ढिलासुस्ती र अनियमितता गर्ने उपभोक्ता समितिलाई कारबाही : मन्त्री बोहरा «

ढिलासुस्ती र अनियमितता गर्ने उपभोक्ता समितिलाई कारबाही : मन्त्री बोहरा

प्रदेश नं. ७ का भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले विकास निर्माणका काममा ढिलासुस्ती गर्ने ठेकेदार र आर्थिक अनियमिता गर्ने उपभोक्ता समितिलाई कारबाही गर्ने बताएका छन् ।
गृह जिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिका–५ स्थित शिवशंकर माध्यमिक विद्यालय रुपालीगाँडको ४१औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बोहराले प्रदेश सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीति प्रभावकारी रूपमा अवलम्बन गर्ने दाबी गर्दै भ्रष्टाचार नियन्त्रणका लागि कडाइका साथ काम गर्ने जिकिर गरे । सरकारले विकास निर्माणका लागि गरिरहेको लगानीको दुरुपयोग हुन नहुने बताउँदै मन्त्री बोहराले निर्माण कार्यको ठेक्का लिएर समयमा निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदारका कारण पनि विकास निर्माणकार्य प्रभावित भइरहेको बताए । उनले प्रदेश सरकारले संविधानको भावना र मर्मलाई व्यवहारमा उतार्ने गरी कानुन निर्माण गर्ने बताए ।
सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्नु आवश्यक रहेको बताउँदै मन्त्री बोहराले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, टेलिफोन र सिँचाइजस्ता भौतिक पुर्वाधार निर्माणमा प्राथमिकताका साथ काम गर्ने जिकिर गरे । प्रदेश सरकारले ३ महिनाका लागि ल्याएको अल्पकालीन बजेटले विकास निर्माणमा जोड दिनेभन्दा पनि सम्भाव्यता अध्ययन गरेर गुरुयोजना निर्माण गर्नमा टेवा पुराउने बताउँदै उनले पर्याप्त जनशक्ति, साधन सोत र पूर्वाधारको अभावमा प्रदेश सरकार अझै गतिशील बन्न नसकेको स्वीकारे ।
प्रदेश सभाको निर्वाचनका बेला आममतदातासमक्ष प्रस्तुत गरेका प्रतिबद्धता पूरा गर्न कुनै कसर बाँकी नराख्ने दाबी गर्दै मन्त्री बोहराले मुलुकलाई आर्थिक विकास र समृद्धितर्फको यात्रातिर डोराउन स्थानीय तहले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आत्मनिर्भरता बढाउन आवश्यक रहेको बताए ।
भागेश्वर गाउँपालिकाका उपाध्यक्ष पदम बोहराले विद्यमान संक्रमणकालीन अवस्थामा प्रदेश कानुन बन्न नसक्दा स्थानीय तहले कानुन बनाउन नसकेको बताए । प्रदेश सरकारले समयमै कानुन निर्माण गर्न सकेमात्रै स्थानीय तहलाई कानुन निर्माणमा सहजता आउने बताउँदै उपाध्यक्ष बोहराले भौगोलिक विकटताले भरिपूर्ण ग्रामीण बस्तीको विकासका लागि प्रदेश सरकारबाट सहयोग हुनुपर्ने बताए । कार्यक्रममा बोल्दै पूर्वजिविस सदस्य मदन नाथले शिक्षा क्षेत्रमा देखिएका विकृतिको अन्त्यका लागि स्थानीय र प्रदेश सरकारले प्रभावकारी रूपमा काम गर्न आवश्यक रहेको बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोती नाथले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए भने विद्यालयलाई सहयोग गर्ने स्थानीय अगुवालाई सम्मानसमेत गरिएको थियो ।
हरिश चन्द

प्रतिक्रिया दिनुहोस्