अतिरिक्त नेपाल सरकारले अख्तियार गरेको स्वदेशी उद्योग तथा स्वदेशी वस्तुहरूलाई संरक्षण तथा प्रवद्र्धन गर्नमा महत्वपूर्ण योगदान गर्न सकिन्छ । यी गतिविधिले अवश्य पनि एक्काइसांै शताब्दीको आधुनिक नेपाल निर्माण गर्नमा अहम् भूमिका खेल्ने नै छन् । एवं प्रकारले नेपालको बहुसंख्यक क्षेत्रमा कायम रहेको आयातमुखी अर्थव्यवस्थालाई प्रतिस्थापन गर्दै सोको बदलामा निर्यातमुखी अर्थव्यस्थालाई कायम राख्न उत्पादनमूलक उद्योगहरूलाई विशेष सुविधा प्रदान गर्ने हो भने नेपालमा हाल कायम रहेका उत्पादनमूलक उद्योगहरूले पर्याप्त प्रगति गर्ने नै छन् । यस्ता गतिविधिहरूले निःसन्देह नेपाली अर्थव्यवस्थामा सुधारका संकेत अवश्य देखिने हुँदा सुषुप्त अवस्थामा कायम रहेको यस्ता प्रकारका कवाडी सामानहरूको वैदेशिक निर्यात गर्न अविलम्ब रोक्नका लागि सरोकारवाला सम्बद्ध सबै पक्षको ध्यान जानु निकै सान्दर्भिक देखिन्छ । किनकि यदि यस्ता प्रकारका गतिविधि बढ्न गएको खण्डमा एकातिर औद्योगिक कच्चा पदार्थहरूको अभाव खड्किरहने देखिन्छ भने अर्कातिर उत्पादन मूलक उद्योगहरूको स्थिति कच्चापदार्थको अभावमा खस्किन जाने प्रबल सम्भावनाहरू रहन्छन् ।
—प्रदीप उप्रेती