लिलाम बढाबढमा संस्थापक हकप्रद सेयर बेच्न सकस «

लिलाम बढाबढमा संस्थापक हकप्रद सेयर बेच्न सकस

पुँजीवृद्धिका लागि हकप्रद सेयर जारी गर्ने क्रमबढेसँगै नबिकेका सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्ने क्रम पनि बढेको छ । बिगतमा छिटपुट आउने सेयर लिलामीका सूचनाहरू अहिले नियमित जस्तै हुनथालेका छन् । यसले लगानीकर्ताहरूका लागि एकमुष्ट सेयर खरिद गर्न पाउने असर पनि दिएको छ । तर यसरी बिक्री गरिने सेयरको न्यूनतम र अधिकतम मूल्यको सीमा नहुँदा आवेदक मूल्य अनिश्चिताको भूमरीमा रुमल्लिन बाध्य हुन्छन् ।

किन आउँछ लिलामीमा ?
नियमक निकायबाट पुँजी वृद्धि निर्देशनका कारण मुनाफाबाट वा ऋण पुँजी लिन लिएर पुँजी जुटाउन नपाइने अवस्थामा हकप्रद सेयर निष्कासन गर्न बाध्य हुन्छन् । यसका लागि कम्पनीले अंकित मूल्यमा तोकिएको अनुपातमा हकप्रद सेयर खरिद गर्न विद्यमान सेयरधनीहरूलाई कम्तीमा ३५ दिन र बढिमा थप १५ समेत ५० दिनसम्म समय दिन सक्छ । तर कतिपय सेयरधनीले क) सूचना नपाएर, ख) लगानी रकमको अभाव, ग) प्राप्त प्रतिफलमा असन्तुष्टी, घ) अन्य व्यवहारिक कारणले हकको सेयर खरिद गर्दैनन् । हुनत: कम्पनीहरूले हकप्रद सेयर निष्कासन गर्दा साविक सेयरधनीले खरिद गर्न नचाहेको अवस्थामा सोही समूहको अर्को सेयरधनीले तोकिएको ढाँचामा निवेदन दिई खरिद गर्न मनोनयनको प्रावधान रहेको छ ।
धितोपत्र दर्ता तथा निष्काशन नियामावली, २०७३ को नियम २० अनुसार हकप्रद सेयर बिक्रीको लागि खुल्ला अवधिभित्र बिक्री हुन नसकी बाँकी रहेको सेयरसार्वजनिक सूचना प्रकाशन गरी लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गर्नुपर्ने कानुनी प्रावधानका कारण कम्पनीहरूले नबिकेको सेयर लिलामीमा ल्याउँछन् ।
तथ्यांकमा सेयर लिलामी
अहिले तालिकामा दिईएका ६ कम्पनीका ५१ लाख संस्थापक र ९ लाख किता सर्वसाधारण गरी कुल ६० लाख ६९ हजार किता सेयरहरू लिलामी बिक्रीमा छन् । अझै हकप्रद जारी भएका र प्रक्रियामा रहेका कम्पनीहरूका हजारौं किता सेयर लिलामी आउने संभावना छ ।
आर्थिक वर्ष (आव) २०७४/७५ को बैशाख मसान्तसम्ममा धितोपत्र बोर्डबाट ४५ कम्पनीहरूलाई २० करोड ७७ लाख ५८ हजार ७८ किता हकप्रद सेयर निष्कासन स्वीकृत दिएकोमा ३७ कम्पनीका १९ करोड ३७ लाख १९ हजार ५४ किता निष्कासन भईसकेका छन् ।
यस आवमा स्विकृतभई निष्कासित मध्येबाट करिव १ करोड संस्थापक र ४३ लाख किता सर्वसाधारण सेयर लिलाम बढाबढमा आएका छन् । यस्तै विभिन्न समयमा हकप्रद निष्कासित र अन्य कारण समेत यस आवमा थप १ करोड १९ लाख ८६ हजार ५४ किता संस्थापक र ३२ लाख ८६ हजार २ सय ६५ गरी कुल १ करोड ५२ लाख ७२ हजार ३ सय १९ किता सेयर पनि लिलाममा आएका छन् ।
यसरी आवको १० महिनामा नै २ करोड १९ लाख हाराहारी संस्थापक र ७६ लाख सर्वसाधारण समेत कुल २ करोड ९५ लाख किता भन्दा बढी सेयर लिलाममा आएका छन्, यो भनेको ७४ प्रतिशत संस्थापक र २६ प्रतिशत हाराहारी सर्वसाधारण सेयरको हिस्सा हो ।

  संस्थापक सर्वसाधारण कुल
२०७४/७५ मा स्विकृत भई निष्कासित हकप्रदमध्येबाट  ९९,८५,१९७ ४३,२७,७११  १,४३,१२,९०८
गतआवमा स्विकृत भई निष्कासित हकप्रदमध्येबाट  ३३,६३,००५ २८,८०,८८६ ्र ६२,४३,८९०
अन्य संस्था वा ब्यक्तिको तर्फबाट  ८६,०९,८३४  २,६५,३७९  ८८,७५,२१३
सार्वजनिक लगानी कोषबाट  १३,२१६  १,४०,०००  १,५३,२१६
लिलामीमा आएको कुल  २,१९,७१,२५२  ७६,१३,९७६  २,९५,८५,२२७
प्रतिशतमा  ७४.२६  २५.७४ १००

