Logo

त्रिभुवन विमानस्थल आजदेखि २१ घन्टा

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसोको समय हुने अत्यधिक उडान चापलाई कम गर्न सोमबार (आज)बाट २१ घन्टा सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको विशेष पहलमा त्रिभुवन विमानस्थल २१ घन्टा सञ्चालनमा आउन लागेको हो ।
हाल १८ घन्टा सञ्चालनमा रहेको विमानस्थल अब ३ घन्टा थप गरेर २१ घन्टा पु¥याउन लागिएको हो । पर्यटनमन्त्रीमा बहाल भएकै दिन २४ घन्टा चलाउने घोषणा गरिए पनि तत्कालका लागि २१ घन्टामात्र सञ्चालन गर्न लागिएको मन्त्री अधिकारीले बताउँदै आएका छन् ।
“विमानस्थल अहिले विहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुँदै आएकोमा अब भने विहान ३ बजेसम्मै सञ्चालन हुनेछ,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने । अहिले सवै तयारी पूरा भएकोले विमानस्थल २१ घन्टासम्म चल्ने क्षेत्रीले बताए ।
तीन सिफ्टमै विमानस्थल सञ्चालन गर्ने र तेस्रो सिफ्टका कर्मचारीहरूले नै थप तीन घन्टा चलाउने क्षेत्रीले जानकारी दिए । “हाल ६६ जना एयर ट्राफिक कन्ट्रोलर रहेका छन्, अहिले ८ जना थपेका छौं र केही दिनमा अन्य पनि थपिने छन्,” क्षेत्रीले भने ।
रातिमा काम गर्ने सबैलाई भत्ता र ओभरटाइमको व्यवस्था गर्ने क्षेत्रीले जानकारी दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिले रातिमा खट्ने कर्मचारीहरूलाई डेढ गुणा भत्ता दिने निर्णय आइतबार गरेको छ ।
एटीसी नथपिए समस्या !
एयर ट्राफिक कन्ट्रोलर एसोसिएसनले भने थप जनशक्ति पूर्ति नभए सञ्चालनमा समस्या हुने जनाएको छ । एसोसिएसनका अध्यक्ष उमेश पन्थीले एक सिफ्टमा कम्तीमा २२ देखि २५ जना आवश्यक पर्नेमा अहिले पनि रातिमा १० जनाले काम गर्नुपर्ने अवस्था रहेको बताए । २१ घन्टा सञ्चालन गर्नु सकारात्मक भए पनि आफूहरूलाई पेलेरै जान खोजे मान्य नहुने पन्थीले चेतावनी दिए । “हामीले केही सुविधा र जनशक्ति थप तथा अन्य सेडुअल स्टल मिलाउन माग गरेका छौं, तर सुनुवाई भएको छैन,” पन्थीले भने । सरकारले विमानस्थल सुधारमा पनि चासो दिन नसक्नु राम्रो नभएको उनको भनाइ छ । “आज विमानस्थल समयमा सुधार गर्न सकेको भए २४ घन्टानै चल्ने थियो,” पन्थीले भने । विमानस्थलमा अहिले पनि विहान ८ देखि ११ र ४ देखि ७ बजेसम्म चाप भए पनि अन्य समयमा खाली नै हुँदासमेत सेडुअल नमिलाएको आरोप पन्थीको छ ।

६ महिना रातिमा बिजनेसविहीन
अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा चलाउने भनिए पनि सो थप ३ घन्टामा भने एयरलाइन्सहरूले तत्काल उडान गर्ने सम्भावना भने छैन । विमानस्थलले एयरलाइन्स कम्पनीलाई समर सिजनका लागि सेड्युअल दिइसकेकोले अहिले थप भएको समयमा विमानस्थल बिजनेसविहीन हुने देखिएको हो । विमानस्थलका अधिकारीहरूका अनुसार उडानमा ढिलाइ गर्ने एयरलाइन्स कम्पनीहरूलाई मात्रै अहिलेको निर्णयले फाइदा हुनेछ । अर्को सिजनबाट लागू गर्नुपर्नेमा लोकप्रियताका लागि हतार गरिएको एयर ट्राफिक कन्ट्रोलर एसोसिएसनका अध्यक्ष उमेश पन्थी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्