आत्मविश्वासलाई कसरी बलियो बनाउने

आत्मविश्वास सफल व्यक्तिको पहिचान हो । तपाईले तपाईको बारेमा महशुस गर्ने भावना हो आत्मविश्वास । आत्मविश्वासी मानिसले जहिले पनि आफनो बारेमा राम्रो सोच्दछ भने उनीहरु जिवनप्रति सकारात्मक हुनुको साथै अझै धेरै कुरा प्राप्त गर्न सकिन्छ भन्नेमा विश्वस्त हुन्छन् । यो त्यो अनुभव पनि हो जस्ले मानिसलाई आफु आफनो वशमा रहेको कुरा आभाष गराउँदछ । तपाईको आत्मविश्वासले अरु धेरै अवसरहरु तपाईको जिवनमा ल्याउने गर्दछ । आज म यहाँहरुसँग हामी भित्र भएको आत्मविश्वासलाई कसरी जगाउने र बढाउन सकिन्छ भन्ने विषयमा विचार राख्न चाहन्छु ।
सकारात्मक वातावरणमा रहनुहोस् :
हामी त्यस्तै हुन्छौ, जस्तो हाम्रो वरपरको वातावरण हुन्छ । त्यसैले बढि समय आफुलाई सकारात्मक वातावरणमा राख्ने कोशिस गर्नुहोस् । जसरी पेटको लागी खानाको आवश्यक्ता पर्दछ, त्यसरीनै दिमागको लागी पनि विभिन्न किसिमको खुराकको आवश्यक्ता पर्दछ । र त्यो खुराक हो तपाईले अध्ययन गर्ने कुरा । त्यो कुरा पढ्नुहोस् जसले तपाई भित्र रहेको क्षमतामा तथा ज्ञान विकास गर्नको लागी मद्दत गरोस् । यस्तो अध्ययनले मानिसकोे आत्मविश्वास निर्माण गर्न मद्दत गर्दछ । त्यहि कुरा अध्ययन गर्नुहोस् जस्ले तपाईलाई जिवनमा तपाईको स्तर माथि उठाउन मद्दत गर्दछ । धेरै मानिसहरु धेरैजसो समय नकारात्मक सुचना तथा अनावश्यक कुराहरुपनि अध्ययन गरिरहेको हुन्छन् । जस्ले माानिसलाई भावनात्मक रुपमा कमजोर बनाउँदै लगिरहेको हुन्छ । यसको सिधा असर तपाईको आत्मविश्वासमा परिरहेको हुन्छ । हामी अझबढी आफुले आफुलाई कमजोर महशुस गर्न थाल्दछौं । सफल मानिसहरुको जिवनी तथा सकारात्मक विचार दिने कितावहरुको अध्ययनले हामीले प्राप्तगर्ने असफलतालाई कसरी व्यवस्थापन गर्ने उपाय दिनुका साथै मानसिक तथा भावनात्मकरुपमा हामीलाई अझ बलियो बनाउँदै लैजान्छ । यसको परिणमस्वरुप हामी आफुले आफैलाई अझ बढि आत्मविश्वासी भएको देख्छौ साथै हुन्छ तथा सकिन्छ भन्ने भावनाको पनि विकास भएको हुन्छ । सकारात्मकताले जहिले पनि तपाईको आत्मविश्वासलाई बलियो बनाउने काम गरेको हुन्छ ।
आफनो विगतको सफलतालाई सम्झिनुहोस् :
प्रायः मानिसको बानीनै हुन्छ आफनो विगतको असफलतालाई सम्झिने । जति बढि समय मानिस आफनो विगतको असफलताको अनुभवलाई सम्झिन्छ, त्यत्तिनै उसको आत्मविश्वासमा पनि गिरावट हुन्छ । म गर्न सक्दिन, म मा खुवि छैन, म सँग पर्याप्त स्रोत र साधन छैन जस्ता नकारात्मक भावनाले त्यस मानिसलाई वर्तमानमा कुनै काममा सफल हुन दिंदैन । तर यस्को विपरित तपाई आफनो सफलताको अनुभवलाई सम्झिनुहुन्छ भने त्यसले तपार्ईलाई वर्तमानमा हिम्मत दिने काम गर्दछ । तपाईलाई तपाई सफल हुन सक्ने सम्भावनाहरुलाई अनुभव गर्द मद्दत गर्दछ । चाहे त्यो सफलता ठूलो होस् या सानो त्यसले खासै फरक पर्दैन । त्यसैले तपाईको दिमाग पनि एक किसिमको पुस्तकालय जस्तैनै हो । जहाँ धेरै अनुभवहरुको पुस्तक सुरक्षित गरि राखिएको छ । र्दुभाग्यवस धेरै मानिसलले असफलताको अनुभव लेखिएको पुस्तकको छनौट गर्ने गर्दछन् । जतिबढी उनिहरु आफनो असफलताको कुराहरु समझिंदै जान्छन्, उनिहरु आफु असफल मानिस भएको महशुस गर्दछन् । त्यसैले तपाईको दिमागमा भएकोे अनुभवका पुस्तकालय प्रति सचेत रहनु होस् । यदि तपाई आफनो जिवनमा अझ बढि आत्मविश्वास प्राप्त गर्न चाहनुहुन्छ भने सफलताको अनुभवलाई सम्झिने गर्नुहोस् ।