नोट: विभिन्न संचारमाध्यममा आएको जानकारीका आधारमा गणना

संस्थापक सेयर बेच्न सकस
हाल लिलामीमा आउने सेयरहरूमध्ये केही अपवाद बाहेक सर्वसाधारण सेयर सहजै र बजार मूल्य भन्दा बढी रकममा समेत बिक्री हुने गरेको देखिन्छ । तर संस्थापक सेयर अंकित मुल्यमा समेत बिक्न गाह्रो हुनेगरेको देखिन्छ ।
सामान्य तथ्यांक हेर्दा पनि संस्थापक तर्फ ९ प्रतिशत र सर्वसाधारणतर्फ केवल ४ प्रतिशत हाराहारी सेयर लिलामीमा आएको देखिन्छ । मुख्यत: कम्पनीको लाभांस र इक्विटीमा प्रतिफलबाट असन्तुष्टि, दोस्रो बजारमा मूल्य विभेद, किनबेचमा अनेक कानुनी शर्तहरू र धितोबन्धकमा कठिनाईका कारण समेत संस्थापक सेयर बिक्री नभई लिलामीमा आउने गरेका छन् ।
साविक संस्थापकहरूलाई पहिलो प्राथमिकता दिनुपर्ने र अन्य इच्छुक लगानीकर्ताले संस्थापक सेयर खरिदका लागि नियामकबाट तोकिएको योग्यता पुरा गरी (क) आम्दानीको स्रोत खुलेको कागजात, (ख) कर चुक्ता प्रमाणपत्र, र (ग) कालोसूचीमा नरहेको प्रमाणित कागज पेश गर्नुपर्दा कतिपय कम्पनीका संस्थापक सेयरहरू लिलामीमा बेच्नसमेत हम्मे पर्ने गरेको छ ।
यस आवमा लिलाम बढाबढबाट बिक्रीमा राखिएका १२ कम्पनीको हकप्रद पहिलोपटक लिलामीमा बिक्री नभएर पुन: दोस्रोपटक लिलामी गर्नुपरेको थियो भने बेष्ट फाइनान्स, हाम्रो विकास बैंक र सिभिल बैंकको संस्थापक सेयर तेस्रोपटक लिलामी गर्नुपर्ने बाध्यता आएको छ । सिभिल बैंकको २९ लाख ९२ हजार किताभन्दा बढी सेयर तेस्रोपटकमा समेत सबै बिक्री हुनेमा आशंका छ । यसरी पटकपटकको लिलामीबाट लागत बढ्नुका साथै पुँजी व्यवस्थापन र व्यवसाय विस्तारमा समेत नकारात्मक प्रभाव पर्ने संभावना रहन्छ ।
लिलामीको सेयर खरिद प्रक्रिया
बिक्री नभई बाँकी रहेको सेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्री व्यवस्थापन गर्दछ । यसको लागि धितोपत्र दर्ता तथा निष्काशन नियामावली, २०७३ नियम १५ बमोजिम कम्तीमा एउटा राष्ट्रियस्तरको दैनिक पत्रिकामा बिक्री खुल्ला गरिने दिन भन्दा कम्तीमा सात कार्यदिन अगाडि अनुसूची–८ बमोजिमको विवरण खुलाई सार्वजानिक जानकारीका लागि आव्हानपत्र प्रकाशित गर्दछ । जारी सूचनाको आधारमा सेयर खरिद गर्न चाहने लगानीकर्ताले निम्न प्रक्रिया अपनाउनु पर्नेछ ।
(१) सर्वसाधारण सेयर : (क) बिक्री प्रबन्धक वा तोकिएको कार्यालयमा निर्धारित शुल्क बुझाएर फारम लिई उल्लेखित सबै विवरण स्पष्ट भर्ने; (ख) खरिद गर्न चाहेको कित्ताको तिर्न चाहेको दरले हुनआउने रकम तोकिएको बैंक वा वित्तीय संस्थामा जम्मा गर्ने वा ‘गुड फर पेमेन्ट चेक’ वा ड्राफ्टबाट भुक्तानी गर्ने भए आफ्नो खाता रहेको बैंकमा गएर फारम उल्लेखित नाममा आवश्यक रकमको ‘गुड फर पेमेन्ट चेक’ वा ड्राफ्ट बनाउने; (ग) बैंकमा नगद जम्मा गरेको भौचर वा ‘गुड फर पेमेन्ट चेक’ वा ड्राफ्ट र बोलकबोल फारम खाममा सिलवन्द गरी बाहिर ‘सर्वसाधारण सेयर खरिद आवेदन’ उल्लेख गरी बिक्री प्रबन्धक वा तोकिएको कार्यालयमा बुझाउनुपर्छ । दश लाख भन्दा बढी रकमको आवेदन दिँदा अनिवार्यरुपमा प्यान नं. उल्लेख गर्नुपर्छ र आवश्यकता अनुसार प्यानको प्रतिलिपि समेत समावेश गर्नुपर्छ ।
