औद्योगिक क्षेत्रका लागि जग्गाको खोजी

प्रदेश सरकारले भानु नगरपालिकामा औद्योगिक क्षेत्र स्थापना गर्न जग्गा खोजी सुरु गरेको छ । प्रदेश नम्बर ४ को राजधानी पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा विकास गर्ने सरकारको तयारी भएपछि त्यहाँका केही उद्योग जिल्ला स्तरमा सार्ने तयारी गरिएको छ ।
औद्योगिक क्षेत्र स्थापनामा लागि प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले तनहुँको भानु नगरपालिका–३ मा रहेको जग्गा अवलोकन गरेका छन् । आगामी आर्थिक वर्षभित्रै औद्योगिक क्षेत्र स्थापनाका लागि स्थान चयन गरिसक्ने सरकारको तयारी छ । सरकारले प्रदेश अन्तरगतका सबै स्थानीय तहमा औद्योगिक क्षेत्र बनाउने तयारी थालेको मन्त्री लम्सालले जानकारी दिए । “यही आर्थिक वर्षमा १० वटा स्थानीय तहमा औद्योगिक क्षेत्र निर्माण गर्ने काम अगाडि बढाएको छ,” उनले भने ।
औद्योगिक क्षेत्रको लागि तनहुँको भानु नगरपालिका उपयुक्त रहेको मन्त्री लम्सालले बताए । पृथ्वीराजमार्गको नजिक, संघीय राजधानी काठमाडौँ, ठूलो सहर चितवनबाट पनि नजिक रहेकाले भानु उपयुक्त स्थल हुने उनले बताए ।
औद्योगिक क्षेत्र तथा ग्राम निर्माण गर्ने अधिकार स्थानीय सरकारसँग भएको उल्लेख गर्दै मन्त्री लम्सालले स्थान छनोट गरी प्रदेश सरकारलाई जानकारी गराउन आग्रह गरे । स्थानीय तहबाट जग्गा छनोट भई आएमा औद्योगिक क्षेत्रका लागि आवश्यक सडक, पुल, विद्युत्, पानी सरकारले व्यवस्था गर्ने उनले जानकारी दिए ।
प्रदेश सांसद रामबहादुर गुरुङले युवाहरूलाई रोजगारी र देशको आर्थिक समृद्धिका लागि तनहुँमा औद्योगिक क्षेत्र निर्माण गर्नु जरुरी रहेको र त्यसको लागि आफूले समेत पहल गर्ने बताए । भानु नगरपालिकाका मेयर उदयराज गौलीले भानु नगरपालिका–३ नम्बर वडामा करिब एक हजार रोपनी सार्वजनिक जग्गा रहेको र बस्ती पनि पातलो भएको हुँदा औद्योगिक क्षेत्रका लागि उपयुक्त हुने बताए ।