अपांगले ल्याए मसला उद्योग सञ्चालनमा «

अपांगले ल्याए मसला उद्योग सञ्चालनमा

कञ्चनपुरको बेतकोट नगरपालीका ७ धरमपुरमा सुदूरपश्चिम मसाला उद्योग सञ्चालनमा आएको छ । कञ्चनपुरको बेतकोट नगरपालिका–७ ध्वजपुरका ३१ वर्षीय पुरनसिंह धामीले उद्योग सञ्चालनमा ल्याएका हुन् । करिब डेढ दशक भारतमा मजदुरी गर्दै आएका उनी भारतको दिल्लीमा मोटरसाइकल दुर्घटनामा परी घाइते हुन पुगे । स्वदेशमै रोजगारी गर्ने उद्देश्यले करिब २० लाख लगानीमा सुदूरपश्चिम मसला उद्योग सञ्चालनमा ल्याएका छन ।
भारतमा मजदुरी गरेर घर खर्च चलाई राखेका धामीे सडक दुर्घटनामा परी अपांगता जीवन बिताउनुपरेको पीडालाई भुलेर अहिले गाउँमै विभिन्न प्रकारका मसलाहरू उत्पादन गर्ने ‘सुदूरपश्चिम मसला उद्योग’ सञ्चालनमा ल्याएको जानकारी दिए । “डेढ दशक भारतमा मजदुरी गरेबापत अपांगता जीवन बिताउनुपर्ने बाध्यता आइलाग्यो ।” उनले दुखेसो पोखे, “अपांग भए पनि हरेश नखाएर परिवारको खर्च टार्न ऋण लिएरै भए पनि उद्योग सञ्चालनमा ल्याएको छु ।”
नयाँ वर्षसँगै नयाँ सोचका साथ प्रदेश नं. ७ का सबै जिल्लामा बजार विस्तार गर्ने योजनासहित उद्योग सञ्चालनमा ल्याएका धामीले बजारमा भारतीय मसलाहरूको प्रभाव रहेकाले बजारकोे समस्या देखिएको बताए । “भारतबाट मिसावटका मसालाहरूले यहाँको बजार प्रभावित गरेको छ ।” उनले भने “व्यापारी तथा उपभोक्ताहरूले पनि गुणस्तरको स्वदेशी मसलाहरूलाई उपभोग गर्नुपर्छ ।”
शारीरिक रूपमा अशक्त धामीले बैंकबाट ऋण लिएर उद्योग सञ्चालनमा ल्याएको बताए । “अरूको देशमा कति दुःख गर्ने आफ्नै देशमा केही गरौ भन्ने उद्देश्यले उद्योग चलाएको हुँ ।” उनले भने, “अशक्त भएका उद्योगी व्यवसायीहरूलाई सरकारले प्रोत्साहन गर्ने प्याकेजहरू ल्याउनुपर्छ ।” आफू अशक्त हुँदा शारीरिक रूपले उद्योगमा काम गर्न असहज हुँदा पनि नियमित काम गरिरहेको बताए । भारतमा रोजगार गर्दा उद्योगको अनुभव रहेको सुनाउँदै उहाँले मसलाहरूले बजार पाउनेमा आफू आशावादी रहेको बताए ।
धामीले सञ्चालनमा ल्याएको सुदूरपश्चिम मसला उद्योगबाट हल्दी, खुर्सानी, जिरा धनियाँ, मिट मसाला, सब्जी मसाला,ग्रम मसाला, चिकन मसाला, काली मिर्च, चिया मसाला, राइता एन्ड लस्सि मसाला, मिक्स मसालाहरू उत्पादन भइरहेका छन् । “भारतीय मसालाहरू सस्तो मूल्यमा पाइन्छन् भन्ने भ्रम उपभोक्ताहरूमा छ ।” दिल्लीमा समेत मसला उद्योगमा काम गरेका धामीले “स्थानीय उत्पादन गुणस्तरका हिसावले निकै उपयुक्त भएको बताउँदै स्वाथ्यका लागि पनि फाइदा जनक भएको बताए ।” मसाला उत्पादनको लागि सुदूरपश्चिमका पहाडी जिल्लाहरू दार्चुला, बैतडी, डडेलधुराबाट कच्चा पदार्थ ल्याएर उत्पादन थालिएको छ ।
उद्योग सञ्चालनका दातृ एवं सरकारी निकायबाट कुनै सहयोग नपाएको बताउँदै धामीले आयमूलक काममा लाग्नेहरूलाई प्रोत्साहन स्वरूप विभिन्न सिपमूलक तालिम÷प्रशिक्षणसमेत दिनुपर्नेमा जोड दिए ।

 –महादेव अवस्थी

प्रतिक्रिया दिनुहोस्