२) संस्थापक सेयर : संस्थापक सेयरको लिलामीमा कतिपय कम्पनीहरूले पहिलोपटक साविक कायम संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने प्रावधान राखेको हुन्छ भने केहिले अन्यले समेत किन्न पाउने व्यवस्था गरेको हुन्छ । त्यसैले आफू संस्थापक सेयरधनी नभएको कम्पनीको सेयर किन्नको लागि सर्वप्रथम बिक्रीका लागि उपलब्ध सेयर अन्यले किन्न पाउने प्रावधान भएको हुनुपर्छ । यदि किन्न मिल्ने रहेछ भने माथि सर्वसाधारण सेयरधनीका लागि उल्लेखित प्रक्रियाबाटै फारम खरिद, आवश्यक विवरण सहित रकमको भौचर वा ‘गुड फर पेमेन्ट चेक’ वा ड्राफ्ट सहित खाममा सिलबन्द गरेर बाहिर ‘संस्थापक सेयर खरिद आवेदन’ उल्लेख गरी बिक्री प्रबन्धक वा तोकिएको कार्यालयमा बुझाउनुपर्छ । संस्थापकका लागि समेत १० लाख भन्दा बढी रकमको लागि आवेदन दिँदा प्यान नं. र त्यसको प्रतिलिपि समेत समावेश गर्नुपर्छ । यसका अतिरिक्त (क) आम्दानीको स्रोत खुलेको कागज; (ख) कर चुक्ता प्रमाणपत्र; (ग) कालोसूचीमा नरहेको प्रमाणित कागज समेत संलग्न गर्नुपर्नेछ भने सम्बन्धित नियमक निकाय वा कानुनत: संस्थापक हुन योग्यता पुगेको हुनुपर्नेछ ।
संस्थाले सेयर खरिद गर्न चाहेमा प्रबन्धपत्र नियमावलीमा सेयर खरिदबिक्री गर्न सक्ने व्यवस्था (क) दर्ता प्रमाणपत्र, (ख) करचुक्ता प्रमाणपत्र, (ग) सेयर खरिद गर्ने सम्बन्धमा संचालक समितिको निर्णयको प्रतिलिपि तथा अख्तियारनामा आवेदनसँग संलग्न गर्नुपर्नेछ ।
सुधारका उपायहरू
हकप्रद सेयर जारी गर्दा नै (क) कम्पनी तथा बिक्री प्रबन्धकले यथेष्ट सूचना प्रवाह; (ख) स्वयंले वा मनोनितअर्को सेयरधनीले खरिद गर्ने प्रक्रियामा सहजता;(ग) इच्छुक सेयरधनीहरूलाई निश्चित प्रतिशतसम्म थप सेयरका लागि आवेदन गर्न सकिने व्यवस्था गर्न सके लिलामीमा आउने सेयरसंख्यामा उल्लेख्य कमी आउने छ । अझसम्पूर्ण हकप्रद सेयर खरिदको प्रत्याभूत गरिनुपर्ने कानुनी व्यवस्था भएमा लिलामीको झमेला नै रहँदैन् ।
यस्तै विभिन्न कारणले लिलामीमा आएका सेयरको मूल्य अन्यौलता हटाउन अधिकतम र न्यूनतम मूल्य तोक्ने व्यवस्था गर्नुपर्छ । यसको लागि बजारमूल्य वा १८० दिनको औसत कारोवार मूल्य वा आधारमूल्य वा कम्पनीको नेटवर्थको निश्चित प्रतिशत तलमाथिको दरमा बोलकवोलको व्यवस्था गर्न सकिन्छ ।
संस्थापक सेयर खरिद प्रक्रियालाई केही खुलुको बनाएर लगानीयोग्य रकम र चाहना भएका लगानीकर्तालाई संस्थापक सेयर किन्न प्रोत्साहित गर्न सकिन्छ । हकप्रद निष्कासनका साथै लिलामीको पहिलापटकमा नै विद्यमान संस्थापक वा अन्यले समेत आवेदन गर्न सक्ने व्यवस्थाका साथै साविक संस्थापक र निश्चित रकमसम्मको आवेदनमा करचुक्ता, कालोसूची र आयस्रोत खुलाउनु पर्ने प्रावधानलाई स्वेच्छिक बनाउन सकिन्छ । यसले कम्पनीहरूलाई आफ्नो कितावी मूल्य (बुक भ्यालु) वा नेटवर्थभन्दा सस्तोमा समेत सेयर बिक्री गर्न नसकेर दोहर्याई तेहर्याई लिलामीमा जान र पुँजी व्यवस्थापनको समस्याबाट मुक्ति दिनेछ । (विभिन्न संचारमाध्यममा प्रकासित तथ्यांकलाई एकत्रित र विश्लेषणगर्दा सकेसम्म यथार्थपरक बनाउने प्रयास गरिएको छ ।)

प्रतिक्रिया दिनुहोस्