तरकारीबाटै आत्मनिर्भर किसान बस्ती «

तरकारीबाटै आत्मनिर्भर किसान बस्ती

जुम्लाको तिला गाउँपालिका–३ कुडारीका ४२ वर्षीय कर्णबहादुर हमालको दैनिकी तरकारी खेतीमै बित्ने गरेको छ । बिहान उठ्ने बित्तिकै तरकारी बारीमा जान्छन् । दिनभर तरकारी गोडमेल, बिक्री वितरण गर्दै थाकेका उनी साँझ निदाउँदा पनि तरकारी बारीमै काम गरिरहेको सपना देख्ने गरेको बताउँछन् ।
केही वर्षअघिसम्म घरमै खानको लागि मात्र तरकारी उत्पादन गर्ने गरेका कृषक हमालले विगत ३ वर्षयता भने तरकारी खेतीलाई व्यवसायका रूपमा विकास गरेका छन् । उनले आफ्नो मुख्य आयआर्जनको स्रोत पनि तरकारी खेतीलाई नै बनाएका छन् । गाउँमै तरकारी व्यवसाय गरेर दिनचर्या बिताउने उनी अहिले समाजको एक उदाहरण कृषक बन्न सफल भएका छन् । “मेहनत गरे गाउँकै माटोमा पैसा फल्ने रहेछ, पैसाको खोजीमा कसैले विदेश भौंतारिनु पर्दैन,” उनले भने, “जुम्लाकै माटोमा पसिना बगाए सुन फलाउन सकिन्छ ।”
तरकारी उत्पादन तथा बिक्री गर्दै आएका उनले अहिले तरकारीबाट भएको आम्दानीले सहजै परिवारको पालनपोषण गरेका छन् । उनले ५ रोपनी जग्गामा तरकारी खेती गरेका छन् । तरकारी बेचेरै वार्षिक ३ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको उनले बताए । जुम्लामा हिउँद सिजन चिसोका कारण तरकारी उत्पादन नहुने भएकाले हिउँदमा पोलिहाउस भित्र र वर्षामा बाहिरी जग्गामा तरकारी उत्पादन गरी कृषक हमालले बाहै्रमास गाउँमा तरकारी फलाइरहेका छन् ।
जिल्लाका प्रमुख बजारमा तरकारीको माग बढेपछि १५ रोपनी जग्गा भाडामा लिएर उनले तरकारी उत्पादन गर्ने तयारी गरेका छन् । उनले उत्पादन गर्ने काउली, आलु, गाँजर, प्याज, काँक्रा, गोलभेंडा, फर्सीलगायतका तरकारी जिल्लाका प्रमुख बजार नाग्मघाट कालिकोट, कुडारी, तातोपानी, रारालिहीलगायत सदरमुकाममा खपत हुने गरेको छ ।
कृषक हमाल एक प्रतिनिधि पात्र मात्रै हुन् । कुडारीमा रहेका झन्डै १५ घरधुरीले व्यावसायिक तरकारी खेतीबाटै मनग्य आम्दानी गर्दै आएका छन् । कसैले च्याउ खेती त कसैले केशर खेती गरिरहेका छन् । कुडारी ३ नम्बर वडाको बस्ती तरकारीमय बस्ती बन्न पुगेको स्थानीय कृषक देवीकन्या भट्टराईले बताइन् । “यहाँका किसान विदेशबाट फर्किनेहरूका लागि प्रेरणाका स्रोत बनेका छन्,” उनले भनिन् । उनले मात्रै आफ्नो तरकारी बारीमा काम गर्न २ जनालाई रोजगारी दिएकी छन् । यहाँका अधिकांश किसान अन्य खेतीभन्दा तरकारी खेतीमै आश्रित छन् ।
विकास परियोजनाअन्तर्गत प्राक्टिकल एक्सनले तरकारी खेतीका लागि सहयोग गरेपछि किसानहरू यसतर्फ आकर्षित भएका हुन् । “गैरसरकारी संस्थाको सहयोग र सीपले जीवनको आर्थिक पाटो फेरिएको छ,” स्थानीय किसान परान धरालले भने, “व्यवसाय सुरु गर्न ठूलो रकम नहुँदा पाएको सहयोग सदुपयोग गरेर राम्रो आम्दानी गरिरहेका छौं ।”
उनले व्यवसाय सुरु गर्दा सेडा नेपालद्वारा सञ्चालित विकास परियोजनाले पोलिहाउस र तरकारीको बीउविजन, सिँचाइ सामग्रीलगायतका सहयोग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्