सूचना प्रविधिको उत्पादक उपयोग «

सूचना प्रविधिको उत्पादक उपयोग

पछिल्लो दशकमा नेपालमा सूचना तथा सञ्चार प्रविधिको उपयोग यति तीव्र दरले बढेर गएको छ कि सरकारी निकायहरूले यसबारको अद्यावधिक तथ्यांकसमेत राख्न भ्याएका छैनन्, विशेषतः अन्तर्राष्ट्रिय रूपमा हुने कुनै पनि प्राविधिक विकास नेपालमा तत्कालै आइपुग्छ । विकसित मुलुकहरूमा नेपालीहरूको बढ्दो उपस्थितिले मात्र होइन, नेपालभित्रै पनि युवापुस्तामा बढेको प्रविधिप्रेमले यहाँ सूचना तथा सञ्चार प्रविधिको उपयोग बढेको हो । नेपालमा अहिले आधुनिक दूरसञ्चार प्रविधि फोरजीदेखि तीव्र गतिको ब्रोयब्यान्ड इन्टरनेटसम्म उपयोगमा छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार २०७४ फागुन मसान्तसम्म देशभरि ३ करोड ९२ लाख दूरसञ्चार प्रयोगकर्ता छन्, यो कुल जनसंख्याभन्दा पनि बढी हो । यसअनुसार देशमा टेलिडेन्सिटी १३० प्रतिशत पुगेको देखिन्छ, यो भनेको सत प्रतिशत जनसंख्यासम्मै दूरसञ्चार सेवा पुगेको दाबी हो । यद्यपि, एकै प्रयोगकर्तालाई दुई वा सोभन्दा बढी कम्पनीका सिमकार्ड लिएको, एकै जनासँगै एकै कम्पनीका पनि धेरै सिमकार्ड भएको वास्तविकतालाई मध्यनजर गर्दा अझै पनि देशका करिब एक तिहाइ जनसंख्यामा दूरसञ्चार सेवा पुगेको भने देखिँदैन । आर्थिक, सामाजिक र भौगोलिक कारणले गर्दा शतप्रतिशतमा दूरसञ्चार सेवा पुगेको दाबीलाई पत्याउन सकिने आधार पनि छैन । किनभने देशका २१ प्रतिशत जनसंख्या राष्ट्रिय गरिबीको रेखामुनि छन्, जसको आय प्रतिदिन ६० रुपैयाँभन्दा कम छ । प्राधिकरणकै तथ्यांकले अहिले १ करोड ३३ लाख ८ हजार जना इन्टरनेट प्रयोगकर्ता भएको देखाएको छ, तीमध्ये ९० लाख २७ हजार मोबाइलमा आधारित इन्टरनेट प्रयोगकर्ता भएको देखिन्छ । आयअवस्था, प्रविधिसँग साक्षात्कार नभएका र इन्टरनेट आवश्यक नै नपरी टुजीमा आधारित फोन चलाउनेको संख्या यसको आधा नै रहेको अनुमान गर्दा वास्तविक दूरसञ्चार प्रयोगकर्ता १ करोड ३५ लाखदेखि ४० लाख नाघ्दैन ।
यद्यपि, विगतमा कुल डाटा प्रयोगकर्ताको १ देखि २ प्रतिशतमात्र इन्टरनेट सेवा प्रदायक कम्पनीहरू (आईएसपी)ले ओगटेकोमा आहिले त्यो अनुपात बढेर १४ प्रतिशतमा पुग्नु, त्यसबाहेक नेपाल दूरसञ्चार कम्पनीको एडीएसएल, फाइबरमार्फत थप ७.२५ प्रतिशत इन्टरनेट सेवा प्रयोगकर्ता पुग्नुले अहिले २१ प्रतिशत प्रयोगकर्ताहरूले ब्रोडब्यान्डमा आधारित इन्टरनेट उपयोग गरिरहेको देखिन्छ । वायरलेस प्रविधिका प्रयोगकर्ता जोड्दा यो २२ प्रतिशत हुन्छ । ब्रोडब्यान्ड इन्टरनेट सेवाका प्रयोगकर्ता बढ्नु भनेको त्यसको बहुपक्षीय प्रयोग बढ्नु पनि हो ।
इन्टरनेट सेवा प्रदायक र दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूबीचको बढ्दो प्रतिस्पर्धासँगै प्रतियुनिट उपयोगको लागत त कम हुँदै गइरहेको छ, तर यसको उत्पादक प्रयोग बढाउने दिशामा भने न सेवा प्रदायकहरूले, न सरकारले न त नियामक निकायले नै अहिलेसम्म कुनै ठोस पहल गरेका छन । फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जालमात्र चलाएर आर्थिक उत्पादकत्व बढ्दैन, त्यसले बरु उल्टै डाटा उपयोगको पैसा बिदेसिन्छ । सूचना तथा सञ्चार प्रविधिबाट बढीभन्दा बढी आर्थिक लाभ सिर्जनाका लागि यसलाई साना–ठूला सबै किसिमका उद्योग–व्यवसायसँग आवद्धित तुल्याइनु जरुरी भइसकेको छ । त्यसमाथि पनि कृषक र साना उद्यमीको बजार आबद्धतासँग लाभ सिर्जना गर्ने किसिमका सूचना तथा सञ्चार प्रविधिको प्रयोग बढाउन सम्बद्ध सबै पक्षले ठोस पहल गर्नु आवश्यक भइसकेको छ । ‘आर्टिफिसियल इन्टिलिजेन्स’मार्फत सूचना प्रविधिले अर्थतन्त्रमा गर्ने योगदान बढाउने आदर्शवादी कुरा गर्नुभन्दा पहिला देशका प्रत्येक सामुदायिक विद्यालयहरूलाई सूचना सञ्जालमा जोड्नु पहिला आवश्यक छ । यसैगरी, विगतमा खुलेका टेलिसेन्टरहरूलाई मात्र होइन, किसान र साना उद्यमी–व्यवसायीको लाभ पुग्ने गरी नयाँ सूचना केन्द्रहरूको विकास गरिसकेर अनि बल्ल ‘आर्टिफिसियल इन्टिलिजेन्स’का कुरा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्