जग्गामा महिलाको पहुँच वृद्धि «

जग्गामा महिलाको पहुँच वृद्धि

काभ्रेमा महिलाका नाममा जग्गा पास गर्नेको संख्या बढ्दै गएसँगै राजस्व संकलनमा पनि वृद्धि भएको छ । सरकारले महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुटको व्यवस्था गरी दिएकाले जग्गामा महिलाको पहुँच बढ्दै गएको हो ।
मालपोत कार्यालय काभ्रेको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/७३ को तुलनामा आव ०७३/७४ मा जग्गामा महिलाको स्वामित्व ३८ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष ०७२/७३ मा महिलाको नाममा जग्गा पास गर्नेको संख्या ४ हजार ६ सय २८ थियो भने आव ०७३/७४ मा १ हजार ७ सय ६५ संख्या वृद्धि भई ६ हजार ३ सय ९३ महिलाको नाममा जग्गा पास भएको कार्यालयले जनाएको छ ।
मालपोत कार्यालय काभ्रेले आव ०७३/७४ मा घरजग्गा रजिस्ट्रेसन दस्तुरबाट ३४ करोड ३९ लाख ८५ हजार १ सय ३० रुपैयाँ राजस्व संकलन गरेको थियो । जसमध्येको राजस्व १२ करोड ८५ लाख १ हजार ५ सय ३८ रुपैयाँ महिलाको नाममा पास भएका जग्गाबाट संकलन भएको थियो । त्यस्तै महिलाका नाममा पास भएका जग्गाबाट सरकारले दिएको २५ प्रतिशत छुटबाट कार्यालयले ४ करोड २८ लाख ३२ हजार ८ सय ४६ रुपैयाँ संकलन गरेको कार्यालयले जानकारी दिएको छ । जमिनमा महिलाको पहुँच वृद्धि गर्न सरकारले महिलाका लागि २५ प्रतिशत छुटको व्यवस्था गरेकाले जग्गामा महिलाको पहुँच बढ्दै जानुको साथै राजस्व संकलनमा पनि वृद्धि भएको मालपोत कार्यालय काभ्रेका लेखापाल चतुरबुज तिमिल्सनाले बताए । “मालपोतमा सकंलन भएको राजस्वको एक तिहाइ महिलाको नाममा पास भएको जग्गाबाट नै हुने गरेको छ,” उनले भने ।
सरकारले महिलाको नाममा रजिस्ट्रेसन गरेको जग्गा ३ वर्षसम्म बिक्री गर्न नपाउने कानुनी व्यवस्था गरेको थियो । गत वर्षबाट सरकारले उक्त व्यवस्था खारेज गरेको छ । अब महिलाको नाममा रजिस्ट्रेसन भएको जग्गा सजिलै किनबेच गर्न मिल्ने भएकाले नै अहिले जमिनमा महिलाको स्वामित्व बढ्दै गएको मालपोत कार्यालयका मालपोत अधिकृत जयन्तकुमार भट्टराईले बताए ।
जग्गामा महिलाको पहुँच बढी देखिए पनि महिलाहरू आर्थिक रूपमा अझै सशक्त हुन भने नसकेको काभ्रेकी कानुन व्यवसायी एवम् महिला अधिकारकर्मी कृष्णप्यारी नकर्मीले बताइन् । “महिलाको नाममा जगा पास गर्नेको संख्या वृद्धि भन्ने तथ्यांकमा मात्र सिमित छ,” उनले भनिन् । महिलाहरू आर्थिक रुपमा अझै सशक्त हुन सकेका छैन । सरकारले रजिस्ट्रेसन शुल्कमा छुट गरिदिएकाले मात्र महिलाको जमिनमा पहुँच बढि देखिएकोे हो । महिलालाई आर्थिक रुपमा सशक्त बनाउन जनचेतनाको आवश्यक अझैँ देखिने सरोकारवालाहरू बताउँछन् ।
कपिल कोइराला

प्रतिक्रिया दिनुहोस्