कलेज पढ्दै काँचो मःमको व्यवसाय «

कलेज पढ्दै काँचो मःमको व्यवसाय

फरक व्यवसाय गर्न सके आर्थिक उपार्जनका लागि विदेशिन नपर्ने रहेछ भन्ने उदाहरण बनेका छन्– झापा भद्रपुर–६ का सन्देश रिजाल । झापा भद्रपुर–६ का सन्देश रिजालले काँचो मःम बनाएर उल्लेख्य आम्दानी गर्न सफल भएका छन् ।
कन्काइ क्याम्पस बिर्तामोडमा बीए पढ्दापढ्दै २०७२ साउनमा फर्म दर्ता गरेर व्यवसाय सुरु गरेका रिजालले अहिले १२ जनालाई रोजगार दिएका छन् भने उनको फर्ममा दैनिक ३० हजार रुपैयाँको कारोबार हुने गरेको छ । झापाको कन्काइ कलेज बिर्तामोडमा व्यवस्थापनतर्फ मास्टर्स पहिलो सेमेस्टरका विद्यार्थीसमेत रहेका रिजालले बिर्तामोडस्थित कन्काइ क्याम्पसको नजिकै खोलेको उरी मःम फर्मले उनलाई स्वरोजगारमात्र बनाएन, अरुलाई समेत प्रेरणा दिएको छ । उनको मःम फर्म अहिले बिर्तामोडको मात्र होइन, झापाकै लोकप्रिय फर्मको रुपमा चिनिएको छ ।
बिर्तामोडसहित झापाका विभिन्न बजारमा काँचो मःम बनाएर बिक्री गर्छन् रिजाल । फाष्टफुडका लागि लोकप्रिय बनेको मःम अहिले उनको आम्दानीको मुख्य स्रोत हो । १२ जनालाई रोजगारी दिएर पनि उनले मासिक ३० हजार भन्दामाथि बचत गर्न सफल भएका छन् । होटल तथा खाजाघरमा बिक्री हुने सबैजसो मःम उनकै फर्मबाट जाने गरेको छ । उनको फर्ममा उत्पादन गरेको काँचो मःम बढी मात्रामा पर्यटकीय स्थलमा जाने गरेको छ । यसका अलावा बिर्तामोडका विभिन्न स्कुलले काँचो मःम लाने गरेको उनको भनाइ छ । काठमाडौं घुम्दै गर्दा काँचो मःम बिक्री गरेको देखेर त्यसैलाई नक्कल गर्दै झापामा यो व्यवसाय सुरु गरेका रिजालले बताए । अहिले आफू स्वरोजगार बनेर अरुलाई पनि आय–आर्जनको बाटोमा लगाउन पाउँदा गर्ब लाग्ने उनी बताउँछन् ।
रिजालले सञ्चालन गरेको उरी मःम फर्ममा सात युवा र पाँच युवतीले रोजगार पाएका छन् । उनकोमा तयार पारिएको मःम सुरुंगाका सेल्फी डाँडा, जामुनखाडी, अर्जुनधाराको फन वल्र्ड, सालबारी लगायतका पर्यटकीय स्थलमा जाने गरेको छ भने सुरुङ्गाको प्यारागन स्कूल, बिर्तामोडको बुद्ध स्मृतिसहित नाम चलेका स्कुल तथा कलेजमा समेत आउने गरेको छ ।
बिर्तामोडका अधिकांश होटलले उनले तयार पारेका काँचो मःम ल्याउने गरेका छन् । उनको फर्ममा अहिले दैनिक कम्तीमा १ हजार प्लेट मःम तयार हुने गरेको छ । प्रतिप्लेट २८ रुपैयाँमा मःम बिक्री हुने गरेको र बिर्तामोड क्षेत्रभित्र उनले निःशुल्क होम डेलिभरी गर्ने गरेका छन् । बिर्तामोडभन्दा बाहिर प्रतिप्लेट दुई रुपैयाँ सर्भिस चार्ज जोड्ने गरिएको छ ।
पूर्वमा धुलाबारी, दक्षिणमा भद्रपुर, पश्चिममा सुरुंगा, उत्तरमा शनिश्चरेका अधिकांश होटलले उनले तयार पारेको मःम लाने गरेका छन् । दैनिक ५० देखि ७५ केजीसम्म पिठोबाट उनले मःमः तयार पार्छन् । तीन लाख रुपैयाँबाट यो व्यवसाय सुरु गरेका उनले अहिले मनग्य आम्दानी गरेको देखेपछि यो व्यवसायमा उनकै साथीहरूको समेत झुकाव बढेको उनको भनाइ छ । व्यवसाय फष्टाउँदै गएपछि उनले पिठो मुछ्ने मेसिनदेखि किमा तयार पार्ने मेसिन समेत राखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्