माडीको बजेट ‘खोला’ केन्द्रित «

माडीको बजेट ‘खोला’ केन्द्रित

चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीमा पुग्ने जंगली जनावर नियन्त्रण गर्न रिउ किनारमा ड्यामसहितको सडक सञ्जाल विकास गरिने भएको छ । माडी नगरपालिकाले रिउ करिडोरअन्तर्गत १ अर्ब ३ करोड बजेट प्रस्ताव गरिएको जनाएको छ ।
“अबको बजेटमा समावेस गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका छौं,” माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले भने, “बगईदेखि पाण्डवनगरसम्म रिउ किनारमा ड्याम बनाइनेछ । १० मिटरको चौडा बाटो बन्नेछ ।” उनले केन्द्रीयस्तरको बजेटबाटै रिउ करिडोरका लागि सर्भेपछि लागत अनुमान गरेर बजेट प्रस्ताव गरिएको जानकारी दिए । “जंगली जनावर र बाढीको त्रास न्यूनीकरण गर्ने यो उपयुक्त विकल्प हो,” उनले भने, “झण्डै ३७ किमि लामो बाटोसहितको ड्याम बन्नेछ । जसले बाढी र जनावरलाई रोक्नेछ ।”
सो योजनामा रिउ खोलामा लञ्चिङ जाली राखेर झण्डै ३.२ मिटर अग्लो ड्याम बनाइने छ । “यो प्रस्ताव बजेटले सम्बोधन गरेमा माडी सुरक्षित बसोबासका रूपमा विकास हुनेछ,” उनले भने, “प्रदेश तथा केन्द्रीयस्तरमा पनि अनुरोध गरेका छौं ।” उनले माडीका मुख्य खोलामा दुवैतिरबाट ड्याम बनाएर बस्ती तथा खेतीयोग्य जग्गा जोगाउने काम भइरहेको बताए । “खोलाको सतह बढेपछि बाढी पस्ने खतरा बढेको थियो । जनावर पनि सहजै बस्तीमा पुग्ने अवस्था थियो,” उनले भने, “खोलामा ड्याम बनाएपछि अब जनावर पनि बस्ती जाने अवस्था हुँदैन । खेतीयोग्य जमिन पनि जोगिन्छ ।”
उनले नगरस्तरीय योजनाबाट खोला नियन्त्रण, शैक्षिक सुधार र कृषि सुधारमा काम भइरहेको बताए । “पूरै खोलामा तटबन्धन गरिरहेका छौं,” उनले भने, “ग्याबिङ जाली राख्नुछ । ढुंगा निकाल्न कोटा सकियो भनेर निकुञ्जले रोक्न खोजेको छ । विभागमै गुनासो पु¥याएका छौँ ।” उनले विगतमा बनेको निकुञ्ज ऐनले जनावर संरक्षणमा मात्रै जोड दिए पनि अब जनता पनि माडी बस्न पाउने गरी ऐन संशोधन हुनुपर्ने आवाज उठाउँदै आएको बताए ।
“माडी छाडेर जाने क्रम विगतमा थियो, अब त्यसो हुने वातावरण सिर्जना हुने छैन,” उनले भने, “निकुञ्जप्रतिको माया बढाउन पनि ऐन संशोधन हुनुपर्छ । माडीको विकासमा निकुञ्ज अवरोधक बन्नु हुँदैन ।” उनले नदीजन्य पदार्थ स्थानीयले सहजै उपभोग गर्न पाउनुपर्ने र सो निकासीमा नगरपालिकाले रोयल्टी लिने व्यवस्था, मध्यवर्ती क्षेत्रमा ढलेका रुखको निकासीमा रोयल्टी लिन पाउने, जंगली जनावरले मानव तथा अन्नबालीमा पु¥याउने क्षतिपूर्तिको रकम बढाउने लगायतका विषयमा ऐन संशोधन गरी जनतामैत्री बनाउन पहल भइरहेको बताए ।

क्रसर उद्योग चलाउने तयारी
माडी नगरपालिकाले आगामी आर्थिक वर्षदेखि क्रसर उद्योग चलाउने जनाएको छ । चन्द्रेखोला र बाँदरमुढे खोलामा क्रसर उद्योग चलाउने गरी ‘ईआईए’ तयार हुँदै गरेको जनाएको छ । “क्रसर उद्योग भदौदेखि सञ्चालन हुने सम्भावना छ,” माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले भने, “असोजदेखि गिटी बालुवा उत्पादन हुनेछ । माडीमै खपत हुनेछ ।”
उनले क्रसर उद्योग र नगरपालिकाको साधन प्रयोग गरेर झण्डै ३० करोड बराबरको पूर्वाधार विकास हुने बताए । “क्रसरको आम्दानीबाट १ वर्षमा ५० किमि कालोपत्रे सडक बन्नेछ,” उनले भने, “अबको ४ वर्षमा २ सय किमि सडक कालोपत्रे हुनेछ ।” नगरपालिकाले यो वर्ष कालोपत्रे सडकका योजनालाई प्राथमिकतामा नपारे पनि सडकमा ग्राबेल राख्ने कामलाई प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्