बेमौसमी काँक्रो बन्योे आम्दानीको मुख्य स्रोत

कुनै समय काँक्रो खेतीका लागि बीउ खोजी गर्न डडेल्धुराका बासिन्दालाई कैलाली कञ्चनपुर जिल्ला धाउनुपर्ने बाध्यता थियो । गाउँमा विवाह, व्रतबन्धजस्ता सामाजिक कामका लागि काँक्रो बजारबाट किनेर खानुको विकल्प उनीहरूलाई थिएन । तर, पछिल्लो समयमा गन्यापधुरा गाउँपालिका–७ गुम्याँल सुतारियाँउ क्षेत्रका किसानले काँक्रो खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् ।
इच्छाशक्ति भए जे पनि गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् यहाँका किसान । गाउँ–गाउँमा सडकको विस्तारसँगै बढ्दो सहरीकरणले यातायातको सुविधा बस्तीहरूमा पुग्न थालेसँगै काक्रो खेतीतर्फ आकर्षण बढ्दै गएको छ ।
ग्रामीण क्षेत्रका कृषकले काँक्रो मात्रै नभई विभिन्न तरकारी उत्पादन गरी बर्सेनी लाखौं रुपैयाँ भिœयाउँदै आएका छन् । परम्परागत खेती छाडेर नगदे खेतीतर्फ आकर्षित भएका डडेल्धुराका किसानले लगाएको बेमौसमी काँक्रो खेतीबाट अहिले राम्रो आम्दानी गरिरहेका छन् । अहिले समयमा उत्पादित काँक्रोले राम्रो बजार मूल्य पाउने भएका कारण यहाँका किसान खुसी छन् । गाउँ–गाउँमा सडक विस्तार भएसँगै डडेल्धुराका किसानले भनेको मूल्य पाइने भएकाले पनि बेमौसमी काँक्रो खेतीलाई रोजेका हुन् ।
भारतको गौरिफान्टा, बनवासा र तराईका जिल्लाबाट आयात हुने खिराभन्दा यहाँको काँक्रो स्वादिष्ट हुने भएकाले माग बढ्दै गएको किसानहरू बताउँछन् ।
डडेल्धुराको अमरगढी नगरपालिकामा पर्ने फिन्नेकोट, भागेश्वर गाउँपालिका, गन्यापधुरा गाउँपालिका–७ गुम्याँल, सुतारी गाउँ, फिन्नकोटलगायत पर्शुराम नगरपालिकाको चिस्यान कम हुने क्षेत्रका किसान केही वर्ष यता बेमौसमी काँक्रो खेती गर्न थालेका छन् । भारत र तराईबाट आयात हुने काँक्रोभन्दा स्थानीय किसानले उत्पादन गरेको काँक्रो ग्राहकको रोजाइमा पर्ने गरेको छ । बेमौसमी काँक्रोबाट तीन महिनाको अवधीमा २ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको गन्यापधुरा गाउँपालिका–७ का कृषक कृष्णा बोहराले बताइन् । “गाउँमा कमै लगाउनेहरूले पनि कम्तीमा ५० हजार रुपैयाँ आम्दानी गर्ने गरेका छन्,” उनले भनिन्, “परम्परागत खेतीभन्दा काँक्रो खेतीबाट निकै बढी आम्दानी हुने गरेको छ ।”
यहाँका किसानले प्रतिकिलो २५ देखि ३० रुपैयाँसम्ममा काँक्रो बिक्री गर्दै आएका छन् । बजारमा भने ५० रुपैयाँमा बिक्री गर्ने गरेको व्यापारी तेजबहादुर ऐरले बताए ।
सरकारी तथा गैरसरकारी संघ–संस्था र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग दिन थालेपछि बेमौसमी काँक्रो खेती गर्ने किसानको संख्यामा वृद्धि भएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका फिल्ड कोअर्डिनेटर देवराज भण्डारीले बताए । डडेल्धुरामा वेमौसमी काँक्रोको खेती हुन थालेपछि तराईबाट आयात हुने काँक्रोको बिक्री वितरणमा कमी आएको छ । यहाँ उत्पादित काँक्रो प्रदेश नम्बर ७ का अन्य जिल्लामा समेत निकासी हुने गरेको छ ।
–हरिश चन्द