Logo

नीति तथा कार्यक्रम आज

सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सोमबार संसदमा पेश गर्दैछ । वाम गठबन्धनले बहुमत प्राप्त गरेपछि संसदमा झन्डै तीन चौथाई समर्थनसहित गठन भएको केपी ओपी ओली नेतृत्वको सरकारले पहिलोपटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । वाम गठबन्धनको संयुक्त घोषणपत्रमा विकास र समृद्धिका असीमित सपना बाँडिएकाले सरकारको नीति तथा कार्यक्रम र बजेट कस्तो हुन्छ भन्नेमा सर्वसाधारणको चासो छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकतासमेत भएकाले नीति तथा कार्यक्रमप्रति झन चासो छ ।
नीति तथा कार्यक्रममा के कस्ता विषय समेटिएका छन् भन्ने बारेमा अर्थ मन्त्रालयका अधिकारीहरू समेत अनभिज्ञ छन् । चुनावका बेलाको बाम गठबन्धनको घोषणापत्र कसरी समेटिन्छन् तथा परम्परागत प्रणालीभन्दा माथि उठेर अर्थमन्त्री डा. युवराज खतिवडाले भन्ने गरेझैं उत्पादकत्व बढाउने कस्ता नीति रहन्छन् भन्ने चासोको विषय रहेको छ ।
संघीय संसदका दुवै सदनमा दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा जलमार्ग, रेलमार्ग एवं केही ठूला आयोजना प्राथमिकतामा रहेको स्रोतले बताएको छ । समृद्धि र विकासको नारा दिएर चुनावमा करिब करिब वहुमत ल्याएको वर्तमान वाम सरकारले सोमबार नीति तथा कार्यक्रममा भौतिक पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकतामा राखिएको छ । निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्ने, करको दायरालाई फराकिलो बनाउने, निजी क्षेत्रको आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने तथा विदेशी लगानी भित्राउने सवालमा ठूला आयोजनालाई प्राथमिकतामा पार्ने गरि नीीत तथा कार्यक्रम आउने स्रोतले जनाएको छ ।
वाम एकता भएसँगै स्थिर सरकारको बाचा पूरा भएकोले पनि वर्तमान नेपाल कम्युनिस्ट पार्टीको सरकारलाई आफुले चाहेका तर दूरगामी असर पार्ने कार्यक्रम ल्याउन सहज भएको बताउने अर्थ स्रोतका अनुसार चुनावका लागि पूर्वएमाले र पूर्वमाओवादी केन्द्रले तयार पारेको संयुक्त घोषणापत्रको खण्ड ६ मा परेका ‘समृद्धिका कार्यक्रमहरू’ अनुरुप नै नीति तथा कार्यक्रम आउने छ ।
सोमबार ४ बजे संघीय संसदमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रमहरू पढेपछि त्यसको आधारमा जेठ १५ गते बजेट पनि आउनेछ ।

 

प्रतिक्रिया दिनुहोस्