Logo

जनअपेक्षा अधूरै

करिब दुई दशकपछि जनप्रतिनिधि पाएर खुसी भएक नेपाली जनता जनप्रतिनिधिले १ वर्ष बित्दा पनि जनअपेक्षाअनुरुप काम गर्न नसक्दा निराश बनेका छन् ।
चुनावको बेला चर्को चुनावी नारा लिएर चुनावी मैदानमा उत्रेका जनप्रतिनिधिले विभिन्न नियम कानुन बाधक भएपछि जनअपेक्षा पूरा गर्न नसकेका हुन् । ढिलासुस्ती, कामचोर कर्मचारीतन्त्रबाट आजित जनताले जनप्रतिनिधिबाट पनि अपेक्षा अनुरुप कार्य हुन नसकेपछि एक नगरपालिका र सात गाँउपालिका रहेको पाँचथरका जनता निराश बनेका छन् ।
करिब १ वर्षसम्म धेरै जनप्रतिनिधि विभिन्न कार्यक्रम उद्घाटन र विभिन्न संघसंस्थाले आयोजना गर्ने सम्मान कार्यक्रममा अबिर लगाउँदै र अतिथिको भूमिकामा बिताए । साना र टुक्रे योजनामा रुमलिँदै १ वर्ष बिताएका जनप्रतिनिधिले अहिले नियम र कानुनले काम गर्न नदिएको भन्दै टार्ने गरेका छन् । जनप्रतिनिधिको भूमिका प्रभावकारी हुन नसक्दा ढिलासुस्ती र कर्मचारीतन्त्रबाट सेवाग्राही आजित हुनु परेको छ । मिक्लाजुङ गाँउपालिका–३ का युवा रबिन फियाकले जनप्रतिनिधि पनि सेवाग्राहीमैत्री हुन नसक्दा फरक महसुस गर्न नसकेको बताए । “अब हामीले जिताएर पठाएको मान्छेबाट सजिलै काम हुन्छ होला भनेको तर पहिलेको कर्मचारीतन्त्र अझै सकिएको रहेनछ,” फियाकले दुःखेसो पोख्दै भने
जनअपेक्षा बढी भएको र त्यसलाई पूरा गर्न समय लाग्ने जनप्रतिनिधिहरूले बताउने गरेका छन् । विभिन्न ऐन र नियमावली निर्माण गर्न समय लागेकाले अपेक्षा अनुरुप कार्य गर्न ढिला भएको मिक्लाजुङ गाउँपालिकाका प्रमुख अमरराज माखिमले बताए । पहिलो वर्ष भएकाले पनि निर्णय प्रक्रियामा ढिला भएको माखिमको भनाइ छ । यो वर्ष नीतिनियम र निर्देशिका बनाउन केही समय लाग्यो अबको समय समृद्धि र विकासमै केन्द्रित हुने उनको भनाइ छ ।
जनप्रतिधिबाट जनताले धेरै अपेक्षा राख्ने गरेकाले पनि ती सबै अपेक्षा पूरा गर्न नसकिएको र पूरा गर्न केही समय लाग्ने मिक्लाजुङ गाउँपालिका–२ का वडाध्यक्ष सन्तोष शेर्माले बताए ।

बक्समा
जिसस प्रमुख नै भूमिकाविहीन
विकास निर्माणको सम्पूर्ण अधिकार स्थानीय तहमा गएकाले जिल्ला समन्वय समितिका प्रमुख र पदाधिकारी भूमिकाविहीन बन्न पुगेका छन् । उनीहरूलाई अहिले विभिन्न संघसंस्थाले आयोजना गर्ने कार्यक्रमको प्रमुख अतिथिको भूमिकामा भेट्ने गरिएको छ ।
सदरमुकामा विभिन्न एनजीओ, आईएनजीओ र विभिन्न क्लब तथा समूहले आयोजना गर्ने कार्यक्रममा प्रायः जिल्ला समन्यय समितिका पाँचथरका प्रमुख विष्णु सापकोटा पुग्ने गरेका छन् । गाउँगाउँमा हुने फुटबल प्रतियोगितादेखि विभिन्न सांस्कृतिक, धार्मिक कार्यक्रमामा सक्रियताका साथ उनको उपस्थिति देखिन्छ ।
स्थानीय तह आफंैले योजना बनाउने र अनुगमन गर्ने हुँदा पनि समन्वय समितिका पदाधिकारी भूमिकाविहीन बन्न पुगेका हुन् । समन्वय समितिमा आउनुभन्दा अगाडि सक्रिय राजनीतिमा रहेका पदाधिकारी अहिले भूमिकाविहीन हुनु पर्दा आफ्नो पद निल्नु न ओकल्नु भएको समन्वय समिति पाँचथरका एक सदस्यले बताए ।

 –दिपक बोहोरा 

प्रतिक्रिया दिनुहोस्