असफलतालाई सिक्ने अवसरको रुपमा लिनुहोस्ः
जब थोमस एल्वा एडिसन बिजुली बत्ति बनाउने प्रयोगमा हजारौं पटक असफल भए । उँहाको असफलताको परिभाषा अलि फरक थियो । उँहाले भन्नुभयो मैले यस्तो हजारौं तरिकाहरु पत्ता लगाए जस्ले बिजुली बत्ति बन्न मद्दत गर्दैन र अब म सफलताको धेरै नजिक छु । जिवनको अनुभवहरुको अर्थ हामी आफैले लगाईरहेको हुन्छौ । असफलताको अर्थ पनि तपाई असफल मान्छे भन्ने पक्कै होईन, यसको अर्थ हुन्छ तपाईले प्रयोग गर्नुभएको तरिका चाहि असफल भएको हो न कि तपाई । मैले मेरो जिवनमा कोहि पनि मानिस त्यस्तो भेटेको छैन जस्ले जिवनमा खालि ठूलो सफलतामात्रै प्राप्त गरेको होस् विना कुनै असफलता । असफलताले मानिसलाई सबै भन्दा ठूलो पाठ पढाउँछ यदि हामी सिक्न तयार हुने हो भने । जसरी सफलता साँचो हो त्यसरिनै असफलता पनि साँचो हो । यसलाई स्विकार गर्नुहोस् । धेरै मानिसहरु हुन सक्ने असफलताको डरले जिवनमा सफलताको लागी कोशिसनै गर्न छाडिसकेका हुन्छन् । जब असफलतालाई स्विकार गर्नुहुन्छ, त्यसको डर तपाईको मनबाट बिलिन हुन्छ र तपाई त्यसबाट सिक्दै सफलताको बाटोमा अगाडि बढ्न शुरु गर्नुहुन्छ । जब तपाई आफनो असफलताको प्रति दृष्टिकोण बदल्नुहुन्छ भने तपाई आफनो आत्मविश्वासलाई पनि मजबुत बनाउनु हुन्छ ।
कर्म गर्नुहोस् :
कुनै चिज सकारात्मक हुने तथा वातावरण बन्ने भनेर प्रतिक्षा नगर्नुहोस् । सहि समय कहिले पनि आउँदैन । र त्यो नै सहि समय हो जब तपाई र्निणय गर्नुहुन्छ र काममा जुट्नुहुन्छ । जिवनमा सकारात्मक काम गर्नको लागी नडराउँनुस् । असफलताको डर त्यत्तिबेला सम्म भईरहन्छ जव सम्म तपाई काम गर्न शुरु गर्नुहुन्न । जब तपाई काम गर्न शुरु गर्नुहुन्छ विस्तारै तपाई भित्र भएको असफलताको डरको भावना कमजोर हुँदै जान्छ र तपाईको आत्मविश्वार मजबुत । आत्मविश्वासका साथ गरिएका कामहरुमा सफलता प्राप्त गर्न सकिने सम्भावना पनि पक्का हुन्छ । र प्राप्त हुने अनुभवले तपाईको आत्मविश्वासलाई फेरी माथि लैजान मद्दत गर्दछ । आफनो विगतको सफलताको अनुभवलाई सम्झिनुहोस् र आत्मविश्वासको साथ काममा अगाडि बढ्नुहोस् । यदि कुनै चिज असफल भई हाल्छ भने पनि त्यसलाई सिक्ने सुअवसरको रुपमा लिननुहोस् । हेनरी फोर्डले एकचोटि भन्नुभयो, असफलता मात्रै त्यो अवसर हो जसको कारणले कुनैपनि काम अझ बढी विवेकपूर्ण तरिकाले फेरी शुरु गर्न सकिन्छ ।
माथि उल्लेखित सम्पुर्ण कामहरुले तपाईको आत्मविश्वासलाई अझ बढी दिगो र गाढा बनाउन पक्कै मद्दत गर्दछ । यी सबैकुराहरु हेर्दा सामान्य झै लाग्न सक्दछ । तर पनि हामी आफनो दैनिक बानीको कारणले फेरी पनि पुरानै शैलीमानै फर्किन्छौ र आफुले आफनो बारेमा नकारात्मक सोच्न शुरु गर्दछौ । त्यसैले माथि लेखिएको कुराहरुमा तपाईले न्यूनतम पनि ३ हप्ता प्रयोग गर्नुभयो भने विस्तारै यो तपाईको जिवनको नयाँ बानी बन्दछ । बलियो आत्मविश्वासले तपाईले तपाईको जिवनको कुनै पनि लडाई जित्न सक्नुहुन्हुन्छ ।
(लेखक मोटिभेसनल स्पिकर तथा व्यावसायिक कर्पोरेट ट्रेनर हुन् ।)