नमुना काम गर्दै आमा समूह «

नमुना काम गर्दै आमा समूह

ग्रामीण क्षेत्रका महिला आमा समूहमार्फत विकास निर्माण र विकृति न्यूनीकरणमा अग्रसर भएका छन् । जुवातास, मदिरा, घरेलु हिंसा न्यूनीकरणका लागि आमा समूहमा संगठित भएका महिलाले गाउँबस्तीको विकास निर्माणमा समेत सघाएका छन् ।
धौलागिरि गाउँपालिका–६ मराङको कुम्रीमा महिलाहरूले नाचगान गरेर जुटाएको नगद परिचालन गरेर सामुदायिक भवन निर्माण गरेका छन् । प्रगतिशील आमा समूहमा आबद्ध महिलाले ३० लाख रुपैयाँको लागतमा तीन कोठे भवन निर्माण गरेका हुन् । प्रवासबाट गाउँमा आएका लाहुरेलाई स्वागत, विवाह, छेवार, व्रतबन्धको अवसरमा नाचगान गरेर जुटाएको नगद परिचालन गरेर भवन निर्माण गरेका हुन् ।
समूहको कोषबाट १० लाख ८२ हजार ३२१, गाउँपालिका, वडा, जिल्ला समन्वय समिति, सांसद विकास कोष र प्रवासीको नौ लाख ७६ हजार २५ आर्थिक सहयोग रहेको भवन निर्माणका लागि ४५ घरधुरीले ३० दिनका दरले नौ लाख ५० हजार रुपैयाँ बराबरको श्रमदान गरेका समूहकी सचिव टकमती पुनले बताइन् ।
भवन परिसर घेराबारका लागि चालू आवमा गाउँपालिकाले तीन लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको थियो । सार्वजनिक शौचालयसमेत निर्माण भएको छ । यसैगरी प्रवासमा रहेका मराङका बासिन्दाले तीन लाख २६ हजार २५ रुपैयाँ सहयोग गरेका छन् । आमा समूहले मराङमा प्रवासबाट गाउँमा आएका लाहुरेहरूलाई सांस्कृतिक कार्यक्रम गरेर स्वागत गर्छन् । यसैगरी विवाह, छेवार, व्रतबन्धमा परम्परागत खेली गीत, पुख्र्याैली नाच र भजन किर्तन गर्छन् । गाउँमा कसैको मृत्यु भएमा किरियामा आमा समूहले सघाउँछन् । भोज भतेरका लागि भाँडा भाडामा लगाउँछन् ।
आमा समूहले भवनको दुईवटा कोठा वडा कार्यालय सञ्चालनका लागि उपलब्ध गराएका छन् । मराङका महिलाहरू संस्कृति संरक्षण, विकास निर्माण र विकृति न्यूनीकरणमा नमुना काम गरेका धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए । सामुदायिक भवन निर्माणका लागि वि.सं २०६८ मा स्थापना भएको समूहले एक लाख ५० हजार रुपैयाँमा डेढ रोपनी जग्गा खरिद गरेका थिए ।
लघुजलविद्युत् परियोजनाका लागि पोल खरिद र सामुदायिक विद्यालयलाई समेत सहयोग गरेका छन् । सामाजिक रूपान्तरण र विकास निर्माणका लागि आमा समूहले सक्रियताका साथ सहयोग गरेको वडाध्यक्ष राजाराम सुवेदीले बताए ।
विकास निर्माणसँगै ग्रामीण क्षेत्रमा सामाजिक समस्याको रूपमा देखिएको बालविवाह, घरेलु हिंसा, जुवातास, मदिरा नियन्त्रण र संस्कृति संरक्षणमा आमा समूह परिचालन प्रभावकारी माध्यम बन्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्